+
+
खुमलटारमा बेनीघाट रोराङका अध्यक्ष :

ओलीको हातबाट टीका लगाएका माओवादी नेताको युटर्न, भन्छन्- जनताको मायाले फर्किएँ

पार्टीभित्र एउटाको प्रगतिमा अर्को खुसी हुने कि रिस गर्ने ? मलाई केही साथीहरुले निरन्तर खेद्ने काम गरे । यसरी हामी कसरी गन्तव्यमा पुग्न सक्छौं ? साथीहरुले मलाई काममा सहयोग गर्ने कि कांग्रेस एमालेसँग मिलेर मलाई बाह्रै महिना बाह्रैकाल लखेटी मात्रै राख्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते ११:५३

२३ चैत, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गरेको भोलिपल्टै नेकपा माओवादी केन्द्रमा फर्किए ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका उनी मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् ।

डल्लाकोटी बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनले केही मान्छेको परिबन्धमा परेका बालकोट पुग्नु गल्ती भएको बताएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।

डल्लाकोटीको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । कार्यकर्ता र जनताप्रति  गर्व गर्छु र, म २ दिनमै घर फर्केको छु ।’

जवाफ प्रचण्डले ‘गल्ती गरे भनिसक्नुभो, अब काममा फर्कनुस्’ भनेका छन् ।

खुमलटारबाट फर्किएपछि अध्यक्ष डल्लाकोटीसँग अनलाइनखबरले गरेको कुराकानी–

म बुधबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगें । उहाँले ‘तपाईंले गल्ती स्वीकारिसक्नुभयो, अब काममा फर्कनुस्’ भन्नुभयो । पार्टीभित्र आन्तरिक जीवन बलियो बनाउनुपर्छ । जबजब निर्वाचन आउँछ, हाम्रो पार्टी आफ्नो एजेण्डा लिएर जनतामा जानेभन्दा कार्यकर्ता मिलाउन बढी व्यस्त हुनुपर्छ । यो समस्या छ । मैले पार्टीभित्र आफूले भोगेका समस्या अध्यक्ष प्रचण्डलाई राखें । गाउँपालिकामा पार्टी बनेको छ । तर, जिल्लामा केन्द्रको गठबन्धनभन्दा फरक ध्रुवीकरण हुने अवस्था विकास भइरहेको बारे पनि भनें ।

खासगरी पार्टीभित्रै केही साथीहरू जसले जनयुद्ध लड्नुभयो, उहाँहरूप्रति सम्मान छ । उहाँहरुले भोग्नुभएको दुःखप्रति सहानुभूति पनि छ । यो हाम्रो गर्व गर्न लायक इतिहास हो । यो हाम्रो इज्जत पनि हो, यसलाई त हामीले ग्रहण गर्न सक्नुपर्छ ।

म जनताको काम गर्न गएको हुँ, जनताको सेवक भएर गएको हुँ । म पार्टी बिगार्नभन्दा बनाउन गएको हुँ । मैले त्यहाँ पार्टी बिगारेको छैन । पार्टीभित्र एउटाको प्रगतिमा अर्को खुसी हुने कि रिस गर्ने ? मलाई केही साथीहरुले निरन्तर खेद्ने काम गरे । यसरी हामी कसरी गन्तव्यमा पुग्न सक्छौं ? साथीहरुले मलाई काममा सहयोग गर्ने कि कांग्रेस एमालेसँग मिलेर मलाई बाह्रै महिना बाह्रैकाल लखेटी मात्रै राख्ने हो ? साह्रै अपमानको अवस्था भएपछि मान्छेले स्वभाविक रूपमा विद्रोह गर्छ । तर पनि म संयमित भएको छु ।

