+
+

रेल्वे अध्यादेश : जनकपुर-जयनगर रेलमार्गमा यात्रुलाई सेवा दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २१:०७

१६ मंसिर, काठमाडौं । सरकारले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको छ । योसँगै सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी छिन् । कानुन नहुँदा रेलले औपचारिक रुपमा उद्घाटन भएर कहिलेदेखि यात्रु सेवा थाल्छ भन्ने टुंगो लाग्न सकेको थिएन । अब एक-दुई दिनमै रेल सञ्चालनको मिति तय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।

२२ वैशाख, २०७८ र १५ मंसिर २०७८ मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएको थियो । अहिले पनि यसअघि जारी भएका अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर अध्यादेश जारी गरिएको छ ।

रेल्वे कम्पनीका अनुसार टिकट छाप्नेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पनी कोंकण रेल्वेसँग सम्झौता गर्नेसम्मका सबै काम भइसकेका छन् । भारतले ५ कात्तिक २०७८मा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको थियो ।

भारतले सन् २०१४ बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो ।

३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ -सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई प्रोसिड्योरले सम्बोधन गरेको छ ।

महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि सहमति भइसकेको छ ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र प्रशिक्षण दिन  भारत सहमत छ ।

जनकपुर-जयनगर रुटमा चलाउन तामझामसहित असोज २०७७ पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो । पछिल्लो महिनामा भने परीक्षणका रुपमा रेल नियमित रुपमा रित्तै चलाउन सुरु गरिएको थियो । गत हप्तादेखि रेल दिन बिराएर चलाउन थालिएपनि यात्रु चढाइएको छैन ।

ल्याएको रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतको कोंकण रेल्वेसँग सम्झौता गरेको छ ।  नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँमा किनिएको नयाँ रेल अब चलाउन ढिलाइ नगरिने रेल विभागका महानिर्देशक दीपक भट्टराई बताउँछन् ।

‘सबै तयारी सकिसकेका छौं, अब औपचारिक रुपमा यात्रु सेवा सुरु हुन्छ,’ उनी भन्छन्,’कानुनको अभावले मात्रै रेलमा यात्रु चढाउन सकेका थिएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?