+
+

मन्त्री आले-सलमान खान संवाद : माउन्टेन फ्लाइटदेखि सुटिङसम्मको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:२५

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भएको भर्चुअल संवाद ‘प्रोटोकल’को दायरामा सीमित रहेन । झण्डै १० मिनेटको गफगाफ मन्त्री र कलाकार भन्दा स्टार र फ्यानबीचको बढी थियो ।

त्यो संवादमा के मात्र थिएन, अन्तरंग, फ्यान हुनुको खुसी, मन्त्रीले राखेका अपेक्षा, आउने चाहना हुँदाहुँदै पनि आउने नपाएको स्टारको पीडा, कोरोना महामारी र पर्यटनलगायत ।

आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री आले र अभिनेता खानले संवाद गरेका थिए ।

मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै कुरा थाले । उनले हिन्दी, मराठीदेखि अंग्रेजी मिसाएर संवाद गरे । मराठीमा समेत दुईबीच कुरा भयो । आफू एक फिल्म सुटिङको लागि नेपाल आएको, तर त्यो फिल्मको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सलमानले सुनाए । तर यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको सलमानले बताए ।

‘धेरै समय भयो नेपाल नआएको । सोही समयमा मलाई लाग्छ, ‘खुदा गवाह’को सुटिङ पनि चलिरहेको थियो त्यहाँ । त्यसपछि नेपाल आउने समय मिलेन,’ सलमानले सम्झिए, ‘यसपटक भने हामी उत्साहित छौं ।’

मन्त्री आलेले पटक-पटक आफू सलमानको ठूलो फ्यान भएको बताउँदै मुम्बई भ्रमणको प्रसंग पनि जोडेका थिए । संवादमा आलेले सलमानका फिल्म र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने वचन समेत दिए । जवाफमा सलमानले नेपालमा फिल्म सुटिङ गर्ने इच्छा व्यक्त गरे ।

कोरोना महामारीले थलिएको नेपाली पर्यटनलाई सघाउन द ब्याङ टुर उपयोगी हुने आशा व्यक्त गर्दै आलेले सलमानको मन जित्न केही रमाइला कुरा पनि गरे । सगरमाथा आरोहणको निम्तो समेत दिंदै आलेले सलमानलाई सगरमाथाको पर्वतीय उडानमा लैजान इच्छुक रहेको र ब्रेकफास्ट सँगै लिने इच्छा व्यक्त गरे । जवाफमा सलमानले ‘डन’ भन्दै मन्त्री आलेको आग्रहलाई स्वीकारे ।

मन्त्री आलेले कीर्तिमानी आरोही निर्मल पूर्जा र उनको चर्चित नेटफ्लिक्स डकुमेन्ट्री ‘फोर्टिन पिक्स’को विषय पनि निकाले । यसबारे आफू पहिल्यै जानकार भएको सलमानले बताए ।

सलमानसँगको कुराकानीपछि मन्त्री आलेले द ब्याङ टुरलाई लिएर मिडियासँग आफ्ना भनाइ राखे । सलमानको कन्सर्टमा जान प्रधानमन्त्री शेरबहादुर देउवा पनि इच्छुक रहेको मन्त्री आलेले बताए । ‘मैले प्रधानमन्त्रीज्यूसँग पनि यसबारे कुरा गरेको छु । उहाँ पनि कार्यक्रममा सहभागी हुन सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

यो सांगीतिक कन्सर्टका लागि सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा काठमाडौं आउने कार्यक्रम छ । जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए ।

कार्यक्रमकै लागि अप्रिल १३ मा सलमानका भाइ तथा अभिनेता सोहेल खान काठमाडौं आइपुग्ने र पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?