+
+

एमाले पार्टी मुख्यालय वैशाख १ गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने

रासस रासस
२०७८ चैत २१ गते १७:२१
फाइल तस्वीर

२१ चैत, काठमाडौँ । नेकपा एमालेको मुख्‍यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्‍यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।

कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते मुख्‍यालय सर्ने जानकारी दिए ।

कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ ।

अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए।

उनका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछ । पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ । तीन महिना लगाएर प्रि इञ्जिनीयर्ड पोर्टल संरचना विधिअनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिमतिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए ।

यस्तै मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ । एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि भवन भाडामा लिएको छ ।

यसैगरी नयाँ सर्न थालिएको भवनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ । पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहनेछ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहनेछ । पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्षले नियमित बैठक गर्न अलग्गै कक्षसमेत बनाइएको उनले जानकारी दिए ।

पार्टी अध्यक्ष र महासचिव रहेको पहिलो तलामा नै मदन भण्डारी स्मृति कक्ष (अति विशिष्ट कक्ष) बनाइएको छ । उक्त कक्षमा पार्टी अध्यक्षसँग जोडिएका महत्वपूर्ण बैठक र विशेष बैठक हुनेछन् ।

यस्तै पहिलो तलामा नै पार्टीको सचिवालय, स्थायी र पोलिटब्युरो बैठक गर्नका लागि पुष्पलाल स्मृति कक्ष बनाइएको छ । उहाँका अनुसार भुइँ तलामा अत्याधुनिक प्रविधिमैत्री मनमोहन स्मृति कक्ष (डिजिटल कक्ष) बनाइएको छ ।

उक्त कक्षबाट पार्टीको महत्वपूर्ण विषय सार्वजनिक गर्न र भर्चुअलरुपमा सातवटै प्रदेशबाट प्रशिक्षण सञ्चालन गर्न सकिन्छ । भुइँ तलामा नै कार्यालय सचिव, कार्यालय र तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय रहनेछ ।

पहिलो तलामा नै आर्थिक विभाग, प्रचार तथा प्रसार विभाग, विदेश विभाग, सङ्गठन विभाग र सल्लाहकार परिषद्का कार्यकक्ष रहनेछन् । यस्तै दोस्रो तलामा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसहित विभागका कार्यकक्ष रहनेछन् ।

विसं २०७२ मा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि एमाले पार्टी कार्यालय संरचनाका लागि घर भाडामा लिई सञ्चालन भइरहेको छ ।
भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनको घर भाडामा लिई सञ्चालन गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?