+
+

मेलम्चीको सुरुङमा भेटियो अपेक्षाभन्दा बढी लेदो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १९:१७
फाइल तस्वीर

१३ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्न प्राविधिक कठिनाइ परेको छ । गत असारमा आएको बाढीको कारण क्षतिग्रस्त भएको आयोजनाको मुहान क्षेत्रको सुरुङमा अपेक्षित भन्दा बढी लेदो भेटिएको हो ।

आयोजना प्रमुख बासु पौडेलका अनुसार हेडवर्क्सको मुख्य सुरुङ र डाइभर्सन टनेल जोड्ने पाइपसमेत लेदोले भरिएको पाइएको छ । सुरुङमा भरिएको पानी निकाल्न लाग्दा धेरै लेदो पसेको पाइएको हो । ‘हामीले यति धेरै लोदो भरिएको होला भन्ने अपेक्षा गरेका थिएनौं,’ पौडेलले भने, ‘यसले सुरुङबाट पानी हटाउने काम (डिवाटरिङ)मा समस्या परेको छ ।’

अम्बाथानको अडिट टनेलसम्म नै लेदो भरिएको पाइएको भन्दै हटाउन समस्या परिरहेको पौडेलले बताए । गत १ असारमा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।

त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्रयानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । जसले गर्दा सुरुङमा जमेको सबै पानी बाहिर निकाल्न सकिएको थिएन । अहिले पानी निकाल्न लाग्दा सुरुङभित्रै लेदो भेटिएको हो ।

अहिले ठेकदार कम्पनी सिनो हाइड्रोले पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्रान हटाउने काम गरिरहेको छ ।

सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने आयोजनाले बताएको छ । अडिट सुरुङको मुख खोल्नासाथ सफाइको काम गर्न सकिने आयोजनाको विश्वास थियो ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ झन्डै तीन/चार लाख घनमिटर लेदो रहेको अनुमान छ ।

हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ ।

आयोजना प्रमुख पौडेलका अनुसार चैतभित्रै काठमाडौंमा पानी ल्याउने गरी काम भइरहेको छ । तर, सुरुङभित्र टेटिएको लेदो चुनौती बनेको उनले बताए । ‘लक्ष्यअनुसार नै काम गर्न प्रतिवद्ध छौं,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?