+
+

३ वैशाखमा १५औं दरबारमार्ग महोत्सव आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १३:०२

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबारमार्गमा सडक महोत्सव आयोजना हुने भएको छ ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना गर्न लागेको हो । महोत्सवको नारा ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग सहकार्य गरी महोत्सवको आयोजना गर्न लागेको हो । ३ वैशाख शनिबार आयोजना हुने महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुति रहने छ ।

३ वैशाखका दिन बिहान १० बजेदेखि सुरु हुने महोत्सवमा सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुति रहने छ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नाराणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले महामारीका कारण थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । थलिएको अर्थतन्त्र, उद्योग व्यवसायमा सकारात्मक उर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन महोत्सवले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवर्द्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्‍याउने कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई विथ व्याण्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समूहको प्रस्तुति रहने आयोजकले जनाएको छ ।महोत्सवमा सृष्टि केसी एन्ड ब्लाइन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव,  भेक लगायतले समेत आ-आफ्नो प्रस्तुति दिनेछन् ।

६० वटा स्टल रहने महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरु पनि राखिने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?