
काठमाडौं । आगामी वैशाख १ गते ‘ए मेरो हजुर ४’सँगै दुई भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् । बक्स अफिस भिडन्तमा अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को चौथो सिक्वेलसामु चुनौती छ ।
यस्तोमा दर्शकलाई हलसम्म तान्ने मामिलामा झरना थापा निर्देशित फिल्म कति सफल हुनेछ ? अनमोल केसीको स्टारडम कत्तिको अब्बल रहला ?
बिहीबार आयोजित फिल्मको ट्रेलर लन्च पत्रकार सम्मेलनमा अनमोल केही खुसी तर बढी आत्मविश्वासी देखिए । वैशाख १ गतेको बक्स अफिस भिडन्तलाई अनमोलले नेपाल भर्सेस भारतविरुद्धको फुटबल खेलसँग तुलना गरे ।

‘यो लडाइँ नेपाल र भारतको फुटबल म्याचजस्तै हुनेछ । डराउनुपर्ने कारण छैन । नेपालसँग क्याप्टेन ईशान खड्का छ,’ यसअघिको आफू अभिनित फिल्म क्याप्टेनको मुख्य पात्रको नाम लिएर अनमोलले यो भनाइ राखेका थिए ।
ईशान खड्का नेतृत्वको नेपाली टोलीले खेलमा भारतलाई जितेको कथावस्तु क्याप्टेन फिल्ममा छ । उक्त पात्रको भूमिका अनमोलले निर्वाह गरेका छन् । घुमाउरो ढंगमा अनमोलले बक्स अफिस खेलमा समेत भारतीय फिल्मलाई हराउन खोजेको संकेत गरे ।
उनको यो अभिव्यक्तिमा आत्मविश्वास लुकेको छ कि स्टारडमको घमण्ड ? अनमोल भन्छन्, ‘डराउनुपर्ने कारण छैन ।’ अर्को एक प्रश्नमा अनमोलले युवापुस्ताले नाक खुम्च्याउनुपर्ने फिल्म नबनेको बताए । ‘फ्यान्टास्टिक फिल्म बनेको छ,’ उनले भने ।
अनमोलको आत्मविश्वासको यो जादू बक्स अफिसमा कत्तिको फलदायी रहला ? यो त वैशाख १ गतेपछि नै थाहा हुनेछ ।
प्रतिक्रिया 4