
५ चैत, सप्तरी । मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले हरेक नागरिक राजनीतिमा लाग्नैपर्ने बताएका छन् । राजनीतिमा नलाग्ने व्यक्ति देशद्रोही र अनागरिक हुनेसमेत उनले टिप्पणी गरे ।
आदिवासी जनजाति महासंघ, सप्तरीको चाैथाे जिल्ला अधिवेशनलाई शनिबार शम्भुनाथ नगरपालिकामा उद्घाटन गर्दै मन्त्री साहले दलमा नलाग्ने ब्यक्ति देशद्रोही र अनागरिक हुने बताएका हुन् । ‘प्रजातान्त्रिक देशमा दलमा नलागेर हुन्छ ?’ उनले भने, ‘राजनीतिमा नलागे केही सम्भव छैन ।’
मञ्चामै जुहारी
कार्यक्रममा शुभकामना दिने वक्ताहरुले आदिवासी जनजाति महासंघ विभिन्न जातिहरूकाे साझा संगठन भएपनि राजनीतिक दलका नेताहरूले नेतृत्व गरेका कारण स्वतन्त्र हुन नसकेको बताएका थिए । कतिपय नेताहरु भने दलीय आस्थाका आधारमा एक अर्कामाथि खनिएका थिए ।
नेकपा एमालेका नेता राजकुमार लेखीले जनता समाजवादी पार्टी (जसपा) जातिवादी पार्टी भएको आरोप लगाए । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका उनले मधेशका जिल्लामा यो पार्टीको नेतृत्वमा एउटै जाति रहेको बताउँदै समावेशी समानुपातिकलाई नारा मात्र बनाएको बताए ।
आदिवासी जनजाति आन्दोलनमा लागेका जसपाका नेता विनोद चौधरीले लेखीको मन्तव्यको प्रतिवाद गरे । एक समय एक करोड आदिवासी जनजाति समुदायका नेता रहेका लेखी एमालेको जिल्ला सह इन्चार्जमा झरेको बताए । यस्तो अवस्थामा आफ्नो हैसियत बिर्सेर लेखी जसपाको विरोध गरिरहेको चौधरीले बताए ।
मन्त्री साहले पनि लेखीलाई भगौडाको संज्ञा दिए । उनले आफ्नो पार्टी जसपामा रहँदा लेखीले धेरै सुविधा लिएको भन्दै जहिले पनि सुविधा नै खोज्ने र सुविधाकै लागि पार्टी परिवर्तन गरेको आरोप लगाए ।
प्रतिक्रिया 4