+
+

प्रकाशमान भन्छन्– कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस् 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १२:३५

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताए ।

आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भने, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ उनले २०४६ सालयताको राजनीतिक परिवर्तनपछि अपेक्षाकृत विकास नहुनुमा एमाले मुख्य बाधक भएको आरोपसमेत लगाए ।

कांग्रेसको एक महिने चुनावी अभियानले देशभर हलचल ल्याएको दाबी गर्दै उनले जनताको घरमा पुग्दा शालिनता र नम्र व्यवहार देखाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

स्थानीय निकायको चुनावमा पार्टीका उमेदवार सिफारिस र चयन पार्टी विधान अनुसार गर्नुपर्ने बताउँदै उनले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न निर्देशनसमेत दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले काठमाडौंको संगठन बलियो भयो भने देशभरको संगठन बलियो हुने भन्दै त्यसैअनुसारको तयारी कांग्रेसले गरिरहेको बताए । अब काठमाडौंले नै मुलुकको नेतृत्व गर्ने अवसर आउने भन्दै उनले भने, ‘हामीले यो अवसर गुमाउनु हुँदैन ।’

कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित, राजेन्द्र कुमार केसी, कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुझ बानियाँलगायतले कांग्रेसका उम्मेदवारहरुलाई जिताउने गरी चुनावमा खट्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?