+
+

तनहुँमा पलविरुद्ध जुटेको अतिरिक्त प्रमाण : म्यानेजर जोशीको स्वीकारी बयान

गौरव पोखरेल गौरव पोखरेल
२०७८ चैत ८ गते २३:३६

८ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत, नवलपरासी पूर्वमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको पाँच दिनपछि मंगलबार तनहुँमा पनि उस्तै सजाय मागदाबीसहित अर्को मुद्दा दर्ता भएको छ ।

नवलपरासी पूर्वमा जस्तै शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले अधिकतम १२ देखि १४ वर्ष जेल सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो । मंगलबार जिल्ला अदालत, तनहुँमा शाहको बयान लिइएको छ, बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

सामान्तयाः ३ वर्षभन्दा बढी सजाय हुने गम्भीर प्रकृतिका घटनामा पुर्पक्षका लागि थुनामा पठाइन्छ ।

तनहुँमा के भेटियो नयाँ प्रमाण ?

एक नाबालक गायिकाले आफूलाई ललाइफकाई बलात्कार गरेको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका पलमाथि अनुसन्धान भइररहेका बेला नवलपुरमा पनि जाहेरी पर्‍यो । पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता गर्‍यो ।

शाहले नवलपुरमा जस्तै तनहुँ प्रहरीलाई दिएको बयानमा पनि जबरजस्ती करणी गरेको अस्वीकार गरेका छन् । तर उनले दुवै स्थानमा दिएको बयानमा ‘उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति’ भएको स्वीकारेका छन् ।

उनका अनुसार २०७८ सालको जेठ अन्तिमतिर पीडित किशोरीले फोन गरेर ‘तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, महिनावारी रोकियो…’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि पीडितकी आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, म्यानेजर कृष्ण जोशी र आफू बसेर छलफल गरेको भन्दै उनले बयानमा भनेका छन्, ‘मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमर पुगेको छैन भनेको थिएँ ।’

पीडितले भने १४ वैशाख २०७८ मा तनहुँको दुलेगौडास्थित प्रदीप थापको घरमा वेग्लावेग्लै कोठामा सुतेको अवस्थामा राति १२ बजेतिर नाबालिकामाथि जबरजस्ती करणी बताएकी छन् । ‘विवाह गर्ने झुठो आस देखाएर मैले हुँदैन भन्दा पनि उनले जबरजस्ती गराएका हुन्’ पीडितले भनेकी छन् ।

पलले भने घटना भएको भनिएको वेला पीडितलाई ‘वियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको’ जिकिर गरेका छन् । नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी शाहले गरेका थिए ।

नवलपुरमा भन्दा फरक विषय तनहुँमा शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । पीडितको बयान अनुसार जोशीले शाहसँग घुम्न जान र उनले भनेको मान्न भन्दै फकाउने गरेका थिए ।

‘भिडियो सुटिङका क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबरजस्ती करणी गर्ने कार्यमा जोशीले सहयोग गरेका थिए’ उनले भनेकी छन् । अदालतमा दायर मुद्दाको निष्कर्षमा पनि जोशीले शाहसँग सम्बन्ध राख्न र नजिक हुन वातावरण बनाइदिएको भनिएको छ । शाहसँग घुम्न जाँदा उनले भनेको सबै कुरा माने भविश्य राम्रो हुन्छ भनेर प्रलोभन देखाएको आरोप छ । नाबालिकाको बुबाले पनि पुरक जाहेरी दिँदै पलका म्यानेजर जोशीले ‘सम्बन्ध राख, तिमी र तिम्रो भविश्य राम्रो हुन्छ’ भनेर फकाएर एउटै कोठामा बस्न बाध्य पारेको भनिएको छ ।

करणी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न र मिल्न दबाब दिएको आरोप छ । ‘मुख्य अपराधीलाई जोगाउन उनले आपराधिक षड्यन्त्रको कसूर गरेका थिए’ पुरक जोहरीमा उल्लेख छ । जोशी स्वयम्ले पनि बयानमा पीडित नाबालिकलाई प्रलोभनमा पार्न खोजेको स्वीकारेका छन् ।

