+
+

‘भिगन हुँदा कमजोर भइन्छ भन्नु गलत’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १८:२४

काठमाडौं । सगरमाथा आरोहण गर्ने प्रथम भिगन आरोही कुन्तल जोइसरले भिगन हुँदा कमजोर भइन्छ भन्ने भ्रम त्याग्न सबैसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कुन्तरले भिगनहरुको लागि पनि छुट्टै खाले न्युट्रेसनयुक्त खाना हुने र यसलाई सन्तुलन मात्रै मिलाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय एथलेट समेत रहेका कुन्तलले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनले आफू ऊर्जावाने र सहनशील हुनुको कारण भिगन खाना र व्यायाम रहेको बताए । आफू नैतिक, वातावरण र प्रकृति संरक्षणको लागि भिगन बनेको उनको भनाइ छ ।

भदौ ३० देखि भिगन फेस्टिभल हुने

हिमालयन भिगन फेस्टिभल आयोजक समितिको आयोजनामा यही भदौ ३० गतेदेखि तीन दिनसम्म नेपालमा राष्ट्रिय भिगन फेस्टिभल हुने भएको छ । त्यसभन्दा अघि भदौ २८ र २९ मा लुम्बिनीमा फेस्टिभलको पूर्वतयारी कार्यक्रम गरिने समितिका अध्यक्ष सुरेश शर्माले जानकारी दिए । असोज २ देखि ४ सम्म भुटानमा कार्यक्रम आयोजना गरिने पनि शर्माले जानकारी दिए ।

उनका अनुसार फेस्टिभलमा विश्वभरबाट आउने ज्ञाता तथा विज्ञहरुले भिगन खानाको फाइदा, यसको पकाउने कला, फिल्म स्क्रिनिङ, फिल्म प्रतियोगिता, फेसन शो, म्याराथन योग कक्षा जस्ता कार्यक्रम सञ्चालन गरिने छ । फेस्टिभलमा सहभागी हुन शुल्क तिर्नुपर्दैन । कार्यक्रममा जोइसर पनि नेपाल आउने तयारी गरिरहेको बताउँछन् ।

को हुन् भिगन ?

भिगनहरु दुग्ध एवं मांसजन्य कुनै पनि उत्पादन सेवन नगर्ने विशुद्ध शाकाहारी हुन् । भिगनलाई ठेट नेपाली भाषामा अनुवाद गर्ने शब्द छैन । अंग्रेजीमै पनि २० औं शताब्दीको मध्यतिर जन्मिएको यो शब्दलाई ठेट नेपालीमा कसरी चिनाउने भन्ने स्वयं भिगनहरुकै माझमा पनि टाउको दुखाइको विषय बनेको छ । त्यसैले एसोसिएसनले यसलाई हु-बहु अनुवाद नमिले पनि ‘विशुद्ध शाकाहारी’ भनेर नेपालीकरण गरेको छ । तर यसले स्पष्ट अर्थ नबोक्ने भएकोले भिगन भन्ने शब्द नै बढी प्रभावकारी हुन्छ भन्ने अध्यक्ष शर्माको मत छ ।

शर्मा भन्छन्, ‘भिगनहरुले खाने अन्न र गेडागुडीबाटै सबै परिकार बनाउने गर्छन् । जस्तो, सिताके च्याउबाट भिगन मिट बन्छ, भटमासबाट दूध बन्छ । यसरी दुग्ध एवं मासुजन्य परिकारबाहेक पनि धेरै पौष्टिक परिकार तयार हुन्छन् ।’ नेपाल र विश्वभरका भिगनहरुले खाने परिकारहरु यस्ता छन् ।

 -फलफूल तथा तरकारी

-भटमासको दूध

-नरिवलको दूध

-बदामको दूध

-चामलको दूध

-काजुको दूध

-अन्न तथा गेडागुडी

-ड्राइ फ्रुट्स

-जडीबुटी मसला

-च्याउ

-तोफु

-सेइतान

भिगनहरु के-के खाँदैनन् ?

-मासु एवं मासुजन्य परिकार

-दूध एवं दूधजन्य परिकार

-मह

-मिठाई

भिगन खाद्य संस्कारले मन र शरीरलाई शान्त तुल्याउने विश्वास गरिन्छ । यस्ता खानेकुराले शरीरको तौल सन्तुलित राख्नुका साथै शरीरलाई आवश्यक पोषकतत्व प्रदान गर्न मद्दत गर्छ । यसको सेवनले मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम गर्न पनि सहयोग गर्छ भन्ने पोषणविद्हरुको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?