+
+

चिनियाँ प्रविधिको प्रयोग गर्दै मनाङमा सडक मर्मत

रासस रासस
२०७८ चैत १६ गते १४:५५
फाइल तस्वीर

१६ चैत, मनाङ  । गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेँसीसहर–चामे सडक मर्मतको जारी छ । सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान काम भइरहेको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार हालका लागि करिब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा छ ।

जिल्लामा यसअघि पनि यो चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ । यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको उनले जानकारी दिए । ‘अब यस कार्यको प्राविधिक, आर्थिक लगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने भएको छ’ उनले भने ।

‘सडक बन्ने बित्तिकै गाडी गुडाउन सहज हुने भएको छ, यस प्रविधि मनाङ जस्ता चट्टानी भूगोल भएको क्षेत्रमा सडक ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँहरुमा एकदम उपयोगी हुने देखिन्छ’ नासों गाउँपालिका–१ तालका अन्द्रे गुरुङले भने । ‘यस प्रविधिबाट सडक ढलान गर्दा पानी कम प्रयोग गरिन्छ, रोलर लगाइन्छ र कमप्याक्शनपछि अरू सतहमा नटाँसिने भएकाले ढलानपछि हप्तौँ कुर्नुपर्ने बाध्यता हुँदैन’ उनले भने ।

सांसद पोल्देन छोपाङ गुरुङले भने, ‘मनाङको लाइफलाइनका रुपमा रहेको सडकमा नयाँ प्रविधिको प्रयोग गरी फटाफट गरिएको काम अहिलेको आवश्यकता हो ।’ जिल्लाको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे–बेंसीसहर–चामे सडकमा धेरै सुधार भएको र अझै तीव्र गतिमा काम अघि बढाउने योजना रहेको आयोजना प्रमुख पन्तले जानकारी दिए ।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लास्टिङ गरेर सहज रुपमा यातायात सञ्चालन भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक खण्डको १०७ किमीमध्ये लमजुङको बेँसीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?