+
+

रोल्पाका डाँडामा भ्यूटावर : पर्यटन विकासका नाममा मनपरी

नेपाल गरिबी लघुक्षेत्र अनुमान अनुसार रोल्पामा गरिबको संख्या ५७ हजार ५०४ छ । धेरै ठाउँमा सडक सुविधा नै पुगेको छैन । खनिएका सडकहरु पनि कच्ची छन् । तर पर्यटन प्रवर्द्धनको नाममा प्राकृतिक रुपमै भ्यूटावर जस्ता अग्ला डाँडामा कंक्रिटका भ्यूटावर बनाउने प्रतिस्पर्धा चलिरहेको छ ।

महेश न्यौपाने महेश न्यौपाने
२०७८ चैत १४ गते १९:०६

१४ चैत, रोल्पा । शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा पछि परेको रोल्पामा चार करोड रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनएको भ्यूटावरको सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे ।

स्थानीय तह निर्वाचन लक्षित आमसभालाई सम्वोधन गर्न सोमबार बिहान हेलिकप्टर चढेर रोल्पा आएका प्रचण्डले दुई हजार ५५ मिटर उचाइमा बनाइएको ११२ फिट अग्लो भ्यूटावरको उद्घाटन गरेका हुन् ।

यो टावरको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ रहेको रोल्पा नगरपालिकाले जनाएको छ । चक्रेश्वरी-ब्राइट जेभी काठमाडौंले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रका नेताहरु पूर्ण केसी प्रमुख र मनकुमारी घर्तीमगर उपप्रमुख छन् । केसी माओवादी नेता कृष्णबहादुर महराका ज्वाइँ हुन भने घर्ती मगर वर्षमान पुनकी बहिनी हुन् ।

रोल्पा नगरपालिकाले निर्माण गरेको भ्यूटावरको दशौं तला चढेर प्रचण्डले प्यूठानको माडी उपत्यका र पूर्वी रोल्पाको दृश्य हेरे । विकासका नाममा भत्काइएका उजाड डाँडा हेर्दै प्रचण्ड केहीबेर टोलाए पनि ।

भ्यूटावर बनाउने प्रतिस्पर्धा

१० वर्षे जनयुद्धले थिलोथिलो भएको रोल्पा विकासमा निकै पछाडि छ । जिल्लाका ४०७ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्छन् । तर, यहाँका करिब २०० विद्यालयमा शिक्षक दरवन्दी शून्य छ । ठूलो संख्याका विद्यालय अभिभावकको भरमा चलेका छन् । प्राथमिक तहमा २५२, निम्नमाध्यमिक तहमा ४३१ र माध्यमिक तहमा २९८ दरबन्दी अपुग छ ।

जस्तो कि ५ हजारभन्दा धेरै विद्यार्थी रहेको सुनछहरी गाउँपालिकामा एउटा पनि माध्यमिक दरबन्दी छैन । विद्यालयका भौतिक संरचना नाम मात्रका छन् । स्वास्थ्य क्षेत्र पनि उस्तै उदेक लाग्दो छ । २५ हजार रोल्पालीको भागमा एक जना मात्र डाक्टर छन् ।

सामाजिक–आर्थिक तथा अन्य दृष्टिलेसमेत पछि परेको रोल्पा समग्र विकास सूचकांकमा नेपालका ७७ जिल्लामध्ये ६८ औं स्थानमा छ । नेपाल गरिबी लघुक्षेत्र अनुमान अनुसार रोल्पामा गरिबको संख्या ५७ हजार ५०४ छ । धेरै ठाउँमा सडक सुविधा नै पुगेको छैन । खनिएका सडकहरु पनि कच्ची छन् । तर पर्यटन प्रवर्द्धनको नाममा प्राकृतिक रुपमै भ्यूटावर जस्ता अग्ला डाँडामा कंक्रिटका भ्यूटावर बनाउने प्रतिस्पर्धा चलिरहेको छ ।

नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यले भने, ‘शिक्षा, स्वास्थ्य, स्वरोजगार जस्ता विषयलाई प्राथमिकता दिएर योजना बनाउनुको साटो भ्यूटावरमा खर्च गर्नु राम्रो होइन ।’

रोल्पा नगरपालिकामा मात्रै होइन थवाङ गाउँपालिकाले पनि जलजलामा २५ लाख रुपैयाँ लागतमा भ्यूटावर निर्माण गरेको छ । त्रिवेणी गाउँपालिकाको टिलामा पनि लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैयामा भ्यूटावर निर्माण गरेको छ ।

