+
+

माटो जोगाऔं, युगीन दायित्व पूरा गरौं

डा. लक्ष्मी देवकोटा डा. लक्ष्मी देवकोटा
२०७८ चैत २३ गते २०:२७

यस धर्तीमा उपलब्ध प्राकृतिक संसाधनहरूमा मूलतः हावापानी, ढुङ्गामाटो, वनस्पति तथा खानीजन्य वस्तुहरू पर्दछन् । जीवजन्तु तथा मानिसहरूको दिगो अस्तित्वका लागि यी संसाधनहरू गुणस्तरीय रूपमा र आवश्यक मात्रामा सधैं उपलब्ध भइरहनुपर्दछ ।

अन्यथा पारिस्थितिक चक्रमा गडबडी उत्पन्न हुन पुगी आमरूपमा जीवजन्तुको र विशेषगरी मानवजातिको अस्तित्व खतरामा पर्न जानेछ (चित्र १) । परन्तु, पारिस्थितिक चक्रलाई सन्तुलित रूपमा चलिरहने परिवेश सृजना गर्ने वा नगर्ने कुरा हामी मानवजातिद्वारा हुने क्रियाकलापहरूमा निर्भर रहन्छ ।

माथि उल्लेखित संसाधनहरूमध्ये यस लेखमा माटोको महत्व र यसको गुणस्तर नखस्किने गरी किन जोगाइराख्न जरुरी छ भन्ने बारेमा छोटो चर्चा गरिएको छ । साथै, माटोको गुणस्तर कसरी जोगाइराख्ने वा बिग्रिसकेको माटोलाई कसरी क्रमशः गुणस्तरीय बनाउँदै जाने भन्ने विषयमा पनि यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

स्रोतः कम्पोनेन्ट्स अफ इकोसिस्टम (चित्र १. पारिस्थितिक चक्र)

माटोका महत्व

पृथ्वीमा विद्यमान माटोमा हुने वा गरिने मूलभूत कार्यहरूलाई आम रूपमा निम्नानुसार बुँदाहरूमा समेट्न सकिन्छ (चित्र २) ।

क. यस जगतमा रहेका सम्पूर्ण प्राणीहरूको बासस्थानको आधार माटो हो ।

ख. रुखबिरुवा, घाँसपात जस्ता सबै किसिमका वनस्पतिहरूको आधार (जराहरूको सपोर्ट), उनीहरू हुर्कन तथा बढ्नका लागि आवश्यक पानी तथा पौष्टिक तत्वहरूको स्रोत माटो नै हो ।

ग. सूक्ष्म जीवजन्तुदेखि ठूलाठूला प्राणीहरू तथा मानिसहरूले खाने अन्नबाली, फलफूल तरकारी जस्ता खाद्यवस्तुहरूको उत्पादन तथा मानिसहरूले लगाउने कपडाको स्रोत पनि यही माटो हो ।

घ. काठ, खनिज पदार्थ जस्ता मानिसकाहरू लागि चाहिने कच्चा पदार्थको स्रोत माटो हो ।

ङ. हामी बस्ने घरहरू, औद्योगिक उत्पादन तथा बन्द व्यापार गर्ने भवनहरू, आवतजावत गर्न बनाइएका सडक/पुलपुलेसाहरू, जलसञ्चय गर्न बनाइने ड्यामहरू, एक स्थानबाट अर्को स्थानमा पानी लैजान बनाइने नहरहरू जस्ता इन्जिनियरिङ कार्यहरूको लागि आवश्यक निर्माण सामाग्रीहरूको स्रोत तथा यी पूर्वाधारहरूको आधार पनि माटो नै हो ।

च. हामीले सिंचाइ गर्नका लागि होस् वा पिउनको लागि वा अन्य प्रयोजनका लागि आवश्यक पानीको भण्डारण माटोमा नै हुन्छ, फोहर पानीलाई माटोले शुद्धीकरण गरिदिन्छ । सुख्खा याममा हाम्रा नदीहरूमा बग्ने पानी, धारा तथा कुवाहरू तथा इनारमा जमिन रसाएर आउने सफा पानी, यी सबै माटोको पानी भण्डारण, प्रसारण र शुद्धीकरण गर्ने क्षमताका कारणले नै सम्भव भएको हो ।

