+
+

राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ७:२३

७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रुपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

आमसभालाई भव्य र व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरिएको उनले जानकारी दिए । समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु पनि रहेका छन् ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको थियो । सो बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने निर्णय गरेको थियो ।

गत मंसिरमा सम्पन्न महाधिवेशनबाट पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देन चुनिएपछि राप्रपाले हाल देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको छ । फागुनबाट सुरु भएको देश दौडाहाको क्रममा उनले ४० भन्दा बढी सभालाई सम्बोधन गरिसकेका छन् । आइतबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेका लिङ्देन सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?