+
+

गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ चैत १५ गते १९:००

१५ चैत, काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिंदै छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका थिए ।

योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले जानकारी दिए । गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ ।

गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठक उद्घाटन गरेका थिए । पुनर्निर्माण सकेपनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न केही ढिलाइ भएको खनालले जानकारी दिए ।

विदेशी पाहुनाले ओहोदाको प्रमाणपत्र लिने ठाउँ

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा बनेको हो, जुन विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिनका लागि प्रयोग गर्ने गरिन्थ्यो ।

यसबाहेक राज्यको महत्वपूर्ण बैठकका लागि गद्दी बैठकको प्रयोग गरिन्थ्यो । अन्तिम पटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिएको प्रमाण पाइएको खनाल बताउँछन् । गद्दी बैठकमै राजाको गद्दी आरोहणको समारोह पनि गरिन्थ्यो ।

१९औं शताब्दीसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारत र चीनमा सीमित थियो । जंगबहादुर राणाले युरोप भ्रमण गरेपछि उताका पाहुना पनि आउने क्रम सुरु भयो । विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि. सं. १९६५ मा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरेका हुन् ।

यसको फल सिलिङ मेटलबाट बनाइएको छ । यसको सिलिङमा झुण्डिएका बत्तीमा प्रयोग गरिएका काँच बेल्जियमबाट ल्याएको बताइन्छ । ती बत्तीहरुमा मैनबत्ती राखेर बाल्न समेत मिल्ने गरी बनाइएको छ । बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्वीर राखिएको छ ।

त्यस्तै, ढोकाबाट प्रवेश गर्नेबित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार देखिन्छ । त्यो बर्मा सरकारले उपहार स्वरुप दिएको अड्डाका प्रमुख खनाल बताउँछन् ।

गद्दी बैठकमै विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ठ पाहुनाहरु जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने बेलामा हुन्छ ।

महत्वपूर्ण राजनीतिक परिवर्तन एउटै ग्यालरीमा

गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ । भुइँ तलामा प्रवेश गर्नेबत्तिकै पृथ्वीनारायण शाहद्वारा बाइसी र चौबीसी राज्य एकीकरण गर्ने बेला प्रयोग भएको बन्दुक देखिन्छ ।

ग्यालरीको अन्तिममा नेपालको नयाँ संविधान जारी हुँदासम्मको विवरण राखिएको छ । बीचमा विभिन्न समयमा प्रयोग गरिएका सामग्रीसँगै वृत्तचित्र, विभिन्न समयका नेपालको राष्ट्रिय झण्डाहरुको आकृति राखिएको छ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?