छ. वर्षायामको बाढी कम गर्न पनि माटोले मद्दत पुर्‍याइरहेको हुन्छ । वर्षा भइरहेको बेलामा पानी जमिनमा पर्दछ, यसरी परेको पानीको एक भाग जमिनले शोषण गर्दछ । यसले गर्दा परेको सबैपानी नदी खोलानालामा पुग्नबाट माटोले रोक्दछ । यसरी माटोले पानी सोस्नाले एकातिर नदीनालामा आउने बाढी कम हुनजान्छ भने अर्कोतर्फ, यसरी शोषिएर भण्डारण भएको पानी जमीनमा रहेका सूक्ष्म जीवहरूको लागि, बोटबिरुवाको लागि उपयोगमा आउँछ । साथै माथि भनिएझै यही पानी माटोबाट निःसृत हुनेहुनाले (चुहिएर बहिर आउनाले) पानी नपरेको बेलामा नदीनाला, धाराकुवामा पानी आउन सकेको हो ।

ज. वातावरण शुद्धीकरणमा पनि माटोको ठूलो भूमिका हुन्छ । हामीले फ्याकेका फोहोरमैला, मरेका जीवजन्तु तथा रुखपातहरूलाई माटोमा रहेका ब्याक्टेरिया, ढुसी तथा सानामसिना किराहरूले विघटन गरी सरल तत्वहरूमा परिणत गरिदिन्छन् । यी सरल तत्वहरू नै बोटबिरुवा तथा सूक्ष्मजीवहरूको आहार हो ।

झ. मठ मन्दिर, पाटी पौवा जस्ता हाम्रा सांस्कृतिक धरोहरहरू जमिनमा नै रहेका हुन्छन् ।

ञ. पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्‍न पनि माटोले मद्दत पुर्‍याउँदछ ।

ट. कार्बन संचय माटोले गर्ने अर्को महत्वपूर्ण कार्य हो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार माटोको माथिल्लो ३० सेन्टी मिटर (एक फिट) को तहले वायुमण्डलमा भएको कार्बनको दुई गुणा संचित गरिरहेको हुन्छ । वायुमण्डलबाट समुद्र पछिको धेरै कार्बनडाइ अक्साइड शोषण गरेर राख्ने माटोले हो । यसबाट जलवायु परिवर्तन रोक्नमा समेत माटोको अहम् भूमिका रहेको स्वतः स्पष्ट हुन्छ ।

चित्र साभारः रे आर. वइल (चित्र २ माटोको उपयोगिता)

माथिका सबै कार्यहरू माटोमा हुन वा माटोबाट पाउन माटो गुणस्तरीय हुन जरुरी हुन्छ । माटोको प्रयोजनका आधारमा गुणस्तरीय माटो हो वा होइन भन्ने कुरा निर्धारण हुन्छ । आमरूपमा जीवजन्तु तथा वनस्पतिहरूको जीवनयापनका लागि आवश्यक तत्वहरू भएको, वायु तथा पानीको गुणस्तर बढाउन तथा वातावरणलाई स्वच्छ राख्न मद्दत पुर्‍याउने, मानिस लगायत जीवजन्तुहरूको स्वास्थ्यमा प्रतिकूल असर नगर्ने, कृषिजन्य उत्पादनशीलता बढी रहेको तथा माटोजन्य कार्यका लागि उपयुक्त माटोलाई गुणस्तरीय माटो भनिन्छ ।

माटोलाई किन जोगाउनुपर्दछ ?

१. माटोमा हुने वा गरिने कार्यको निरन्तरताको लागि

माथिको परिच्छेदमा उल्लेख गरिएका माटोको महत्वका पक्षपाटाहरूलाई केलायौं भने यसको गुणमा कुनै प्रकारको ह्रास नआउने गरी संरक्षण गर्नुपर्ने कुरा सहजै बुझ्न सकिन्छ ।

२. उर्बर माटो बन्न सयौं वर्ष लाग्ने भएकाले

पृथ्वीमा रहेका साना ठूला चट्टानहरू विघटन भएर (खिइएर वा टुक्रिएर) बनेका साना मसिना कणहरूमा जैविक पदार्थहरू मिसिएपछि बन्ने समिश्रणलाई माटो भनिन्छ । आम रूपमा माटोमा ५०-६० प्रतिशत चट्टानीकणहरू, १-५ प्रतिशत जैविक पदार्थ र ३५-४० प्रतिशत जति हावापानी रहने सूक्ष्म छिद्रहरू हुन्छन् । अन्नबाली, फलफूल, तरकारी जस्ता उपभोग्य खाद्य पदार्थ उत्पादन हुने १ सेन्टीमिटर माटो बन्न सालाखाला ३०० वर्ष लाग्दछ । यसप्रकारले लामो समय लागेर बनेको माटो खेर गयो वा बिग्रियो भने फेरि त्यस्तै माटो बन्न वर्षौं वर्ष लाग्ने भएकाले माटोलाई जोगाउन जरुरी छ ।

