News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८२/८३ को बजेटमा निजी क्षेत्रका लागि समेटिएका ७४ बुँदागत व्यवस्थामध्ये ४६ प्रतिशतमात्र पूर्ण कार्यान्वयन भएको नेपाल उद्योग परिसंघको अध्ययनले देखाएको छ ।
- परिसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बजेटका ३४ बुँदा पूर्ण रूपमा, ३४ बुँदा आंशिक रूपमा र ६ बुँदा शून्य कार्यान्वयनको अवस्थामा रहेका छन् ।
- परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको भन्दै पूँजीगत खर्च प्रभावकारी बनाउन माग गरे ।
२९ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख निजी क्षेत्रसँग सम्बन्धित बुँदा कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ ।
नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको बजेट वाचमा यस्तो जानकारी दिइएको हो ।
परिसंघका अनुसार गत आवमा निजी क्षेत्रसँग सम्बन्धित कुल ७४ बुँदा बजेटमा उल्लेख थिए । त्यसमध्ये ३४ बुँदाको मात्र पूर्ण कार्यान्वयन भएको अवस्था छ । अर्को ३४ बुँदा कार्यान्वयन आंशिक भएको छ । शून्य कार्यान्वयन भएको बुँदा ६ वटा छन् ।
यस अनुसार बजेटका ४६ प्रतिशत घोषणामात्र पूर्ण कार्यान्वयन भएको देखिएको छ । औद्योगिक विकाससँग सम्बन्धित २७ बुँदामध्ये १४ मात्र पूर्ण कार्यान्वयन भएको अध्ययनले देखाएको छ ।
ऊर्जा, पूर्वाधार तथा सहरी विकास सम्बन्धी १४ बुँदामा ५ मात्र पूर्ण कार्यान्वयन भएका छन् । कृषि तथा जडीबुटीतर्फ ७ बुँदामध्ये ४ पूर्ण कार्यान्वयन भएका छन् ।
पर्यटनका ९ बुँदामा ३ पूर्ण कार्यान्वयन भएको परिसंघको अध्ययनले देखाएको छ । लगानी तथा वित्तीय क्षेत्रतर्फ ८ बुँदामध्ये ४ बुँदाको कार्यान्वयन पूर्ण भएको छ । शिक्षा तथा रोजगारीका ३ बुँदामध्ये १ बुँदाको कार्यान्वयन पूर्ण भएको छ । सूचना प्रविधि तथा नवउद्यममा ६ बुँदामध्ये ३ को पूर्ण कार्यान्वयन भएको अवस्था छ ।
कार्यक्रम परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकास, औद्योगिक रूपान्तरण र समृद्धिको यात्रामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।
उनले परिसंघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । बजेट वाच कार्यक्रमलाई चालु आवमा समेत निरन्तरता दिने उनको प्रतिबद्धता छ । उनले पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग माग गरे ।
यस वर्ष सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न पूर्वाधार आयोजना समयमै सम्पन्नु हुनु, सार्वजनिक खर्चको गुणस्तर सुधार हुनु, निजी लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण हुनु र मन्त्रालयगत निर्णय प्रक्रिया तीव्र बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4