
१६ चैत, तेह्रथुम । स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारी गरेका तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्वाहाङ्फेले सरकारी गाडी फिर्ता गरेका छन् ।
बुधबार को १ झ ५८३ नम्बरको सरकारी गाडी नगरपालिका प्रशासनलाई फिर्ता गरेका उनले अब भाडाको गाडी खोजेर चुनावी अभियान थाल्ने बताए । ‘सरकारी गाडी दुरुपयोग गर्न भएन्,’ उनले भने, ‘भाडामा गाडी खोजेर प्रयोग गर्छाैं ।’
पाँच वर्षअघि निर्वाचित मध्ये प्रदेश १ का अधिकांश मेयर फेरि मेयरको आकांक्षी छन् । निर्वाचन मिति नजिकिएसँगै दलको कार्यक्रममा सरकारी गाडी पुगिरहेका छन् ।
मेयर तुम्वाहाङ्फेले स्थानीय निर्वाचन–२०७९ को आचारसंहिता पनि लाग्ने भएका कारण अहिले नै गाडी फिर्ता गरेको बताए ।
नेकपा एमालेबाट निर्वाचित भएका तुम्बाहाङ्फेले गत चुनावमा प्रतिवद्धता गरेको ८० प्रतिशत हाराहारीमा काम गरेको दाबी पनि गरे ।
आफ्नो कार्यकालमा सुरु गरेका बाँकी योजना पूरा गर्नका लागि आफू पुन उम्मेदवार बन्न लागेको उनले बताए । आफ्नो कार्यकालमा सडक, विद्युत र विपन्न लक्षित कार्यक्रमहरु धेरै भएको बताउँदै उनले भने, ‘ठूला प्रतिवद्धताहरु बजेट अभावका कारण पुरा गर्न सकिएन् ।’
प्रतिक्रिया 4