+
+
जीतपुर सिमरा गोल्डकप :

संकटालाई पराजित गर्दै बागमती सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते ९:२०

१६ चैत, सिमरा । साविक विजेता संकटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै बागमती युवा क्लब, सर्लाही जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा बागमतीले संकटामाथि १-० को जित निकालेको हो । बागमतीको जितसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

बागमतीले अब फाइनल प्रवेशका लागि विभागीय टोली एपीएफ क्लबसँग खेल्नेछ । हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफ क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिस्पर्धात्मक खेलमा बागमतीले संकटामाथि अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको २७औं मिनेटमा बागमतीका लागि अनिल रानामगरले गोल गरेका हुन् । डिना गुरुङले प्रहार गरेको  फ्रिकिक बलमा अनिलले टिमका लागि निर्णायक गोल गरेका थिए ।

बागमतीको तुलनामा आकर्षक खेल प्रदर्शन गरेपनि फिनिसिङमा चुकेको संकटा अन्तत पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो । संकटाले खेलको सुरुवातदेखि बागमतीमाथि दबाब सिर्जना गरेको थियो ।

ए डिभिजनका अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको संकटाले पहिलो हाफमा बागमतीलाई कुनै अवसर बनाउन दिएको थिएन ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको संकटाले पहिलो हाफमा बनाएको केही अवसर गुमायो । खेलको ३५औं मिनेटमा फोडे फोफनाको क्रसमा संकटाका दीपेश आले मगरले राम्रो अवसर खेर फाले । डिबक्सभित्र फोफनाले मिलाएको पासलाई दीपेशले नियन्त्रणमा लिन सक्दा प्रहार सशक्त हुन सकेन् ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको इन्जुरी समयमा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । खेलाडीबीचको विवादमा अपशब्द प्रयोग गरेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवै टिमका प्रशिक्षकलाई प्लेयरबक्स बाहिर पठाएका थिए ।

प्रशिक्षकविहीन अवस्थामा दोस्रो हाफ सुरु गरेका दुवै टिमबीचको खेल हेर्नलायक थियो । करिब चार हजार घरेलु दर्शकको उपस्थिति रहेको रंगशालमा संकटा दोस्रो हाफमा पनि हाबी देखियो ।

खेलको ६२औं मिनेटमा संकटाका फोफना वन भर्सेस वनको अवस्थामा चुके । उनको प्रहार पोष्टमा ठोक्किएर फर्कियो । लगत्तै यानिकले अर्को मौका गुमाए । फोफनाको क्रस बललाई उनले पोष्टको दिशा दिन सकेनन् ।

बागमतीले दोस्रो हाफमा धेरै अवसर बनाउन सकेन् । खेलको ८२औं मिनेटमा सुसन लामाले निकालेको पासमा डिना गुरुङ गोल गर्न चुके । दबाबमा देखिएको बागमतीले संकटाको अग्रपंक्तिका खेलाडीलाई सफल हुन भने दिएनन् ।

निर्धारित समयमा दुवै टिमले स्कोर गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको खेल पनि आफ्नो नियन्त्रणमा राखेको संकटाले थुप्रै अवसर गुमायो ।

संकटाले अवसर गुमाइरहँदा खेलको ११७औं मिनेटमा बागमतीले फ्रिकिकको अवसर प्राप्त गर्‍यो । उक्त फ्रिकिक बलमा बागमतीले विजयी गोल गरेको हो ।

डिना गुरुङले प्रहार गरेको फ्रिकिक बललाई संकटाका गोलरक्षक राजाबाबु थापाले नियन्त्रणमा लिन खोज्दा रिबाउण्ड बलमा अनिलले हेडमार्फत गोल गरेका हुन् । बलियो देखिएको संकटाविरुद्ध स्कोर निकालेपछि उत्साहित बागमतीले अन्तिम समय सम्हालिएर खेल्दै नजिता आफ्नो पक्षमा पारेको हो ।

खेलको म्यान अफ दि म्याच बागमतीका अभिशेष वाइवा घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत बुधबार एनआरटी क्लब र आयोजक नव जनजागृति युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?