+
+

प्रधानमन्त्रीको भ्रमण दलमा निजी क्षेत्रको सहभागिता कति अर्थपूर्ण ?

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा अन्य समयमा हुने भ्रमणभन्दा प्रधानमन्त्रीको नेतृत्वमा हुने भ्रमण केही फलदायी हुने बताउँछिन् ।

रोयल आचार्य रोयल आचार्य
२०७८ चैत १७ गते २१:०८

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्रीसहित सरकारी उच्च पदस्थ अधिकारीहरु सहभागी हुँदैछन् । सरकारीसँगै निजी क्षेत्रका प्रतिनिधि समेत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुँदैछन् ।

प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली भ्रमण दलमा सहभागी छन् । गोल्छा नेतृत्वको टोलीमा कम्तीमा आधा दर्जन उद्योगी व्यवसायीहरु समेत भारत जाने तयारीमा छन् । अरु उद्योगी व्यवसायीहरुको नाम भने खुलाइएको छैन ।

प्रधानमन्त्रीको विदेश भ्रमणमा निजी क्षेत्रका नेताहरुलाई पनि लैजाने चलन नयाँ भने होइन । विदेश भ्रमणमा जाने प्रधानमन्त्रीले आफ्नो भ्रमण दलमा उद्योगी व्यवसायीहरुलाई पनि लैजाने गरेका छन् ।

७ चैत २०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीनको साताव्यापी औपचारिक भ्रमणमा पुगेका थिए । त्यसबेला उद्योगी व्यवसायीहरुको नेतृत्व गर्दै उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष पशुपति मुरारका चीन पुगेका थिए ।

त्यस टोलीमा महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, पूर्वअध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्ष सुरज वैद्य, महासंघका तत्कालीन सदस्यहरु चन्द्रप्रसाद ढकाल, ज्ञानेन्द्रलाल प्रधान, ज्योत्सना श्रेष्ठसहित सहभागी थिए । २३ चैत २०७४ मा भारत भ्रमणमा जाँदा पनि ओलीले महासंघकी अध्यक्ष भवानी राणको नेतृत्वमा निजी क्षेत्रका आधा दर्जन भन्दा धेरै उद्योगीलाई साथमै लगेका थिए ।

यसअघि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले निजी क्षेत्रका प्रतिनिधि साथै लिएर गएका थिए । २०७२ मा उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स लगायतका संगठनको प्रतिनिधित्व हुनेगरी आधा दर्जन व्यवसायीहरु लिएर गएका थिए ।

भ्रमण दलमा व्यवसायी किन ?

शुक्रबार हुने प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योगी व्यवसायीहरुको तर्फबाट केही व्यवसायीहरु सरकारले लिएर जाँदैछ । कम्तीमा ६ जना उद्योगी व्यवसायीहरुको खर्च सरकारले नै बेहोर्ने गरेर भ्रमण टोलीमा समावेश गरिंदैछ । नेपाल उद्योग वाणिज्य महासंघले भारत भ्रमणमा जान चाहनेहरुलाई नाम टिपाउन समेत अनुरोध गरेको छ ।

फाइल तस्वीरर : ७ भदौ २०७२ मा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रले आयोजना गरेको कार्यक्रम ।

प्रधानमन्त्रीको भ्रमणको क्रममा भारतीय उद्योगी व्यवसायीहरुको संगठन सीआईआईसँग छलफल गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा हुनेछ । सो कार्यक्रममा सहभागी हुनका लागि महासंघले आफ्ना सदस्य उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेको हो ।

यसरी सहभागी हुने टोलीले भने आफ्नो खर्च आफैंले बेहोर्नु पर्नेछ । ‘भ्रमण टोलीमा अध्यक्ष ज्यू लगायत हुनुहुन्छ, उहाँहरुबाहेक जान चाहानेहरुलाई पनि हामीले नाम टिपाउन आग्रह गरेका छौं, केहीले टिपाउनु भएको छ,’ महासंघका एक सदस्यले भने, ‘उहाँहरुलाई सीआईआईसँगको छलफलमा सहभागी गराउने हो, खर्च भने सरकारले बेहोर्दैन ।’

यसरी उद्योगी व्यवसायीहरु भ्रमण टोलीमा गए पनि त्यसको खास उपलब्धि भने देखिंदैन । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा अन्य समयमा भएका भ्रमणहरु भन्दा प्रधानमन्त्रीको टोलीमा भएको भ्रमण केही फलदायी हुने बताउँछिन् ।

