+
+

व्यापार घाटा न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न राजदूत शर्मासँग परिसंघको आग्रह 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १३:०१

१० चैत, काठमाडौं । नेपाल उद्योग परिसंघले विद्युत व्यापार, पर्यटन प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ ।

राजदूत शर्मासँगको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको सम्भावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको बताए ।

दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न आग्रह गर्दै उनले नेपालले त्यसबाट अधिकत्तम लाभ लिने गरी सार्वजनिक निजी साझेदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन शर्मासँग आग्रह गरे ।

‘नेपालमा उत्पादन मुलक एवं पूर्वाधार विकासको क्षेत्र भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ, यसमा सरकार र निजी क्षेत्र मिलेर काम गरौं,’ अध्यक्ष अग्रवालले भने, ‘संस्थागत तवरमा नेपाल उद्योग परिसंघ आवश्यक सहजीकरणका लागि तयार छ ।’

‘ठूला अन्तर्राष्ट्रिय कम्पनीको उपस्थितिले देशको छवि परिर्वतनमा सहयोग पुर्‍याउँछ,’ अग्रवालले भने, ‘भारतका सूचना प्रविधि, उत्पादन एवं अन्य क्षेत्रका ठूला कम्पनी नेपालमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय जगतमा त्यसले दिने सन्देश फरक हुन्छ, त्यसकारण पनि हामीले उनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ ।’

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग उच्च व्यापार घाटा छ । त्यसको न्यूनीकरणका लागि नेपाली वस्तुको सहज निर्यातमा पनि परिसंघले जोड दिएको छ ।

भारतीय बजारमा ऊर्जाको उच्च माग रहेकाले नेपालबाट विद्युत निर्यातमा सहजीकरण गर्न पनि परिसंघले राजदूत शर्मासँग आग्रह गरेको छ ।

छलफलमा राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्न सक्ने बताए । उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानी अभिवृद्धिका लागि पहल गर्ने बताए ।

‘हाम्रा कतिपय कानुनी व्यवस्थासँग म आफैं पनि सन्तुष्ट छैन, संशोधन गरेर लगानीकर्ता मैत्री बनाउन जरुरी छ,’ शर्माले भने, ‘आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेर लगानीकर्तालाई सहजीकरण गर्न जरुरी छ ।’ शर्माले उच्चस्तरीय दुई पक्षीय भ्रमणका माध्यमबाट पर्यटन तथा लगानी प्रवर्द्धनमा योगदान पुर्‍याउन सकिने बताए ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालबाट भारतमा सिमेन्ट निर्यातको सम्भवाना रहेको बताए । उनले दुई देश छिमेकी मात्रै नभइ सामाजिक तथा सांस्कृतिक रूपमा निकै नजिक रहेकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्तशर्माले दुई देशबीचका सन्धि सम्झौताको समयानुकुल परिवर्तन हुनुपर्नेमा जोड दिए । छलफल कार्यक्रममा परिसंघले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि राजदूत शर्मालाई विभिन्न सुझाव उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?