+
+

कमरेड करिश्मा !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २०:०२

८ चैत, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरसहितलाई पार्टी प्रवेश गराउन एमालेले काठमाडौंमा कार्यक्रम गरेको थियो ।

कार्यक्रममा करिश्मासँगै नेता प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गरेका थिए । एमालेको सदस्यता लिएपछि सिंह संवोधनका लागि मञ्चमा उक्लिए । उनले सुरुमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरे । मञ्चमा उपस्थित एमालेका अन्य नेताहरुलाई सम्बोधन गर्दै उनले करिश्मा मानन्धरको नाम लिए ।

‘…कमरेड करिश्मा मानन्धर’ भन्दै उनी करिश्मातर्फ फर्के । करिश्माले पनि मुठ्ठी उचालेर सम्बोधन स्वीकार गरिन् ।

करिश्माले सम्बोधन स्वीकारेपछि नेता सिंहले हँसिलो अनुहार बनाउँदै करिश्माको प्रशंसा गर्न थाले । उनले करिश्मालाई कमरेड भनेर सम्बोधन गर्नुको पनि कारण दिन खोजे ।

‘एउटा क्षेत्रबाट मात्रै देशको परिवर्तन संभव छैन, राजनीति नै गरेर देशको आमुल परिवर्तनमा म अघि बढ्छु भनेर नयाँ जीवन प्रारम्भ गरेकोमा बधाई दिँदै उहाँलाई कमरेड सम्बोधन गरेँ’, नेता सिंहले भने ।

नेता सिंहले कमरेड भनेर सम्बोधन गर्नुअघि करिश्माले सोही मञ्चमा आफू कमरेड बन्नुको कारण पेश गरेकी थिइन् ।

‘आज म यहाँ उभिरहँदा धेरैलाई लागेको होला कलाकार मान्छे मञ्चमा आएर किन उभिरहेको छ ? कतिलाई असाध्यै खुसी लागेको होला, कतिपयलाई असाध्यै कौतुहलता भइरहेको होला, ह्वाई सि इज हियर..’ भन्दै सम्बोधन सुरु गरेकी करिश्माले एमाले प्रवेश गर्नुको कारण भन्न थालिन् ।

पहिलो कारण हो– केपी ओलीको इनर्जी । ‘अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ उनले भनिन् ।

अर्को पार्टीको मान्छेले पनि ओलीको इनर्जीको गुनगान गाएको आफूले सुनेको उनले सुनाइन् ।

दोस्रो कारण– एमालेको एजेण्डा । एमालेले समानता र न्यायसहितको समृद्धिको एजेण्डा बोकेकाले आफूले एमाले रोजेको उनले बताइन् ।

तेस्रो– अधिकांश नागरिकको एमालेसँगको सद्भाव । आफूले बिभिन्न ठाउँमा जाँदा अधिकांश नागरिकको एमालेसँग सद्भाव रहेको पाएको उनले सुनाइन् । जिम्मेवारी खोज्न नभई एमालेको कार्यकर्ता बन्न पार्टी प्रवेश गरेको उनले बताइन् ।

करिश्माले भाषण सकाएपछि कार्यक्रम सञ्चालक एवम् एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘अब हामी ढुक्कका साथ तपाईंलाई कमरेड करिश्मा मानन्धर भन्ने छौं । कमरेड करिश्मा मानन्धरलाई धेरै धेरै धन्यवाद’ भन्दै कार्यक्रम अगाडि बढाए ।

करिश्माको प्रशंसा सुनेपछि पार्टी अध्यक्ष ओली पनि मख्ख भए । उनी मख्ख भएको करिश्माबारेको प्रशंसाले नै देखाउँदथ्यो ।

‘चर्चित, स्थापित, प्रतिष्ठित, सुब्याख्यात कलाकार एवं राजनीतिज्ञ र केही गरौं भन्ने भावना भावनाले अत्यन्तै ओतप्रोत करिश्मा मानन्धर ज्यु’ भन्दै सम्बोधन सुरु गरेका अध्यक्ष ओलीले करिश्मा मानन्धरको पनि उच्च प्रशंसा गरे ।

प्रशंसा गर्दा करिश्माबारे ओलीले शिर्षस्त कलाकार, चर्चित सुप्रसिद्ध कलाकार, ख्यातीप्राप्त कलाकार, स्थापित र परिचति कलाकार शब्द प्रयोग गरे ।

दशरथ रंगशालामा भएको नयाँ शक्ति पार्टीको घोषणा सभामा सहभागी हुँदै राजनीति थालेकी उनीसुरुमा नयाँ शक्तिमा चर्चामा रहे पनि पछि ओझेल पर्दै गइन् ।

डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति छाडेर उपेन्द्र यादवसँग सहकार्य थालेपछि उनी राजनीतिबाट टाढिइन् । र अहिले फेरि एमालेमा प्रवेश गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?