३. सूक्ष्मजीव हत्या मात्र नभएर सन्तति हत्याको पापबाट बच्न

यस जगतमा जति पनि जीवित प्राणीहरू छन्, ती मध्ये ८७ प्रतिशत भन्दा बढी जमीन माथि वा जमिन मुनि माटोमा रहेको पाइन्छ । एक चम्चा गुणस्तरीय माटोमा अहिले विश्‍वभर भएका मानिसहरूको सख्या भन्दा बढी सूक्ष्म जीवहरू बस्दछन् । माटोको गुणस्तर बिग्रियो भने, यी जीवहरू बाँच्न सक्दैनन् । ठूलो होस् वा सानो कुनै पनि प्राणीको जीवन जीउने वातावरण सृजना गरिदिनु सचेत प्राणीको नाताले हामी मानिसको दायित्व हुनजान्छ । अर्कोतर्फ, यी सूक्ष्मजीवहरू सबै रहेनन् भने वनस्पति, अन्नपातको खुराक माटोमा तयार हुनेछैन । अन्नबाली नभएपछि खाना खान नपाएर हाम्रा सन्ततिहरूको जीवन जोखिममा पर्नेछ, वनस्पति विना श्वास फेर्न चाहिने अक्सिजन पनि पाउने छैनन् । सबै नाश हुनेछन् । यो पृथ्वी खण्डहरको रूपमा मात्र रहनेछ ।

४. माटोको दुरवस्थाः विश्‍व तथा राष्ट्रिय परिवेश

अ. उर्वर माटोको आवश्यकता

अहिले विश्‍वको जनसंख्या ७.९ अर्ब छ जुन अबको ३० वर्षपछि ९.७ अर्ब पुग्दैछ । अहिले पनि विश्‍वका करिब १० प्रतिशत जनसंख्या भोकमरीमा छन् अर्थात् संसारका एक अर्बजति मानिस राती भोकै सुत्छन् । मानिसको लागि उपलब्ध खाद्य पदार्थको ९५ प्रतिशत भन्दा बढी खाद्यपदार्थ जमिनबाट मात्र उत्पादन हुने गरेको पाइन्छ । यी तथ्यहरूलाई मध्यनजर राख्दा आगामी दशकमा खाद्यवस्तुहरूको उत्पादन ६०-७० प्रतिशतले वृद्धि गर्दै लैजानुपर्ने देखिन्छ ।

आ. विश्‍वको माटोको अवस्था

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको अनुसार अहिले नै विश्‍वको खेतीयोग्य जमिनको आधाभाग भन्दा बढी (५२ प्रतिशत) को माटो अन्नबाली राम्रोसँग उब्जाउन नसक्ने किसिमले गुणस्तरहीन भैसकेकोछ । यति मात्र नभएर प्रति वर्ष औसतमा १.२ करोड हेक्टर भन्दा पनि बढी बिग्रिरहेको पाइन्छ । विश्व खाद्य तथा कृषि संगठनका अनुसार यही अनुपातमा माटो बिग्रँदै जान दिने हो भने आगामी ६० वर्षमा विश्‍वमा खेती गर्न लायक जमीन बाँकी नै रहने छैन ।

कृषियोग्य जमिनबाट राम्रो फसल (अन्‍नपात, तरकारी आदि) उत्पादन हुन माटोमा ३ प्रतिशत जैविक पदार्थ हुनुपर्दछ । परन्तु, यो मात्रा विश्‍वको माटोमा एकदम कम रहेको पाइन्छ । उदाहरणका लागि दक्षिण यूरोपका ७४ प्रतिशत कृषि योग्य जमिनमा २ प्रतिशत भन्दा कम जैविक पदार्थ रहेको पाइन्छ । भारतको हकमा यो मात्रा ०.५ प्रतिशत भन्दा पनि कम छ ।

