
२३ चैत, गोरखा । हिंसा पीडितलाई लक्षित गरी शुरु गरिएको अनुदान रकम वितरण कार्यलाई गोरखा नगरपालिकाले यसवर्ष पनि निरन्तरता दिएको छ ।
पीडितको जीविकोपार्जन र न्यायिक उपचारमा सघाउ पुर्याउने उदेश्यका साथ नगरपालिकाले २०७६ सालमा कार्यविधि बनाएर कार्यक्रम लागू गरेको हो ।
गत बर्ष दश जनालाई अनुदान वितरण गरेको नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म १८ जना हिंसा पीडितलाई अनुदान रकम उपलब्ध गराइसकेको छ । अनुदान पाउनेमा १७ जना महिला र एकजना पुरुष छन् ।
उनीहरुलाई जनही दश हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाका शोभा दवाडी प्रधानले बताइन् । वुधवार मात्रै गोरखा नगरपालिका वडा नम्वर २ का दुई जना पीडित महिलालाई अनुदान रकम वितरण गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले उनीहरुलाइ नगद हस्तान्तरण गरेका हुन् । चालु आर्थिक बर्षको हालसम्म गोरखा नगरपालिका वडा नम्वर २ का दुई जना, वडा नम्वर ५ का ६ जना, वडा नम्वर ७ का सात जना र वडा नम्वर ४, १२ र १३ का एक÷एक जनालाई अनुदान वितरण गरिएको प्रधानले जानकारी दिइन् ।
अनुदान वितरणका लागी गोरखा नगरपालिकाले हिंसा पीडित उद्धार अनुदान सञ्चालन कोष निर्माण गरेको छ । उपप्रमुख विना कुमारी श्रेष्ठको संयोजकत्वमा हिंसा पीडित उद्धार कार्यक्रम अनुदान वितरण समिति पनि गठन गरिएको छ ।
पीडितको निवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा समितिले अनुदान रकम वितरण गर्दै आएको छ । उपप्रमुखको एकल निर्णयले पाँच हजारसम्मको रकम उपलब्ध गराउन मिल्ने र त्यो भन्दा बढी रकम उपलब्ध गराउनुपरेमा समितिको बैठक बसेर निर्णय गर्नुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।
अनुदान रकमका लागी सम्बन्धित वडा कार्यालयमा निवदेन बुझाउन पीडितहरुलाई नगरपालिकाले आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया 4