+
+

‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्रा नेपाल आउँदै, काठमाडौंमा प्रशिक्षण दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १३:४५

काठमाडौं । भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउने भएका छन् । दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी वैशाख ९ गते काठमाडौं आउन लागेका हुन् ।

जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा विन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ । जसमा सर्वसाधारण र विभिन्न पेशामा कार्यरत व्यक्तिहरुले सहभागिता जनाउन सक्ने आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए ।

विन्द्राको नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकास गर्नु रहेको अध्यक्ष डुम्रेले बताए । उनले कोरोना महामारीबाट संकटग्रस्त बनेको उद्योग–व्यवसायको पुनरुत्थान, गहिरिंदो तरलता अभाव, यसका कारण र समाधानमा केन्द्रित भएर प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेपालमा उनको प्रशिक्षणमा सहभागी हुन ८ हजारदेखि २० हजार रुपैयाँसम्मको टिकटदर तोकिएको अध्यक्ष डुम्रेले बताए । कार्यक्रममा उद्यमी व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कुल, कलेज, अन्य उद्योग व्यवसायका अध्यक्ष, सञ्चालक एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, वैशाख ११ गते होटल हायात प्लेस ताहाचलमा विन्द्राले राउण्ड टेबल छलफल गर्ने कार्यतालिका छ । सो प्रशिक्षणमा सिनियर एक्ज्युकेटिभ, विभिन्न व्यवसायीहरु लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीलाई प्रशिक्षण दिने कार्यक्रम छ । यसमा सहभागी हुन २५ हजारदेखि ३५ हजारसम्मको टिकट दर तोकिएको छ । विन्द्रालाई पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविरसम्म माउन्टेन फ्लाइट गराउने योजना भएपनि यसको कार्यक्रम तय नभइसकेको उनले बताए ।

को हुन् विवेक बिन्द्रा ?

विवेक विन्द्रा एक सफल व्यावसायिक प्रशिक्षक र प्रेरक वक्ता हुन् । उनले लाखौं मानिसलाई सकारात्मक बन्न प्रेरित गर्ने गरेका छन् । हरेक सफल व्यक्तिको सफलताको कथा हुन्छ, संसारमा जति सफल व्यक्तिहरू छन्, उनीहरु कठिन समयमा मेहनत गरेर जीवनमा ठूलो स्थान हासिल गरेका छन् । त्यसैगरी विवेक विन्द्रा आफ्नो कठिन परिस्थितिबाट बाहिर आएर कसरी मोटिभेसनल वक्ता बने त ? यसबारेमा यहाँ चर्चा गरिंदै छ ।

विवेक विन्द्राको जन्म ५ अप्रिल १९८२ मा भारतको उत्तर प्रदेशको लखनउमा भएको थियो । विन्द्रा साढे दुई वर्षको हुँदा बुबाको मृत्यु भएको थियो भने उनकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरबुवा र काकीसँग बसे । उनीहरूले नै विवेक विन्द्रालाई हुर्काएका हुन् ।

विन्द्रा सुरुदेखि नै पढाइमा अब्बल थिए, उनले प्रारम्भिक शिक्षा लखनउबाटै लिएका हुन् । १६–१७ वर्षको उमेरदेखि नै उनले बालबालिकालाई प्रशिक्षण दिन थालेका थिए । पछि दिल्ली गएर उनले एमएटीमा अध्ययन सुरु गरे । बिजनेस कलेजबाट एमबीए डिग्री सकेका उनी खेलकुदमा पनि धेरै रुचि राख्थे । उनी भन्ने गर्छन्, ‘हामी जसरी खेल खेल्छौं एकपटक असफल भए फेरि जित्ने आशा राख्छौं, त्यसरी नै जीवनमा पनि आशा जगाइराख्नुपर्छ । त्यसैले कहिल्यै पनि हार मान्नु हुन्न भन्ने उनको मत छ ।

विवेक विन्द्राले जब एक्लो महसुस गरे, त्यसपछि उनी वृन्दावन गएर भिक्षुको भेषमा जीवन जिउन थाले । उनले त्यहीं चार वर्षसम्म श्रीमद्भागवत गीताको अध्ययन पनि सुरु गरे ।

विन्द्रा आफ्नो सफलताको श्रेय श्रीमद्भागवत गीतालाई दिन्छन् । उनी भन्छन्, ‘श्रीमद्भागवत गीता कुनै धार्मिक पुस्तक होइन । यसले सन्तुष्ट जीवन जिउने कला सिकाउँछ, मैले पनि सम्पूर्ण व्यवसायको ज्ञान भागवत गीताबाट लिएको हुँ ।’

व्यावसायिक प्रशिक्षक हुनुअघि उनी बालबालिकालाई तालिम दिने गर्थे । साथै, स्टेसनरीको व्यवसाय पनि गर्थे । जब उनी एक प्रेरक वक्ता र सफल व्यवसाय कोच बन्न चाहन्थे, त्यतिबेला उनीसँग अफिस खोल्ने पैसा पनि थिएन । उनले एउटा सानो कार्यालय लिएर सबै काम आफैं गर्न थाले ।

जीवनमा ठूलो सफलता चाहनुहुन्छ वा जीवनमा ठूलो बन्न चाहनुहुन्छ भने त्यसको एउटै रहस्य हो मेहनत । यही मेहनत गर्न सिकाउने विन्द्रा आफ्नो प्रशिक्षणका लागि नेपाल आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?