इ. नेपालको माटोको अवस्था

वर्षायामको पानीले नेपालबाट वर्षेनी २४ करोड घनमिटर माटो बगेर खेर गइरहेको अनुमान गरिन्छ । खेतीयोग्य जमीनमा हरेक वर्ष धान, धान पछि गहु, त्यसपछि मकै र फेरि उही धानको खेती चक्रीय रूपमा हुने गरेका कारणले नेपालको माटोको उर्वरा शक्ति हेरक क्रमशः वर्ष घट्दै गइरहेको छ । मुलुकको खेती योग्य जमीनमा न्यूनतम जैविक कार्बन २ प्रतिशत हुनुपर्दछ ।

जैविक कार्बनको मात्रा माटोमा यो भन्दा कम भयो भने उक्त जमीनमा कृषि उत्पादन हुनपर्ने जति हुँदैन । तर, अन्नको भण्डार भनिने तराईको जमीनको ९५ प्रतिशत भन्दा बढी क्षेत्रफलमा त्यो न्यूनतम २ प्रतिशत पनि जैविक कार्बन छैन ।

त्यसैगरी यदि माटोमा जैविक पदार्थको मात्रा ३ प्रतिशतभन्दा बढी छ भने त्यसलाई खेतीपातीको लागि राम्रो माटो मानिन्छ । यस्तो माटो नेपालको हकमा जम्मा केवल ४ प्रतिशतको हाराहारीमा रहेको छ । यदि यो मात्रा १ प्रतिशत भन्दा पनि कम भएमा त्यो जमीन कृषि कार्यको लागि उपयुक्त मानिदैन । राष्ट्रिय रूपमा हेर्दा नेपालको ६० प्रतिशत भन्दा पनि बढि जमीन यस प्रकारको अनुपयुक्त वर्गमा पर्दछ । नेपालको १२ प्रतिशत जमीन त खेतीको लागि कामै नलाग्ने अवस्थामा पुगिसकेको छ ।

एकातिर माटो हाम्रो जीवनको आधार हो, गुणस्तरीय माटो बिना यस धर्तीमा जीवन सम्भव छैन भन्ने देखाउँदछ । अर्कोतिर, वैज्ञानिक तथ्यहरूले विश्‍वको सबैतिरको माटो धैरै मात्रामा गुणस्तरहीन बनिसकेको र भोलिका दिनमा अझै कामै नलाग्ने बन्दै जाने स्पष्ट संकेत देखिइरहको छ । यसर्थ यस्तो महत्वपूर्ण माटोलाई कसरी जोगाउने वा यसको गुणस्तर नाश हुनबाट कसरी बचाउने भन्नेतिर आजैदेखि हामी सबैको ध्यानाकर्षण हुन जरुरी छ ।

साथै, बिग्रिसकेको माटोलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्नेतर्फ पनि हाम्रो उत्तिकै ध्यानजान आवश्यक छ । सचेत ध्यान कर्ममा बदलिन्छ । यसरी मात्र हामी हाम्रा सन्ततिहरूलाई हाम्रा पूर्खाले सुम्पेको नासो यथारूपमा हस्तान्तरण गर्न सक्छौं ।

५. माटोलाई कसरी जोगाउने

क. यथासम्भव भूक्षय रोक्ने

भूक्षय

जमीनको सतहमा रहेको उर्वर (मलिलो) माटोलाई पानीले बगाएर वा हावाले उढएर अन्यत्रै लगिदिन्छ । यसरी माटो नाश हुने प्रक्रियालाई भूक्षय भनिन्छ । वैज्ञानिक अध्ययन अनुसन्धानबाट जल तथा वायु भूक्षयका कारणले संसारको करीब ८० प्रतिशत जमीनको माटोको गुणस्तर बिग्रन गएको पाइएको छ । यसरी हुने भूक्षयलाई जोगाउन सक्यौं भने मात्र पनि हामी माटोको धेरैहदसम्म गुणस्तर रक्षा गर्न सक्छौं । नेपालको हकमा वायु भन्दा जल भूक्षय बढी हुने गर्दछ ।

भूक्षयको कारण

वन विनाश तथा बढी चरनका कारणले जमीनको माटो खुला हुनपुग्छ । त्यसैगरी खेतीपातीका लागि खनजोत गरेर माटोलाई त्यसै छोडिदिनाले पनि माटो खुला बन्नजान्छ । यसप्रकारको खुला जमीनमा रहेको माटोमा पानी पर्दा पानीसगै माटोलाई बगाएर लैजान्छ । यसरी हुने जल भूक्षय सम्म जमीनमा भन्दा भिरालो जमीनमा बढी हुन्छ । त्यसै गरी खुला जमीनमा रहेको माटोलाई हावाले उठाएर माटोलाई अन्यत्रै पुर्‍याइदिन्छ । हावाहुरी बढी चल्ने ठाउँमा वायु भूक्षय बढी हुन्छ ।

