+
+

काष्ठमण्डप : मूर्ति विवाद अदालतमा, लोकार्पण गर्दै राष्ट्रपति

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ चैत २० गते २१:४०
काष्ठमण्डपमा राखिएको गोरखनाथको पुरानो (बायाँ) र नयाँ (बाँया) मूर्ति

२० चैत, काठमाडौं । मूर्तिबारेको विवादकै नटुङ्गिंदै पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी नै सहभागी हुने गरी लोकार्पण कार्यक्रम तय भएपछि थप विवाद उत्पन्न भएको छ ।

काठमाडौं महानगगरपालिका वडा नम्बर २०ले लोकार्पण कार्यक्रम रोक्न माग गरेको छ । काठमाडौं महानगरपालिका, काष्ठमण्डप पुननिर्माण समिति, राष्ट्रपतिको कार्यालय, पुरातत्व विभाग लगायतलाई पत्राचार गर्दै वडाध्यक्ष राजेश मानन्धरले मूर्तिबारेको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा लोकार्पण गर्न नहुने बताएका छन् । सर्वोच्च अदातलले मूर्ति हटाउने कार्य नगरी यथास्थितिमा राख्न आदेश दिएको अवस्थामा लोकार्पण गर्न नहुने वडा कार्यालयले बताएको छ ।

२६ माघ २०७८मा पुनर्निर्मित काष्ठमण्डपको मूर्ति विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । अधिवक्ता समेत रहेका सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गरेर नित्य पुजा गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले नयाँ मूर्ति राख्ने कार्य तत्काल रोक्न भन्दै सरकारका नाममा कारण देखाउ आदेश पनि दिएको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै काष्ठमण्डपमा राखिएको नयाँ मूर्तिहरुको प्राणप्रतिष्ठा गर्ने तयारी रोकिएको थियो ।

वडा कार्याले कार्यक्रमको विरोमा लेखेको पत्र

अदालतको आदेशअनुसार हनुमानढोकाको भण्डारमा थन्काइएको मूर्ति काष्ठमाण्डपमा नै फर्काउनुपर्नेमा त्यसो नगरी लोकार्पण गर्न लागिएपछि सम्पदा अभियान्ता र स्थानीयहरु असन्तुष्ट छन् । यसले सम्पदा अतिक्रमणलाई सरकार र राष्ट्रपति कार्यालयबाटै स्वीकार गरिएको ठहरिने मत राखेका छन् ।

पुनर्निर्मित काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिएको छ । तर, यो कार्यले प्राचीन स्मारक संरक्षण ऐन मिचिएको, धार्मिक आस्थामा चोट पुर्‍याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिचिएको, संवैधानिक मौकिल हक हनन भएको दावी गर्दै अधिकारीले अदालतमा मुद्दा दायर गरेका छन् ।

काष्ठमण्डपमा गोरखनाथ र गणेशको मूर्ति टुटेफुटेको भन्दै पुनर्निर्माण समितिले नयाँ मूर्ति ल्याएपछि यसको समर्थन र विरोध दुवै भएको छ । कतिपयले पुरानो मूर्ति टुटेफुटेको र यस्ता मूर्ति पूजा गर्न नहुने मान्यता भएकाले नयाँ ल्याउनुलाई सही भनेका छन् । कतिपय स्थानीय र संरक्षणकर्मीले भने पुरानै मूर्ति राख्नुपर्ने धारणा राख्दै आएका छन् ।

पुननिर्मित काष्ठमण्डप

पुरातत्व विभागका अनुसार भूकम्पपछि क्षतिग्रस्त काष्ठमण्डपमा मूर्तिहरु सामान्य टुटेफुटेको अवस्थामा भेटिएका थिए । कतिपयले काण्ठमण्डप पुनर्निर्माणपछि ती मूर्तिलाई नै फर्काउनुपर्ने माग गरेपछि नयाँ मूर्ति राख्नुपर्ने पक्षमा रहेको मन्दिर पुनर्निर्माण समिति अप्ठेरोमा परेको थियो । तर, स्थानीय चुनावको संघार आएर काष्ठमण्डप लोकार्पण गर्न लागिएपछि त्यसको विरोध भएको छ ।

पुनर्निर्माण समितिका कोषध्यक्ष गौतम डंगोल भविष्यमा अदालतबाट हुने फैसलालाई मान्ने गरी लोकार्पण गर्न  लागिएको बताउँछन् । ‘पछि अदालतबाट जे फैसला हुन्छ, त्यसलाई स्वीकार्छौं,’ उनले भने,’तर, बनिसकेको काष्ठमण्डप अदालतमा मुद्दा छ भनेर बन्द गरेर राख्नु उचित हुँदैन भनेर खुला गर्न लागिएको हो ।’ उनका अनुसार लोकार्पाणपछि काष्ठमण्डप सार्वसाधरणका लागि खुला हुनेछ ।

तर, पुरानो मूर्ति नफर्काइ लोकार्पण गर्न लागिएपछि सम्पदा अयिान्ताहरुले असन्तुष्टि पोखेका छन् । उनीहरुले राष्ट्रपति भण्डारीलाई कार्यक्रममा सहभागी नहुन र स्थगित गर्न आग्रह गरेका छन् ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न पाइँदैन । पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?