उनले नाबालिकाबारे सूचना संकलन गर्न पीडितकी एक जना साथीलाई प्रलोभन देखाएको पनि खुलाएका छन् । ‘मलाई शाहले पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नाबालिकालाई एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँभन्दा पीडितले उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन् खबर गर । तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ’, जोशीले भनेका छन्, ‘अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पनि पठाएको थिएँ ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुरुमा मासिक २५ हजार रुपैयाँमा काम गरिरहेका म्यानेजर जोशीको शाहसँग मनमुटाव भएपछि २०७८ असारमा म्यानेजरबाट हटाइएका थिए । तर केहीपछि विवाद सुरु भएपछि शाहले उनलाई सम्पर्क गरेर तलब दोब्बर बनाएर सहयोग गर्न भनेका थिए । ‘त्यसपछि नै उनले पीडितलाई प्रलोभन देखाउन र उनको हरेक गतिविधिबारे सूचना संकलन गर्न थालेका थिए’ ती अधिकृत भन्छन् ।

नाबालिकाको गतिविधिबारे सूचना संकलनका लागि उनले अधिकारीलाई प्रस्ताव गरेका थिए । अधिकारीको बयान अनुसार उनलाई पीडित नाबालिका ‘कहाँ जान्छे ? कोसँग के कस्तो कुरा गर्छे ? त्यसबारे राम्रो नराम्रो खबर बुझेर दिए ५० लाख रुपैयाँसम्म’ दिने प्रस्ताव राखिएको थियो । साथै, उनलाई म्यूजिक भिडियोमा खेल्ने अवसर पनि दिने आश्वसन दिइएको थियो । तर, नमानेपछि धम्कीपूर्ण म्यासेज पठाएको भनिएको छ ।

यसरी पठाइएको म्यासेज आफ्नै भएको पलका म्यानेजर जोशीले पनि स्वीकारेका छन् । जोशीले आवेगमा आफूलाई मान्छे मार्न केही जस्तो लाग्दैन भनेर समेत भनेको बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार तनहुँमा दायर मुद्दाका प्रमाणहरु नवलपरासी पूर्वमा भएभन्दा धेरै भिन्न नभए पनि म्यानेजर जोशीको बयान आफैंमा पनि अभियोग पुष्टि हुने एउटा बलियो आधार हो । ‘कुनै सम्बन्ध थिएन भने उनले ढाकछोपका लागि किन भूमिका खेले भन्ने स्वभाविक प्रश्न उठ्छ’ ती अधिकृत भन्छन्, ‘यसले मुद्दालाई थप बलियो बनाएको छ ।’

जिल्ला प्रहरी कार्यालय, तनहुँको रायसहितको अनुसन्धान प्रतिवेदनमा टेकेर दायर गरिएको मुद्दामा पीडितको स्वास्थ्य परीक्षणलाई पनि प्रमाण मानिएको छ । स्वास्थ्य परीक्षणमा पीडितको संवेदनशील अंगमा ‘पुरानो घाउ’ पाइएको भनिएको छ ।

त्यसबाहेक सरकारी वकिलको कार्यालयले पीडितको स्वास्थ्य परीक्षण, अडियो रेकर्ड, म्यानेजर जोशीको बयान, अन्यले गरेको कागजले अभियोग पुष्टि जिकिर गरेको छ ।

तनहुँमा पनि प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक भएको शाहको अडियो रेकर्ड प्रमाणको रुपमा पेश गरेको छ, जसमा उल्लेखित ‘अडियो रेकर्डमा भएको स्वर मध्ये गर्लफ्रेण्ड–बोइफ्रेण्डबीच हुनु भनेको नर्मल हो’ भन्ने शब्द रहेको आवाज आफ्नै भएको भनेर शाह स्वयम्ले सनाखत गरिदिएका छन् । ‘यसले पनि सम्बन्धलाई रहेको कुरालाई पुष्टि गर्छ’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

तनहुँमा घटना भएको भनिएको वेला आफू नाबालिकाको कोठाबाट फेसवास लिएर गायक कमल खत्रीसँग गएर सुतेको शाहको बयान छ । तर खत्रीको बयानले उनको भनाइलाई साथ दिँदैन । ‘सबै जनासँगै खाना खाएर म राति साढे ११ बजे कोठामा गइ सुतेको थिएँ’, खत्रीले बयानमा भनेका छन्, ‘प्रतिवादी राति कति बेला आएर मसँगै सुते भन्ने थाहा पाइन ।’

अनुसन्धानको सिलसिलामा बयान लिइएका सरोज ओलीले पनि छलफलका क्रममा शाहले प्रेमी प्रेमिकाको बीचमा सम्बन्ध भइहाल्छ भनेको खुलाएका छन् । ‘तिमी बच्चा पाउने भएको भए पो मैले तिमीलाई श्रीमती स्वीकार्ने भन्ने जस्ता कुराहरु गरेका थिए’ ओलीले बयानमा भनेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?