मलाइ चुनाव जित्न समस्या होइन, म जनताको काम गर्ने मान्छे, म उहाँहरूको दुःख सुखसँग जोडिनसक्छु । यो पार्टी बनाउन समय र ऊर्जा खर्चिएको १६ वर्ष भयो । यो अवधिमा कुनै दिन पनि पार्टीको विरुद्धमा काम गरिएन । गर्न पनि मन लाग्दैन । तर पार्टी बनाउन मैले खेलेको भूमिकाको कुनै मूल्यांकन भएन । केही साथीहरूले एकोहोरो लखेटिरहे । डेढ दशकभन्दा लामो समय पार्टीभित्र लागिरहे पनि पार्टीमा हाम्रो स्वामित्व कमजोर हुने अवस्थाले मन दुखिहाल्छ । साथीहरुले नै घेराबन्दी गर्नुभयो । एक नम्बरमा दाग लगाउने, दुई नम्बरमा जसरी पनि ‘रिङ आउट’ गर्ने, तीन नम्बर टिकट नदिने र चार नम्बर टिकट दियो भने हराउने रणनीति बनाएको अवस्थामा पार्टीको हित सम्झिएर मैले आफूलाई सम्हालिनुपर्छ भन्ने लागिरहेको छ ।

मैले गएको चुनाव अगाडि पनि भनेको थिएँ । अरु कोही साथीले जित्छ भने म सघाउन तयार छु । चुनाव जित्न हामीले हाम्रो स्वभाव र शैली बदल्नुपर्छ । जनतासँग एकाकार भएर काम गर्नुपर्छ । उनीहरूको सुख दुःख बुझ्नुपर्छ । गत चुनावमा पार्टीको समानुपातिक मत ४ हजार आसपास आयो । मैले ६४१० मत ल्याएर चुनाव जितेको हुँ । अहिले पार्टीको मत धेरै नै बढेको छ ।

हामीले बुझ्नुपर्छ– आन्दोलन भनेको बाध्यता हो तर, शान्ति र विकास भनेको आवश्यकता हो । हामी अहिले बाध्यताबाट आवश्यकताको युगमा आइपुगेका छौं । यो युगमा हामीले सोहीअनुसार आफूलाई ढालेर लैजानुपर्छ । हामी ०६२ सालतिरै अल्झिएर चुनाव जित्न सकिंदैन । देश धेरै अगाडि बढिसकेको छ । चेतना धेरै अघि बढिसकेको छ । चुनाव जित्न जनताको मत जित्नुपर्छ । पार्टीभित्र बलियो हुनु र जनताको बीचमा बलियो हुनु फरक कुरा हो ।

हाम्रो पार्टी अध्यक्ष प्रचण्ड एकदमै चलाख हुनुहुन्छ । एमसीसी प्रकरणमा उहाँ गोञ्जालो बन्नबाट जोगिनुभयो । परिस्थितिलाई मिहिन रूपमा मूल्यांकन गर्दै उहाँ अगाडि बढ्न सक्नुहुन्छ । हामीले उहाँबाट सिक्न आवश्यक छ ।

कतिपयले चुनाव र टिकटको कुरा पनि गरिरहेका छन् । मेरो मान्यता एक जनाले चुनावमा एकपटक मात्रै अवसर पाउनुपर्छ भन्ने हो । एकजना एक पदको मान्यता पार्टीभित्र कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता अहिले पनि छ । एउटै साथीलाई नदोहो¥याउँदा मान्छे ‘फेयर्ली’ राजनीतिमा लाग्न सक्छ । तर जित्ने साथीले चुनाव उठ्नुपर्छ । किनकि पराजित हुँदा पार्टीको ५ वर्षको समय खेर जान्छ । हार्ने उम्मेदवारले नैतिक जिम्मेवारी लिनुपर्छ ।

गत चुनावमा पनि उठ्ने मेरो रहर होइन । साथीहरूलाई दिलो ज्यान दिएर सघाउँछु भनेको थिएँ । तर साथीहरूलाई सघाउँछु भन्दा कसैले गरेको योगदानलाई अवमूल्यन र अपमान नगर्नुस् भन्ने मेरो आग्रह थियो । तर मैले दुःखका साथ अहिले सम्झना गरिरहेको छु– चुनावी मोर्चाको नेतृत्व गरेको कमरेडले नै मैले चुनाव जित्दा टीका लगाइदिनु भएन । चुनावी मोर्चाको नेतृत्व गर्ने साथीले अविर लगाइदिनु पर्दैन ? मलाई चुनावमा कति सहयोग भयो होला ? यो असहज अवस्थामा म थप कुरा गर्न चाहन्नँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?