होलेरी एकीकृत पर्यटन विकास अन्तरगत गढीलेखमा पनि भ्यूटावर निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पा मार्फत आर्थिक वर्ष ०७०/०७१ मा २० लाख रुपैयाँ निकासा गरी उक्त भ्यूटावर निर्माण गरिएको हो ।

पर्यटन विकासको कागजी लहड

व्यवस्थित योजना विनै र संभाव्यता अध्ययनसमेत नगरी लहडमा सुरु गरिएको ‘पर्यटन विकास’ परियोजनाको ध्यान भ्यूटावर निर्माण जस्तो अनावश्यक काममा सीमित छ । नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यले भने, ‘शिक्षा, स्वास्थ्य, स्वरोजगार जस्ता विषयलाई प्राथमिकता दिएर योजना बनाउनुको साटो भ्यूटावरमा खर्च गर्नु राम्रो होइन ।’

पूर्व सांसद लेखनाथ आचार्य पनि भ्यूटावर बनाउने लहडप्रति असन्तुष्ट छन् । उनी भन्छन्, ‘जिल्लामा पर्यटनको सम्भावनाबारे अहिलेसम्म न कुनै अध्ययन भएको छ न त स्पष्ट नीति र योजना नै छ । हचुवाका भरमा ‘पर्यटन विकास’ भन्दै ठूलो रकम खेर फालिएको छ ।’

१ फागुन २०५२ देखि सुरु भएको माओवादी सशस्त्र विद्रोहको केन्द्र थियो रोल्पा । राज्य सत्तामा आमूल परिवर्तनको नारा दिएर शुरु भएको सशस्त्र हिंसा दश वर्षसम्म चल्यो । त्यसबेला रोल्पाबाट ९६९ जना मारिए, ३३ जना अझै वेपत्ता छन् । घरबारविहीन, घाइते तथा अपांग हुनेको हिसाबै छैन ।

मानव विकास सूचकांकमा ६८ औं स्थानमा रहेको रोल्पामा शिक्षा, स्वास्थ्यको अवस्था कहालीलाग्दो भए पनि तीनै थरी सरकारको चासो पर्यटनमा देखिएको छ । तर, पर्यटनको विकासका लागि न कुनै अध्ययन् अनुसन्धान भएको छ न त स्पष्ट योजना नै छ । जिल्लाका सबैजसो स्थानीय तहले लहडी ‘पर्यटन’ लाई प्राथमिकता दिएका छन् ।

तर रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी भने भ्यूटावरले नगरको पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने दाबी गर्छन् ।

प्रचण्डको प्राथमिकतामा नपरेको रोल्पा

सशस्त्र युद्धका १० वर्ष मध्ये ११ महिना प्रचण्ड रोल्पामा बसेका थिए । परिवर्तन गाउँपालिका–२ मा पर्ने राङ्सी डाँडागाउँमा प्रचण्ड १ वैशाख २०६१ देखि ३ फाल्गुन २०६१ सम्म प्रचण्ड त्यहाँ बसेका थिए । उनले घर छाडेको अर्को दिन सेनाको हेलिकप्टरले घरमा गोली वर्षाएको स्थानीय लालबहादुर घर्ती बताउँछन् ।

घर्तीका अनुसार सेनाको गोलीले घरको ५ ठाउँमा प्वाल परेको छ । प्रचण्डलाई आवतजावत सहजताका लागि घरभित्र ७० मिटर लामो सुरुङ पनि खनिएको थियो । अहिले उक्त घर ९५ लाख रुपैयाँ खर्च गरी डाँडागाउँ पर्यटकीय क्षेत्र भनेर संरक्षण गरिएको छ ।

यसरी रोल्पा छोडेका प्रचण्ड शान्ति प्रक्रिया पछि मात्रै त्यहाँ फर्किए । शान्तिप्रक्रियाका सुरुआती वर्ष प्रचण्डको रोल्पा आउजाउ चलिरह्यो । कुनै बेला ‘पार्टीमा संकट परे रोल्पा आउँछु अनि नयाँ उत्साहका फर्कन्छु’ भन्थे उनी ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लडेका प्रचण्ड एक स्थान छाड्नुपर्ने प्रावधान अनुसार रोल्पा छोडी काठमाडौं रोजे । पछिल्ला ७ वर्षयता त रोल्पा प्रचण्डको प्राथमिकतामै परेन । पूर्वसभामुख कृष्णबहादुर महराले पनि रोल्पालाई बिर्सिएर दाङलाई राजनीतिको केन्द्र बनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?