उनी स्वयं प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर भारत, चीनसहितका आधा दर्जन देशहरु पुगिसकेकी छन् । यस्तो भ्रमणले दुई देशीय निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।

हुन त भारत र नेपालबीचका उद्योगी व्यवसायीहरुको सम्बन्ध राम्रो छ । दुई देशका उद्योगी व्यवसायीहरुबीच व्यक्तिगत तथा संस्थागत तहहरुमा समेत राम्रै सम्बन्ध छ । सिधै निजी क्षेत्र टू निजी क्षेत्रबीच कुराकानी, छलफल हुने भए पनि राजकीय भ्रमणमा भएको छलफलले छुट्टै अर्थ राख्ने पूर्वअध्यक्ष राणाले बताइन् ।

उनका अनुसार यस्ता हरेक भ्रमणहरुमा नेपालमा लगानीको वातावरण रहेको भन्दै लगानीका लागि आग्रह गर्ने गरिएको छ । नेपालमा घुम्ने ठाउँहरु प्रसस्त रहेको भन्दै नेपालमा पर्यटकको रुपमा आउन समेत आग्रह गर्ने गरिएको छ ।

‘हामीले मात्रै भन्दा पनि हुन्छ, हामीले भनिरहेका पनि हुन्छौं । तर प्रधानमन्त्रीलाई नै राखेर हाम्रोमा लगानी भित्र्याउनुस् हामी सहयोग गर्छौ भन्दा अझ विश्वासिलो हुन्छ,’ उनले भनिन्, ‘उच्चस्तरीय भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व यसकारण पनि महत्वपूर्ण छ जसले हाम्रो देशमा विदेशी लगानी र पर्यटक ल्याउन समेत महत्वपूर्ण भूमिका खेल्छ ।’

सम्भावनाका विषयमा व्यापक छलफल हुन्छ

शुक्रबारको भ्रमण टोलीमा निजी क्षेत्रको अर्को संगठन नेपाल चेम्बर अफ कमर्सको नेतृत्व गरेर राजेन्द्र मल्ल पनि जाँदैछन् । महासंघका अध्यक्ष गोल्छा, चेम्बर अध्यक्ष मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितका उद्योगी व्यवसायीहरु प्रधानमन्त्रीको भारत भ्रमणमा छन् ।

विगतमा भारतमा के–के विषयमा छलफल हुने, कुन–कुन तहका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल हुने भनेर केही दिन अगाडि नै कार्यक्रम सूची तयार हुने गरेको थियो । यस पटक भने त्यस्तो गरिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट कार्यसूची तयार भएको छ । निजी क्षेत्रहरुलाई राख्नै पर्ने भेटवार्ता एवं छलफलको कार्यसूची भने तयार भइसकेको छैन ।

भ्रमण टोलीमा भारत जाने पक्का भएका सदस्यहरुलाई बिहीबार साँझ ६ बजे परराष्ट्र मन्त्रालयले बोलाएर कार्यक्रमबारे बिफ्रिङ गरेको छ । भ्रमण दलका सदस्य चेम्बर अफ कमर्सका अध्यक्ष मल्ल भ्रमण निजी क्षेत्रका लागि एउटा अवसर भएको बताउँछन् ।

यसले निजी क्षेत्रलाई मात्रै नभएर समग्र मुलुकको अर्थतन्त्रलाई नै सकारात्मक असर गर्ने उनले बताए । अध्यक्ष मल्ल यसअघि पनि यस्ता केही भ्रमणहरुमा विदेश गएका छन् । सामान्य तरिकाले भएका भ्रमणहरु भन्दा यस्ता उच्च स्तरीय भ्रमणमा भएका छलफल बढी महत्वपूर्ण हुने उनको बुझाइ छ ।

‘विजनेश प्लानिङ, भिजन, मिसनका विषयमा कुरा हुन्छ, यो भ्रमणले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि भूमिका खेल्छ,’ उनले भने, ‘हामीले त्यहाँ के गर्न सक्छौं ? यहाँ के भित्र्याउन सक्छौं अर्थात ‘वि विन’को सिद्धान्त अनुसार छलफल हुन्छ ।’ भ्रमणमा दुई देशबीचको व्यापार सहजीकरणका विषयमा समेत छलफल हुने र यसले मुलुकको अर्थतन्त्रलाई हित गर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?