
६ चैत, विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनले निर्माण गरेको ‘प्याब्सन’ नमुना बस्ती हस्तान्तरण गरेको छ ।
बाढी पीडितका लागि प्याब्सनले सुनसरीको रामधुनी नगरपालिका-८ बानडाँडामा निर्माण गरेको बस्ती आइतबार नगरपालिका र लाभग्राहीलाई हस्तान्तरण गरेको हो ।
बानडाँडामा निर्माण भएका २५ वटा घर हस्तान्तरण गरिएको प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताए ।
२५ मध्ये एउटा घर शारीरिक रुपमा अशक्त रञ्जीत चौधरीलाई हस्तान्तरण गरिएको छ । चौधरी सहज रुपमा हिँड्न र बोल्न सक्दैनन् । २४ वटा घर बाढी पीडित र सुकुम्बासीलाई नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
केन्द्रीय अध्यक्ष पुरीका अनुसार २०७४ सालमा बाढी पीडितका लागि प्याब्सनले सदस्यहरुबाट संकलन गरेको रकमबाट बस्ती निर्माण गरिएको हो । बस्ती निर्माणमा एक करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए ।
‘२०७४ सालमा संकलन भएको रकम त्यसबेला बाढी पीडितलाई हस्तातरण गर्न नपाएपछि सुनसरीको रामधुनीमा प्याब्सन नमुना बस्ती निर्माण गर्यौँ’, उनले भने, ‘बस्तीको सबै काम सकिएको छैन, नगरपालिकालाई हस्तान्तरण भए पनि बाँकी काम केही दिन भित्र पुरा हुन्छ ।’
बस्ती निर्माणका लागि पालिकाले जग्गाको व्यवस्था गरेको रामधुनी नगरपालिका-८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेतले बताए ।
पालिकाले उपलब्ध गराएको जग्गामा व्यक्तीले आफ्नो दाबी गर्दै उच्च अदालतमा मुद्दा हालेका कारण दुर्ई वर्ष काम ढिलो भएको हो । पालिकाले मुद्दा जितेपछि बस्ती निर्माणको काम अघि बढेको उनले जानकारी दिए ।
प्याब्सनले २०७५ जेठ १ गते रामधुनी नगरपालिकासँग नमुना बस्ती निर्माण गर्ने सम्झौता गरी २०७६ बैशाख २९ गते शिलन्याश गरेको थियो ।
प्याब्सनले निर्माण गरेको तीन कोठे घर रहेको नमुना बस्तीको कोठामा फल्स सिलिङ, विद्युत, पानी र शौचालयको व्यवस्था गरिएको प्याब्सन अध्यक्ष पुरीले जानकारी दिए ।
प्रतिक्रिया 4