भूक्षय रोक्ने तरिका

१. भूक्षयबाट रोक्न अनियन्त्रित वनजंगल कटानी फडानी गर्नुहुँदैन, बोटविरुवा, झारपात मास्नु हुँदैन । रूखबिरुवा एवं झारपातका जराले माटोलाई अठ्याएर राख्ने मात्र नभएर यिनीहरूबाट झरेका पातपतिङ्गरले जमीन माथिको माटोलाई छोपी पनि दिन्छन् । यसले गर्दा आकाशबाट परेको पानी सीधा जमीनमा पर्न पाउँदैन ।

यसको फलस्वरूप माटोका कणहरू, यसमा भएका जैविक पदार्थहरूलाई जमीनबाट पानीले अलग गर्न पाउँदैन र जमीनमाथिबाट बग्ने पानीसँगै बगेर जानबाट माटोलाई रोक्दछ । यसको साथै बोटबिरुवा तथा रुखपातको उपस्थितिले पानी जोडले तलतिर बग्न पाउँदैन । पानीलाई जमिनमुनि शोषिने समय मिल्छ ।

माटो बगाएर लैजाने पानी एकातिर कम हुनजाने र अर्कोतिर यसको बगाउने शक्ति पनि कम हुनपुग्ने भएकाले पातपतिङ्गरयुक्त जमीनमा भूक्षय एकदम न्यून हुने गर्दछ । त्यसैगरी माटोनै खुला देखिने गरी गाईवस्तु चराउन पनि हुँदैन, ताकि जमिनको घाँसपातले माटोलाई खुला हुनबाट रोक्न सकोस् ।

२. भिरालो जमीनबाट धेरै भूक्षय हुने हुँदा त्यस्तो जमीनमा खेतीपाती गर्नुहुँदैन । यस्तो जमीनमा खेतीपाती गर्नु परेमा मिलेसम्म सानाठूला गह्राहरू बनाएर मात्र गर्नुपर्दछ । यसरी बनाएका गह्राहरूका डिलमा आली लगाउनाले पानीको गतिलाई कम गरिदिन्छ । पानीको गति कम हुनु भनेको भूक्षय कम हुनु हो । भिरालो परेको जमीनमा खेती गर्नै परेमा समोच्च तथा पट्टी खेती (contour and strip cropping) गर्नुपर्दछ ।

३. खनजोत गरीसकेपछि खेतबारीलाई खुला छोड्नुहुँदैन । अर्थात खोनजोत गरेको जमीनलाई पातपतिङ्गर, स्याउला आदिले छोप्यौं भने, माथि बताए जसरी यस्तो जमीनबाट भूक्षय एकदम कम हुनपुग्छ । धान, मकै, गहुँ जस्ता अन्नबाली काट्दा फेदैसम्म नकाटेर केही ठुटाहरू रहने गरी काट्नु पर्दछ । यसले माटो खुकुलो हुनबाट बचाउँदछ । साथै खनजोत मिलेसम्म कम गर्नु पर्दछ ।

४. खाली बसेका जमीनमा (सम्म होस् कि भिरालो परेको) मिलेसम्म माटोको प्रकृति तथा हावापानी सुहाउँदा र पछि काममा आउने रुख विरुवा वा घाँस आदि रोप्नाले जमीनको माटो खुला हुनपाउँदैन यसबाट भूक्षय रोकिन्छ । परन्तु, भिरालो परेको जमीन जहाँ माटोको पत्र सानो छ त्यस्ता ठाउँमा भने ठूलाठूला रुखहरू रोप्नु भने हुँदैन किनकि रूख ठूला भएपछि यसको जराहरू फैलने ठाउँको अभावमा ती रुखहरू ढल्ने सम्भावना बढी हुन्छ । यसले गर्दा त्यस्ता ठाउँहरूमा सानो ठूलो पैरो जान्छ ।

५. त्यसैगरी बेस्सरी हावाहुरी चल्ने र माटो उडाएर लैजाने स्थानहरूमा खेतवारीको वरिपरि र बीचबीचमा समेत अग्ला रुखविरुवहरू मिलेसम्म टम्म र लाइनमा मिलाएर रोप्यौं भने वायु भूक्षयलाई न्यूनीकरण गर्न सकिन्छ । यसरी रुखविरुवा रोप्दा हावा आउने दिशातिर रोप्नुपर्दछ ।

