+
+

ब्याडमिन्टनकी रशिला : कम उमेरमा धेरै उपलब्धि

नमिता दाहाल नमिता दाहाल
२०७८ चैत २० गते ८:५४

२० चैत, काठमाडौं । ललितपुरकी रशिला महर्जनको उमेर १७ वर्ष भयो । तर ब्याडमिन्टनमा उनको अनुभव र उपलब्धिको फेहरिस्त निकै लामो छ । १३ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गरेर एशियाली खेलकुदमा सहभागिता जनाएकी रशिला ब्याडमिन्टनको राष्ट्रिय च्याम्पियन हुन् ।

२०७६ मा लुम्बिनी प्रदेशमा आयोजित आठौं राष्ट्रिय खेलकुदमा रशिलाले सिनियरतर्फ स्वर्ण जितेकी थिइन् । त्यसयता अर्को राष्ट्रिय प्रतियोगिता भएको छैन ।

रशिलाको उदय हुनुअघि नेपालको महिला ब्याडमिन्टनमा पछिल्लो एकदशक सरादेवी र नङ्शलदेवी तामाङ दिदी–बहिनीको एकछत्र राज रह्यो । अहिले रशिलालाई पूर्व नम्बर एक सराकै छत्रछायाँ छ । ९ वर्षको उमेरमा त्रिभुवन आर्मी क्लबमा प्रशिक्षण गर्ने अवसर पाएकी रशिलालाई सराले नै प्रशिक्षण गराइरहेकी छन् ।

****

शहरी संस्कृतिमा ब्याडमिन्टन लोकप्रिय छ । सानो क्षेत्रफलमा राम्रो कसरत हुने खेल भएका कारण एमेच्योर खेलाडीहरू थुप्रै भेटिन्छन् । त्यस्तै एमेच्योर खेलाडी थिए ओमबहालका राजेश महर्जन । छोरीलाई ब्याडमिन्टन खेलाउने चाहिं राजेशको सोच थिएन ।

तर, छोरीकै रोजाइ भएपछि उनको जोर चलेन । ‘पढाइसँगै अतिरिक्त सीप होस् भनेर संगीत र नृत्यको कक्षामा पठाएको थिएँ । तर उनले ब्याडमिन्टनमै रुचि देखाइन्’, छोरीको नामबाट परिचित हुन पाउँदा गद्गद् बनेका राजेशले अनलाइनखबरसँग भने ।

साथी वीरेन्द्र श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका सदस्य थिए, उनैलाई भनेर आर्मीमा प्रशिक्षणको व्यवस्था मिलाइदिएपछि ८ वर्षको उमेरमा २०७० देखि रशिलाको ब्याडमिन्टन यात्रा सुरु भयो । उनले १३ वर्षको उमेरमा एशियन गेम्समा सहभागी हुने मौका पाइन् । अहिले ब्याडमिन्टन जुनियर विश्व वरीयतामा एकलतर्फ १९औं स्थानमा र डबल्सतर्फ सातौं स्थानमा रहेकी रशिला नेपालमा सिनियरतर्फ चौथो र जुनियरतर्फ शीर्ष वरीयतामा छिन् ।

हालै जुनियर विश्व वरीयतामा ब्वाइजतर्फ शीर्ष स्थानमा रहेका प्रिन्ससँगै रशिलाले पनि ब्याडमिन्टन एशियामार्फत ओलम्पिक छात्रवृत्ति पाएकी छन् । यसले अन्तर्राष्ट्रिय एक्सपोजरमा सजिलो हुने उनको बुझाइ छ । भन्छिन्, ‘मिहिनेत गरेर अन्तर्राष्ट्रिय खेल खेल्दै जित्दै गएमा अझै माथि पुग्न सक्छु भन्ने विश्वास छ ।’

सन् २०२४ को पेरिस ओलम्पिकलाई मध्यनजर गरी प्रदान गरिएको यो छात्रवृत्तिले अन्तर्राष्ट्रिय प्रशिक्षणदेखि प्रतियोगिता खेल्न नेपालबाट उनीहरू प्राथमिकतामा पर्नेछन् । रशिलाले पनि यो अवसर उपयोग गरी ओलम्पिकमा छनोट हुने लक्ष्य राखेकी छन् । साढे पाँच फिट उचाइकी यी किशोरीले सबैको साथ पाएमा ओलम्पिकमा मेडल ल्याउने धोको रहेको सुनाइन् ।

