+
+
'ए मेरो हजुर ४'को पत्रकार सम्मेलन :

‘अनमोलको अभिनयले आलोचकको मुख बन्द गर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १६:२५

काठमाडौं । वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ अहिले चर्चामा छ । सोही मितिमा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को दोस्रो सिक्वेल पनि आउने भएपछि माहोल गर्माएको छ ।

रिलिज मिति नजिकिंदै जाँदा सबै कलाकारको उपस्थितिमा फिल्मले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ । जहाँ निर्देशक झरना थापादेखि कलाकारहरु अनमोल केसी र सुहाना थापा समेत उपस्थित थिए ।

पत्रकार सम्मेलनमा अनमोल स्टारडमलाई लिएर केही बदलिएको मुडमा सुनिए । ‘जतिबेला म फिल्म इन्डष्ट्रीमा थिएँ । मलाई स्टारको भ्यालु नै थाहा थिएन । तपाईंहरुले नै स्टार बनाइदिनुभयो । अहिले आएर स्टारको दायित्व महसुस गरेको छु,’ उनले भने ।

निर्देशक थापाले आफूलाई अनमोलको स्टारडमभन्दा फिल्ममा भरोसा रहेको बताइन् । ‘निश्चय नै अनमोल स्टार हुन् । यसमा शंका छैन । यसले फिल्मको भ्यालु थपेको छ । निर्देशकको रुपमा भन्नुपर्दा यसले जुन मनोरञ्जन मूल्य बोकेको छ । त्यो नै स्टार हो,’ उनले भनिन् ।

निर्माता सुनिलकुमार थापाले ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ले बराबर कमाइ गर्ने दाबी गरे । ‘फिल्मको लगानी उठ्ने भएरै मैले वैशाख १ लाई रिलिज डेट तोकेको हुँ,’ उनले भने, ‘मैले बनाएका फिल्ममध्ये उत्कृष्ट पनि यही चौथो सिक्वेल नै हो ।’

अनमोलको अभिनयले आलोचकको मुख बन्द गर्ने पनि निर्माता थापाले दाबी गरे ।

फिल्ममा अनमोल र सुहानाले प्रेमजोडीको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा सुहानालाई नेवार समुदायकी युवतीको भूमिकामा देख्न सकिन्छ । दर्शकलाई परम्परागत नलागोस् भनेरै ट्रेलरमा सोहीअनुसार चित्रण गरिएको सुहानाको भनाइ छ ।

दक्षिण भारतीय फिल्म ‘केजीएफ-२’को नेपाल रिलिज निश्चित गरिएपछि ‘ए मेरो हजुर ४’लाई बक्स अफिसमा चुनौती खडा भएको छ । सोही मितिमा हलिउड फिल्म ‘फ्यान्टास्टिक बिट्स : सेक्रेट्स अफ डम्बब्लेडोर’ समेत प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?