६. नेपालको हकमा खोलाखाल्सी एवं नदीनालाहरूमा वर्षायाममा आउने बाढीले तिनीहरूको किनारा भत्काएर किनारा भूक्षय (Bank erosion) भई वर्षेनि धेरै माटोको नाश भइरहेको हुन्छ । यसलाई रोक्न खोलानालामा ठाउँहेरी साना ठूला गेग्र्यान छेक बाँध (sabo dam) निर्माण गर्नु उचित हुन्छ । यसो गर्नाले एकातिर खोलानालाको वहावको गति कम हुनजान्छ र पानीको किनार भूक्षय गराउने शक्ति घटन गई भूक्षय कम हुनजान्छ । यसको साथै अर्कोतिर यसरी बाढीसँगै बगेरजाने गुणस्तरहीन माटो, बालुवा, गेग्र्यान खेतबारीमा पसेर त्यहाँको माटोलाई बिगार्न पाउँदैन ।

७. नेपालको सन्दर्भमा जथाभावी डोजरको प्रयोग गरी चाहिने नचाहिने ठाउँमा बाटा खोल्ने गर्नाले पनि भूक्षय धेरै भइरहेको छ । प्राकृतिक स्रोतसाधन (माटो, पानी हावा, जंगल) लाई कम भन्दा कम क्षति पुग्ने गरी र इन्जिनियरिङ मापदण्ड भित्र रहेर मात्र यस्ता कामहरू अगाडि बढाउनुपर्दछ ।

ख. माटोमा रहेको पौष्टिक तत्व तथा सूक्ष्म जीवाणुहरू घट्न नदिने

१. भूक्षय हुँदा माटोसँगै माटोमा रहेका पौष्टिक तत्वहरू तथा माटोलाई उर्वर बनाउन मद्दत गर्ने सूक्ष्म जीवाणुहरू नाश हुने हुनाले पहिलो काम माथि वर्णन गरिए बमोजिम भूक्षय रोक्नु पर्दछ (चित्र ३)।

२. कृषि उत्पादकत्व बढाउन सिंचाइ अत्यावश्यक छ । परन्तु खेत बारीमा आवश्यक भन्दा बढी मात्रामा सिंचाइ गरियो भने पानीसंगै यस्ता पौष्टिक तत्व तथा सुक्ष्मजीवाणुहरू बगेर वा चुहिएर खेर जान्छन् । त्यसैले पानी उपलब्ध छ भन्दैमा चाहिने भन्दा बढी सिंचाइ गर्नुहुँदैन ।

३. रासायनिक मलको प्रयोगले कृषि उत्पादन बढाउन मद्दत गर्दछ । तर त्यही रासायनिक मल मात्र निरन्तर प्रयोग गर्नाले कालान्तरमा माटोको गुणस्तर घटन जान्छ । यसले माटोलाई साह्रो बनाई माटोको बनोट नै बिगारिदिन्छ । लवणीकरण (salinization) बढाउने काम समेत गर्दछ । यस्तो माटोमा सूक्ष्म जीवाणुहरू बाँच्नको लागि चाहिने तत्वहरू क्रमशः घटन जान्छ । यसको कारणले त्यस्ता जीवहरूको संख्या पनि कम हुँदै जान्छ ।

यी सबैको समष्टिगत असर माटोको उर्वराशक्ति घटनगई, कृषि फसलहरूको उत्पादकत्व कम हुनपुग्छ । यो कुरा कीटनाशक तथा झार मार्ने औषधिहरूको प्रयोग गर्नाले पनि हुनजान्छ । त्यसैले रासायनिक मल तथा कीटनाशक औषधिहरूको प्रयोग नगर्नु वा एकदम कम गर्नु, माटोको रक्षा गर्नु हो भनेर भनिएको हो । यसले माटोमा रहेको पौष्टिक तत्व तथा सुक्ष्मजीवाणुहरू घट्न नदिने मात्र नभएर हाम्रो लागि अत्यावश्यक प्राकृतिक संशाधन पानीको गुणस्तर समेत बढाउन मद्दत पुर्‍याउँदछ ।

४. खनजोत नगरी वा एकदम कममात्रामा खनजोत गरेर खेतीपाती गर्नाले पनि माटोको जैबिक पदार्थ नाश हुनबाट बचाउन सकिन्छ ।