जुनियरतर्फ धेरै विधामा एकसाथ प्रदर्शन गर्दाको दबाव बुझेर सिनियरमा एकलतर्फ मात्र जोड दिने रशिलाको योजना छ । यही वर्षदेखि राष्ट्रियस्तरको प्रतियोगितामा सिनियरतर्फ ‘जम्प’ गरेकी उनले हालै सम्पन्न प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । अघिल्लो महिना एघारौं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ प्रतियोगितामा आफ्नै क्लबकी अनुमाया राईसँग व्यहोरेको हारको बदला लिइन् ।

‘जुनियरमा एकल, डबल र टिम इभेन्टमा पनि खेल्ने गरेकी थिएँ । धेरै इभेन्टमा एकैपल्ट खेल्दा अप्ठेरो हुने रहेछ । अब सिनियरमा चाहिं एकलतर्फ मात्र केन्द्रित हुने सोचमा छु’ उनले भनिन्, ‘एउटा इभेन्टमा मात्र केन्द्रित हुँदा खुलेर खेल्न पाउँछु ।

एकै क्लबका तीन खेलाडीबीच ‘ब्याटल’

उनी विभागमा आवद्ध भएको आठ वर्ष भयो । उनी पूर्ण रूपमा त्रिभुवन आर्मी क्लबको उत्पादन हुन् । सिनियर खेलाडीद्वय अमिता गिरी र अनुमाया राई तथा प्रशिक्षकको रूपमा पूर्व च्यम्पियन सरादेवी तामाङकै खेल र साथमा हुर्किएकी हुन् । ‘दाइ–दिदीबाट सिकाउनुहुन्थ्यो । उहाँहरूको अनुभवले धेरै सहयोग भयो, खेलाडी भएर खेलाडीको कुरा बुझ्नुहुन्छ’, रशिलाले भनिन् ।

अहिले उनीहरूलाई नै हराउन सक्ने भइसकेकी छन् ।  घरेलु ब्याडमिन्टनमा अमिता, अनुमाया र रशिलाबीच कोर्टमा लडाईं भने दर्शनीय हुने गर्छ । ‘कोर्टभित्र त हामी प्रतिस्पर्धी हौं । कहिले म जित्छु, कहिले दिदीहरूले जित्नुहुन्छ’ रशिला भन्छिन्, ‘बाहिर त म सबैको बहिनी हुँ, सबैले माया गर्नुहुन्छ ।’

‘प्रतियोगिता जितेको पैसाले किट किनेर खेल्दैछु’

नेपालमा कुनै पनि खेलका खेलाडीलाई व्यावसायिक वातावरण छैन । खेलाडीले आफूले सक्ने बेलासम्म खेल्छन्, त्यसपछि वैकल्पिक बाटो रोज्न पुग्छन् । प्रतियोगिता खेलेको पैसाबाट खेल सामग्री किनेर खेल्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय टोलीको प्रशिक्षणको बेला एशोसिएसनले सटलर दिन्थ्यो । कोरोना महामारीपछि त्यो सुविधा बन्द भयो । राष्ट्रिय खेलाडीले पनि आफैंले खर्च गरेर प्रशिक्षण गर्नुपर्ने अवस्था छ । क्लब सेभेन ब्याडमिन्टन कोर्टमा आफ्नै खर्चमा प्रशिक्षण गरिरहेकी रशिला भन्छिन्, ‘कपडा, जुत्ता र र्‍याकेट वर्ष दिनलाई नै पुग्छ । पैसा भएको बेला एकै पटक धेरै सटलर किनेर ल्याउँछु ।’

२०१६ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकी उनले दुई वर्षभित्रमै महत्वपूर्ण प्रतियोगिता खेल्ने मौका पाइन् । १३ वर्षको उमेरमा सन् २०१८ मा इन्डोनेसियामा भएको एशियन गेममा सहभागी भइन् । उनले टिम गेम र डबल्स गरी दुई खेल खेलेकी हुन् । टिम गेममा माल्दिभ्सको टिमसँग खेलेकी उनले डबल्समा अमिता गिरीसँग दक्षिण कोरियासँग खेलेकी थिइन् ।

नेपालमा भएको १३औं दक्षिण एशियाली खेलकुद(साग)मा टिम इभेन्ट्सतर्फ काँस्य पदक जितेकी थिइन् ।

तर नियमित घरेलु प्रतियोगिता नहुने र सीमित अन्तर्राष्ट्रिय एक्स्पोजरका कारण रशिलाले ब्याडमिन्टनमा भविष्य देखेकी छैनन् । ‘ब्याडमिन्टनमा भविष्य छैन । तर, खेल छोड्न पनि मन छैन’ रशिला भन्छिन्, ‘नेपालमा कुनै पनि खेलकुदलाई महत्व दिइन्छ जस्तो लाग्दैन । विदेशमा भए खेलको आधारमा डिग्री दिइन्छ । नेपालमा जे जस्तो भए पनि पढ्नैपर्छ । पढ्न र खेलको सन्तुलन मिलाउन उस्तै गाह्रो ।’

