+
+

बागमतीमा विद्युतीय सवारी चलाउने योजना अलपत्र

अमृत चिमरिया अमृत चिमरिया
२०७८ चैत १६ गते १८:३८

१६ चैत, काठमाडौं । बागमती प्रदेशमा विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने योजना अलपत्र परेको छ । प्रदेश गौरवको योजना भन्दै बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले  विद्युतीय सार्वजनिक सवारी चलाउने योजना अघि सारेका थिए । विसं. २०८५ सम्म प्रदेशमा इन्धनबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने लक्ष्यसहित योजना बनेको थियो ।

१२ कात्तिक २०७८ मा गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेसँगै पाण्डेले विद्युतीय सार्वजनिक बस खरिद गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरिदिए । योसँगै बागमती प्रदेशमा विद्युतीय सार्वजनिक सवारी साधन चलाउने योजना अन्योलमा परेको छ । पाण्डे नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी सञ्चालन गर्ने तयारी भने गरेको छ ।

पौडेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६/७७ मा विद्युतीय बस खरिद र सञ्चालनका लागि २८ करोड रुपैयाँ बजेट छुट्याएको थियो । ३० वटा विद्युतीय सार्वजनिक बस र १५ वटा चार्जर खरिद गर्न १८ चैत २०७७ मा प्रदेश सरकारले बोलपत्र आह्वान समेत गरेको थियो । दुई चिनियाँ कम्पनीले बोलपत्र हालेपनि तोकेको लागत अनुमानभन्दा बढाएर बोल कबोल गरेको भन्दै प्रदेश सरकारले ठेक्का नै रद्द गरेको थियो ।

विवादका बीच आव २०७८/७९ मा पनि पौडेलले विद्युतीय बस खरिदका लागि ५० करोड रुपैयाँ विनियोजन गर्‍यो । काठमाडौं, धुलिखेल, ललितपुर, धादिङ, भरतपुर, हेटौंडालगायत क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने योजना राखेर बजेट छुट्याइएको छ । तर प्रदेश सभाको बैठकमा बारम्बार विद्युतीय बस खरिद गर्ने विषयमा सांसदहरुले प्रश्न उठाए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, विपक्षी दल नेपाली कांग्रेससहितका सांसदहरुले आवश्यक पूर्वाधार तयारी विना नै विद्युतीय बस खरिद गरेर जनकपुरको रेल जस्तै बनाउन लागेको भन्दै विरोध जनाएका थिए ।

विद्युतीय ट्याक्सी चलाउने तयारी

पेट्रोलियम पदार्थको लगातार मूल्य बढिरहेको बेला बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रदेश सरकार श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले प्रदेश सरकारले १५ दिन भित्र विद्युतीय ट्याक्सी सञ्चालनको मापदण्ड बन्नेगरी काम सुरु गरेको बताए ।

‘हामीले प्रदेशभर नै विद्युतीय सवारी साधनहरु चलाउन खोजिरहेका छौं । तर काठमाडौं उपत्यकामा भने तत्काल नै विद्युतीय ट्याक्सी सञ्चालनका लागि काम सुरु गरेका छौं,’ दाहालले अनलाइनखबरसँग भने, ‘१५ दिनभित्र मन्त्रालयले प्राविधिक अध्ययनसहित उपत्यकामा ट्याक्सी सञ्चालन गर्ने मापदण्ड बनाउने छौं । त्यसपछि २० वर्ष पुगेका ट्याक्सीहरु विस्थापन गरेर विद्युतीय ट्याक्सीहरु भित्र्याउनेछौं ।’ २० वर्ष पुगेका ट्याक्सी, प्राविधिक कारणहरुले अब नचल्ने ट्याक्सीहरुको सट्टामा ट्याक्सी व्यवसायीहरुलाई अब विद्युतीय ट्याक्सी किन्न लगाउने गरी मापदण्ड निर्माण गर्ने उनले बताए । मापदण्डको लागि ट्राफिक प्रहरीसहित सरोकार राख्ने सबैसँग छलफल गर्ने मन्त्री दाहालको दाबी छ ।

मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका महानगर, नगरपालिकाहरुसँग समन्वय गरेर चार्जिङ स्टेसन बनाउनका लागि निरन्तर छलफल गरिरहेको जनाएको छ । दाहालका अनुसार प्रदेशको १३ जिल्लामै चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको भए पनि स्थानीय तहले आवश्यक जग्गाका उपलब्ध नगराउँदा प्रदेश सरकार समस्या परेको हो ।

गोंगबु बसपार्कमा मात्रै अहिले चार्जिङ स्टेसनका लागि काम गर्न सक्ने वातावरण र स्थान निश्चित भएको छ । काठमाडौंमा चार्जिङ स्टेसनका लागि जग्गा प्राप्तीमा समस्या भएको उनले बताए ।
‘काठमाडौं उपत्यकामा यातायात व्यवस्थापन आफैंमा समस्या हो, विद्युतीय ट्याक्सीका लागि आवश्यक पर्ने चार्जिङ स्टेसनको स्थान लागि हामी लागि परेका छौं । यो आगामी आर्थिक वर्ष भित्र सुरु भइसक्ने योजना हो । हामी धमाधम काम गर्ने तर्फ छौं’ मन्त्री दाहालले भने ।

निर्णय रद्द गर्नु दुःखद् : फुयाँल

बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँल वर्तमान सरकारले विद्युतीय सार्वजनिक बस खरिद गर्नै निर्णय रद्द गर्नु भनेको विषयको गम्भिरतालाई बुझ्ने क्षमता नभएको टिपपणी गर्छन् ।

प्रदेश सरकारले सुरुवात मै विद्युतीय बस सञ्चालन, हरित बागमती प्रदेश जस्ता योजना ल्याएता पनि यो आर्थिक वर्षमा विद्युतीय बस खरिद गर्न एमाले सरकारले गरेको निर्णय रद्द गर्नु दुःखद् भएको उनको भनाइ छ ।

‘म आफैं मन्त्री हुँदा विद्युतीय बस खरिद गर्न गरेको निर्णय अहिलेको सरकारले रद्द गरेको छ,’  उनले भने, ‘उहाँहरुले मोबाइल किन्दा चार्जर पनि आउँछ भन्ने बुझ्नु भएन । विद्युतीय बसका लागि चार्जर खै भनेर निर्णय रद्द गर्नु बालापन हो ।’

प्रदेश सरकारले अहिले विद्युतीय ट्याक्सी भित्र्याउने बारेमा भने फुयाँलले जुनसुकै सरकारले विद्युतीय सवारीलाई प्रोमोसन गरेको राम्रो भएको तर्क गरे ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?