५. एउटै बाली हरेक वर्ष लगाइरहनाले ती बालीनालीले माटोबाट एकै प्रकारका तत्वहरू शोषेर लिइरहन्छन् । यसका कारणले केही वर्षपछि उक्त बालीलाई चाहिने पौष्टिक तत्वहरू क्रमशः घटन जान्छन् । घुम्ती बाली (crop rotation) विधिको प्रयोग गर्नाले माटोमा रहेका फरकफरक तत्वहरू बालीनालीले प्रयोग गर्ने हुँदा यो समस्या कम हुनजान्छ । एउटा बालीमा लाग्ने रोगले अर्कोलाई असर गर्न नसक्ने भएकाले यस विधि प्रयोग गर्दा बालीनालीमा लाग्ने रोगब्याधीहरू पनि स्वतः घटेर जान्छन् ।

चित्र साभारः म्याग्गी फिलिप्स (चित्र ३: सूक्ष्मजीवहरूको भूमिका)

ग. माटोमा जैविक पदार्थ यथासम्भव बढाउने

माटोमा जति धेरै जैविक पदार्थ हुन्छ, त्यति नै माटोको पौष्टिक तत्वहरू तथा पानी संरक्षण/भण्डारण सहज तरिकाले हुन्छ । यसले कृषियोग्य जमीनको खनजोत गर्न सहज बनाइदिनुका साथै माटोको बनोट बिग्रनबाट बचाउँदछ (हेर्नुहोस् चित्र ४) । यसर्थ माटोमा जैविक पदार्थ यथासम्भव बढाउनु भनेकै अन्नबाली, फलफूल तरकारीहरूको उत्पादन बढाउनु हो । यो भनेको उत्पादित वस्तुहरूमा मानिसहरूको लागि चाहिने पौष्टिक पदार्थहरू बढाउनु पनि हो । यसबाट माटोको स्वास्थ्य र हाम्रो स्वास्थ्यको घनिष्ट सम्बन्ध रहेको स्पष्ट हुन्छ ।

चित्र ४ जैविक पदार्थको योगदान

१. प्राङ्गारिक मलको प्रयोग

वनस्पतिजन्य तथा गाईवस्तुको मलजन्य वस्तुहरू सडाएर, गलाएर प्राङ्गारिक मल (कम्पोष्टमल) बनाइन्छ । यसलाई माटोमा मिसाउनाले माटोको बनोटमा सुधार आउनुको साथै बोटविरुवा तथा सूक्ष्मजीवहरूको लागि चाहिने तत्वहरू माटोमा वृद्धि हुनपुग्छ ।

२. हरित मलको प्रयोग

छिटै हलक्क बढ्ने प्रकारका बालीनाली लगाउने र ती बालीनालीमा फल लाग्नुभन्दा पहिले जोतेर माटोमा नै पुरेमा यी वस्तुहरू कुहिएर जैविक मल बन्न पुग्छन् । यसरी बन्ने मललाई हरित मल भनिन्छ । यसो गर्नाले माटोको बनोटमा सुधार आउँछ । यसले माटामा रहेका पौष्टिक तत्वहरू, विशेषगरी माटोको नाइट्रोजन नाश हुनबाट बचाउँदछ । साथै यी हरितमलमा भएका तत्वहरूले माटोलाई उर्वर बनाउन मद्दत पनि पुर्‍याउँदछन् ।

३. अन्नबाली, तरकारी आदिको अवशेषको प्रयोग

धान, गहुँ, मकै जस्ता अन्नबालीहरू पाकेपछि काटिने पराल/छ्वाली/ढोड, तरकारी, फलफूलका अबशेषहरूलाई पूरै अथवा केही मात्रामा खेतबारीमा छोड्नाले माटोमा प्राङ्गारिक पदार्थ बढनजान्छ । यी पदार्थहरूले हरित तथा प्राङ्गारिक मलकै जस्तो माटोको उर्वरा शक्ति बढाउन सहयोग पुर्‍याउँदछन् । त्यसैगरी रुखबिरुवाबाट झरेका पातपरिङ्गरहरूलाई आगोले नपोली त्यसै छोडिदनाले पनि माटोमा जैविक पदार्थको बढोत्तरी हुनपुग्छ ।

