+
+

त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

रासस रासस
२०७८ चैत १० गते १६:३६

१० चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरिन् ।

व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले जवाफ दिने अवस्था आएको बताइन् । उनले भनिन्, ‘एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ ।’

जनताको कर र जनताका छोराछोरीले तिरेको ‘शुल्क’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले साधन र स्रोतलाई सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि विलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।’

मन्त्री भुसालले अघि भनिन्, ‘अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति त्रिविकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।’

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि पनि यस विश्वविद्यालयमा सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘त्रिविले शैक्षिक गुणस्तरको नेतृत्व गर्नुपर्छ, त्यसका लागि निरन्तर काम गर्नुपर्छ ।’ कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?