+
+

८ महिनामै निर्यात व्यापारमा कीर्तिमान, १४७ अर्बको निर्यात

चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै (साउन–फागुन) निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०७८ चैत ७ गते १९:३५
फाइल तस्वीर

७ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै (साउन–फागुन) निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो ।

चालु आवको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।

यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको हो । गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४.४३ प्रतिशतको वृद्धि भएको छ ।

फागुनमा मात्रै १६ अर्बको निर्यात

भन्सार विभागका अनुसार यस वर्ष फागुन महिनामै निर्यातको उत्साहजनक आंकडा आएको छ । फागुनमा मात्र १६ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको थियो । फागुनमा यो आंकडा १४७ अर्ब भन्दा माथि पुगेको हो ।

उच्च आयात दरमा भने ब्रेक लाग्दै

चालु आर्थिक वर्षको पहिलो महिनाबाटै आयात उच्चदरमा उकालो लागेको थियो । यसलाई नियन्त्रण गर्न दोस्रो चौमासिकपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कडाई शुरु गरे । यसको नतिजा फागुनको तथ्यांकमा देखिएको छ ।

भन्सार विभागका अनुसार ८ औं महिनासम्म कुल वस्तु आयात १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवमा गत वर्षको तुलनामा३८.६४ प्रतिशत बढी आयात भएको हो । तर, माघ महिनासम्म ४२.७८ प्रतिशतले बढेको आयातको दर फागुनमा आइपुग्दा भने ३८.६४ प्रतिशतमा झरेको छ ।

कुल वैदेशिक व्यापारको आकार साढे १४ खर्ब

चालु आर्थिक वर्षको ८ औं महिनासम्म कुल वैदेशिक व्यापारको आकार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२.१३ प्रतिशत बढी हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ मात्र रहेको थियो ।

आयातको उच्च परिमाणका कारण व्यापार घाटा समेत ११ खर्ब ६० अर्ब ९८ करोड पुगेको छ । ८ औं महिनासम्म व्यापार घाटा ३४.५० प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।

निर्यातमा भएको सुधारका कारण कुल वैदेशिक व्यापारमा निर्यात व्यापारले आफ्नो हिस्सा केही बढाएको छ । तथ्यांक अनुसार व्यापारमा निर्यातले १०.१४ प्रतिशत हिस्सा ओगट्दा आयातले ८९.८६ प्रतिशत ओगट्छ ।

८ महिनाको वैदेशिक व्यापार

  • आयात : १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ (३८.६४ प्रतिशत बढेको)
  • निर्यात : १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ (८२.९० प्रतिशत बढेको)
  • व्यापार घाटा : ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ (३४.५० प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ (४२.१३ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ८९.८६ प्रतिशत (२.४५ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : १०.१४ प्रतिशत (२८.६९ प्रतिशतले बढेको)

८ महिनामा पेट्रोलियम पदार्थ आयातमै बाहिरियो २ खर्ब १७ अर्ब

भन्सार विभागको तथ्यांक अनुसार ८ औं महिना भित्रै पेट्रोलियम पदार्थको आयात मात्र २ खर्ब १७ अर्ब ३० करेड रुपैयाँ बाहिरिएको छ । यो वर्ष परिमाणत्मक रुपमा इन्धनको खपत नबढेपनि मूल्य वृद्धिका कारण ठूलो रकम बाहिरिएको हो ।

यस अवधिमा फलाम तथा स्टीलको आयात समेत १ खर्ब नाघेको छ । यस्तो वस्तुको आयात १ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको भएको छ । २६ अर्ब बराबरको तरकारीजन्य वस्तु आयात हुँदा वनस्पति तेल तथा घिउको आयात ९५ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुले निर्यातमा समेत ठूलो हिस्सा ओगटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार वनस्पति तेल तथा घिउको निर्यात ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको रहेको छ । एक वर्षको अवधिमा औषधीजन्य वस्तु ५२ अर्ब २६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

भारतसँग हुन्छ सबैभन्दा ठूलो व्यापार

नेपालको वैदेशिक व्यापार भारतमा केन्द्रित छ । तथ्यांक अनुसार ८ औं महिनासम्म नेपालबाट भारतमा १ खर्ब १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतबाट भने ७ खबए ९७ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जसले गर्दा व्यापार घाटा ६ खर्ब ७८ अर्ब ४० करोड रुपैयाँ देखिएको छ ।

चीनबाट १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने मात्र ५४ करोड रुपैयाँ बराबरको मात्र छ । अमेरिकाबाट ३४ अर्ब ५० करोडको आयात हुँदा निर्यात ११ अर्ब २८ करोड रुपैयाँ बराबरको रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?