+
+

मिलेमतो पुष्टि भएपछि राष्ट्रिय पुस्तकालयको ७० करोडको ठेक्का रद्द

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ चैत १४ गते २०:३९

१४ चैत, काठमाडौं । मिलेमतो पुष्टि भएपछि नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बन्ने लागेको पुस्तकालय भवन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत माघ १० गते आह्वान गरको झण्डै ७० करोड रुपैयाँ बराबरको ठेक्कामा प्रतिस्पर्धा खुम्च्याएर सेटिङ गरिएको थियो ।

बोलपत्रमा प्रतिस्पर्धा खुम्च्याएर भएको मिलेमतोबारे अनलाइनखबरले समाचार सार्वजनिक गरेको थियो । त्यसलगत्तै ठेक्काबारे सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएका थिए ।

समानान्तर निर्माण सेवासहितका केही कम्पनीबीच जेभीमा ठेक्का लाग्ने खबर सार्वजनिक भएपछि दबावमा आएको मन्त्रालयले प्राविधिक मूल्यांकनकौ चरणमा ठेक्का प्रक्रिया रोक्ने निर्णय गरेको हो । गत ३० फागुनमा राष्ट्रिय पुस्तकालयलाई पत्र लेख्दै मन्त्रालयले नै गत बोलपत्रको खरिद सम्बन्धी प्रक्रिया रद्द गर्न भनेको थियो ।

अहिलेसम्म भएको प्रक्रिया रद्द गरी ड्रइङ, डिजाइन, स्पेसिफिकेसन र डिपीआरको आधारमा तयार गरिएको लागत अनुमान र बोलपत्रसम्बन्धी कागजात पुनःअध्ययन गरी नयाँ खरिद प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्रालयले गरेको थियो ।

यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा आवेदन दिएका र प्राविधिक प्रतिस्पर्धामा सहभागी फर्म तथा कम्पनीको विवरण मागेको थियो । विवरणको अध्ययनपछि कार्यालयले बोलपत्रको बिड डकुमेन्टको सेक्सन ३ अन्तर्गत मूल्याङ्कन तथा क्राइटेरियाको २, ४ २ को ‘ए’ र ‘बी’ मा राखिएको प्रावधानमा असहमति जनाएको थियो ।

अनलाइनखबरलाई प्राप्त विवरणअनुसार उक्त ४ वटा निर्माण व्यवसायी फर्मले बोलपत्र खरिद गरेका थिए । तर, बोलपत्र समानान्तर-बिकोइ-प्रतिष्ठा जेभीको मात्रै बोलपत्र पेश भएको थियो ।

१० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउने अवस्था थियो । जबकी नेपालमा ठूलो डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना-साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको थियो ।

रद्द भएको टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रति बेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्थ्यो । त्यति मात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव (४००० घनमिटर) मागिएको थियो ।

यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङको ठूलो काम गरेको अनुभव पनि चाहिने अवस्था बनेको थियो । नेपालमा डबल बेसमेन्ट भवन बनाउन थालेको धेरै वर्ष नै भएको छैन, त्यसमाथि डबल बेसमेन्टभित्रै पनि धेरै स्पेसिफिक योग्यता पूरा गन सक्ने कम्पनी समानान्तर मात्रै थियो ।

टेन्डरमा कम्तीमा ५०० जना अट्ने अडिटोरियम र सभाहल निर्माण गरेको अनुभव पनि अनिवार्य गरिएको थियो । समानान्तर निर्माण सेवाले गोदावरी, सुर्खेत लगायतका स्थानमा हालसालै ठूलो क्षमताको सभाहल बनाएर अनुभव हासिल गरेको छ ।

यस्तो अनुभव हालसालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरेको काठमाडौं महानगरपालिकाको प्रशासनिक भवनको ठेक्कामा पनि यस्तै स्पेसिफिक प्राविधिक योग्यताहरु राखिएको थियो ।

सो ठेक्कामा प्राविधिक रुपमा योग्य हुन मन्दिर तथा पुरातात्विक क्षेत्रमा निर्माणको काम गरेको अनुभव पनि मागिएको थियो । त्यसैगरी अन्तर्राष्ट्रिस्तरको पुस्तकालय भवन बनाएको योग्यता पनि चाहिने भनिएको थियो । अन्तर्राष्ट्रियस्तरको पुस्तकालय भवन निर्माण अनुभव नेपालमा निकै सीमित कम्पनीसँग छ ।

राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्र एउटा मात्रै कम्पनीको बोलपत्र पेश भएपछि आफूले मन्त्रालयमा त्यसको जानकारी गराएको बताउँछन् ।

ठूलो ठेक्कामा अन्य कम्पनी सहभागी हुनै नसक्ने अवस्था पुष्टि भएकाले प्रतिस्पर्धी तवरले ठेक्का गराउन टेन्डर रद्द गरिएको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  सार्वजनिक खरिद अनुमगन कार्यालयलाई पनि यसबारे जानकारी दिइएको उनले बताए ।

‘अब प्रतिस्पर्धा हुने गरी सबै बिड डकुमेन्ट पुनः अध्ययन गरेर अर्को टेन्डर आह्वान गर्छौं,’ मिश्रले भने ।

सरकारले अपांग, बालबालिका र ज्येष्ठ नागरिकमैत्री हुने गरी ५ तले भवन बनाउन लागेको हो । २०१३ पुसमा हरिहर भवनमा स्थापना भएको पुस्तकालय भूकम्पमा क्षतिग्रस्त भएपछि जमलमा नयाँ भवन बनाएर सार्न लागिएको हो । पुस्तकालयको पुस्तकहरू अहिले सानोठिमीमा लगेर सुरक्षित रुपमा राखिएको छ । भवन बनेपछि आधुनिक रुपमा पुस्तकालय सञ्चालन गर्ने योजना छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?