
२३ चैत, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट एकैदिन १ करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ बराबरको समानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रज्ञापन पत्रबिना (भन्सार राजश्व नतिरी) मालसमान लिएर वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको दुई वटा ट्रक वीरगञ्ज– १४ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको ट्रकहरुको मुल्य २५÷२५ लाख रहेको अनुमान गरिएको छ ।
प्रज्ञापन पत्रबिना मालसमान ढुवानी भईरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीले टोली खटाएको थियो । टोलीले गण्डक चोकमा ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको ट्रक रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापनपत्र नभएको मेडिकल उपकरण, औषधि र अन्य खुद्रा सामान गरि ९४ लाख ५३ हजार ५८ रुपैया मुल्य बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार ६ सय १७ रुपैयाँको कपडा र अन्य सामान फेला परेको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
दुवै ट्रकसहित बरामद गरिएको समानको मुल्य १ करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मुल्यांकन गरिएको छ । बरामद गरिएको सामान, ट्रक सहित आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4