+
+

राजु र दीया सगरमाथा आरोहणमा, ६,५०० मिटरको उचाइमा राजुले कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १४:०४

काठमाडौं । गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए ।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् । विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ ।

उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चाहिं चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले दीयाले हिमाल आरोहण गर्न लागेकी हुन् ।

‘नेपाली हिमाल र हिमनदी पग्लिएका छन् । यो नेपालको मात्र मुद्दा होइन, यसमा विश्वकै ध्यान आकृष्ट हुनु जरुरी छ,’ गायक लामाले अनलाइनखबरसँग भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटत प्रबर्द्धन गर्नु र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको हुँ ।’

गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् । लामाले कन्सर्टका लागि गितार लिएर हिमाल चढ्ने बताए ।

मन्त्री आलेले दुवै सेलिब्रिटी आरोहीलाई सघाउन सरकार तयार रहेको बताए । ‘उहाँहरुले मागेको सहयोग दिन सरकार तयार छ,’ मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला ।’

सरकारले चाँडै सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको समेत मन्त्री आलेले जनाए । बढीभन्दा बढी पर्यटकलाई नेपाल ल्याउन ओडीसी इन्टरटेनमेन्टसँग मिलेर बलिउड अभिनेता सलमान खानको कार्यक्रम गर्न लागिएको समेत मन्त्री आलेले बताए ।

कार्यक्रममा उपस्थित फिल्म निर्देशक मिलन चाम्स, पाइलट तथा अभिनेता विजय लामा, पर्वतारोही क्षेत्रका प्रतिनिधिले पनि लामा र पुनलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?