४. गाईवस्तुको मलमूत्रको प्रयोग

गाईवस्तुको मलमूत्रमा प्रशस्त मात्रामा बोटविरुवा, अन्नबालीलाई चाहिने नाइट्रोजन, फस्फोरस, पोटासियम जस्ता आदि तत्वहरू पाइन्छ । यसले माटोको बनोटमा सुधार ल्याउनुको साथै माटोको पानी भण्डारण गर्ने क्षमतामा पनि वृद्धि गर्दछ । सूक्ष्मजीवहरूको आहारको रूपमा पनि यी चीजहरू प्रयोग हुने गर्दछन् ।

४. उपसंहार

अहिले कै अनुपातमा विश्‍वको माटो काम नलाग्ने गरी बिग्रँदै गयो भने खाद्य वस्तुको उत्पादन कम हुन गई भोकमरी बढ्न जाने निश्‍चित छ । भोकमरी बढ्दै जाँदा शुरुमा मानिसहरू एक ठाउँ वा एउटा देशबाट अर्को ठाउँ वा अर्को देशमा बसाइसराइ गर्न थाल्नेछन् । यसले बिस्तारै धान्नै नसकिने रूप लिनेछ । त्यसपछि विश्‍व नै अशान्त बन्ने मात्र होइन, हिंसा भड्कने छ । मानव सभ्यता नै खतरामा पर्नेछ ।

भविष्यमा यो अकल्पनीय अवस्था आउन नदिन आजैदेखि हरेक व्यक्ति माटो जोगाऔं अभियानमा लाग्नुपर्ने अवस्थामा हामी आइपुगेका छौं । साथै, विश्‍वका सबै मुलुकहरूका नीतिनिर्माताहरूले यसलाई आत्मसात् गर्दै, माटो संरक्षण सम्बन्धी नीति बनाउन र ती नीतिलाई कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता बन्‍न पुगेको छ ।

माटो संरक्षणको युगिन दायित्व निभाउन एकपटक हामी सबै जागौं र लागौं पनि । र हामी सबैले आज नै एउटा प्रण पनि गरौःं माटो जोगाऔं, एउटा युगिन दायित्व पूरा गरौं ।

(यो लेख सदगुरु (ईशा फाउन्डेसन) को १०० दिने माटो जोगाऔं (Save Soil) अभियानमा ऐकबद्धता जनाउन तयार गरिएको लेख हो । उनी अहिले यस अभियान अन्तर्गत माटो सम्बन्धी विश्‍व जनचेतना अभिवृद्धि गर्न मार्च २१ तारिख देखि लण्डनबाट ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रामा निस्किएका छन् । यस क्रममा उनी २७ वटा देशहरू पुग्नेछन् ।)

सन्दर्भ साम‍ग्रीहरुः
1. Bajracharya, Roshan, Sitaula, Bishal, Sharma, Subodh, Jeng, Alhaji, 2007, Soil quality in the Nepalese context – An analytical review, International Journal of Ecology and Environmental Sciences, 33(2)
2. Components of Ecosystem,
3. DANA NUCCITELLI, UN report: The world’s farms stretched to ‘a breaking point’,
4. ENI, Soil formation, school energy & environment,
5. Environment/Ecology, How long does soil take to form?
6. Erhard Hennig, HUMUS: WHAT IS IT AND HOW IS IT FORMED? Eco Farming Daily,
7. Hoorman, J. J., Understanding Soil Microbes and Nutrient Recycling,
8. Increasing organic matter, Science Horticulture,
9. Jeff Moyer, Andrew Smith, Yichao Rui, Jennifer Hayden, REGENERATIVE AGRICULTURE and the SOIL CARBON SOLUTION,
10. LINDA CRAMPTON, The Many Uses of Cow Dung: A Natural …  (Accessed: March 31, 2022)
11. Maggie Phillips, Leveraging Soil Microbes to Build SOM, Crop Yields,
12. Ray R. Weil,
13. Remus Prăvălie, Cristian Patriche, Pasquale Borrelli, Panos Panagos, Bogdan Roșca, Monica Dumitraşcu, Ion-Andrei Nita, Ionuţ Săvulescu, Marius-Victor Birsan, Georgeta Bandoc, Arable lands under the pressure of multiple land degradation processes. A global perspective, Environmental Research, Volume 194, 2021,
14. Roshan Babu Ojha and Dinesh Panday (Editors), The soils of Nepal, World Soils Book Series, Springer.
15. The High Price of Desertification: 23 Hectares of Land a Minute,
16. WORLD HUNGER: KEY FACTS AND STATISTICS 2021,
Note: Online information accessed: March 31- April 3; 2022)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?