आइडल मोडलमा कक्षा १२ मा व्यवस्थापन विषय लिएर पढिरहेकी रशिलालाई १० वर्षको हुँदासम्म खेल नै सबथोक हो, खेलमा नै जीवन बिताउँछु भन्ने लाग्थ्यो । जब नेपाली खेलकुदलाई नजिकबाट बुझ्न थालिन्, त्यसपछि पढाइ नभई केही हुँदैन भन्ने लाग्न थाल्यो । नेपालमा खेलाडी र खेलकुदको अवस्था देखेर कहिलेकाहीं विदेशिनुपर्ने पो हो कि भन्ने डरले सताउन थालेको छ । तर, रशिलाको तत्कालै विदेश पलायन हुने सोच छैन ।

ब्याडमिन्टनमा रशिलाको प्रदर्शन

जुनियरतर्फ

चौथो पुष्पलाल मेमोरियल वि.सं. २०७१

यू–१५ एकलतर्फः तेस्रो

पाँचौं पुष्पलाल मेमोरियल वि.सं. २०७३

यू–१७ एकलतर्फ तेस्रो

छैटौं पुष्पलाल मेमोरियल वि.सं. २०७४

यू– १५ एकलतर्फ तेस्रो

यू–१७ एकलतर्फ तेस्रो

सातौं पुष्पलाल मेमोरियल वि.सं. २०७५

यू–१५ एकलतर्फ उपविजेता

आठौं पुष्पलाल मेमोरियल वि.सं. २०७६

यू–१७ एकलतर्फ विजेता

नवौं पुष्पलाल मेमोरियल वि.सं. २०७७

यू–१७ एकलतर्फ विजेता

दशौंं पुष्पलाल मेमोरियल वि.सं. २०७८

यू–१७ महिला एकलमा विजेता

यू–१७ महिला डबल्समा विजेता

सिनियरतर्फ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिप–२०७४

एकलतर्फ तेस्रो

टिम इभेन्ट्समा विजेता

१५ औं कृष्णमोहन मेमोरियल खुल्ला राष्ट्रिय प्रतियोगिता २०७५

एकलतर्फ विजेता

आठौं राष्ट्रिय खेल २०७६

एकलतर्फ विजेता

डबल्सतर्फ तेस्रो

टिम (आर्मी) उपविजेता

आठौं पुष्पलाल मेमोरियल २०७६

एकलमा उपविजेता

डबल्समा तेस्रो

नवौं पुष्पलाल मेमोरियल २०७७

एकलतर्फ विजेता

डबल्समा उपविजेता

दशौं पुष्पलाल मेमोरियल २०७८

एकलतर्फ उपविजेता

पहिलो प्रधानमन्त्री च्याम्पियनपसिप

एकलतर्फ उपविजेता

पहिलो रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप

एकलतर्फ प्रथम

एघारौं पुष्पलाल मेमोरियल च्याम्पियनसिप २०७८

एकलतर्फ उपविजेता

डबल्समा प्रथम

भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिप २०७८

एकलमा प्रथम

अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धि

बंगलादेश इन्टरनेशनल जुनियर च्यालेन्ज २०१६– डबल्सतर्फ तेस्रो

दोस्रो अन्नपूर्ण इन्टरनेशनल सिरिज–२०७५

यू–१९ एकलतर्फ विजेता

सिनियर एकलतर्फ उपविजेता

सार्क रिजनल यू–२१ प्रतियोगिता २०१७

टिममा उपविजेता

मिक्स्ड डबल्समा तेस्रो

सार्क रिजनल यू–२१ प्रतियोगिता २०१८

टिममा उपविजेता

मिक्स्ड डबल्समा तेस्रो

नेपाल प्रेसिडेन्टल कप अन्तर्राष्ट्रिय प्रतियोगिता २०१८

यू–१५ एकल र डबल्स दुवैतर्फ विजेता

यू–१९ एकलतर्फ उपविजेता

सार्क रिजनल यू–२१ प्रतियोगिता २०१९

मिक्स्ड डबल्समा तेस्रो

टिममा तेस्रो

१३औं दक्षिण एशियाली खेलकुद २०१९

टिम इभेन्ट्समा काँस्य

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?