
काठमाडौं । ‘आजभोलि नाच्ने खालको गीत भएन भने त स्टेजमा चल्नै गाह्रो छ नि, त्यसैले केही समयअघि मैले पनि डान्सिङ नम्बर ल्याएको छु ।’
‘तिमी आउने बाटोमा’ गीतबाट चर्चामा आएका गायक डिजराज पौडेलको भनाइ हो यो । उनको पहिलो गीत नै ‘सुपरहिट’ भयो, ‘तिमी आउने बाटोमा फूल रोपिदियौ’ । यो गीतको लोकप्रियता यति रह्यो कि यसका शब्द-शब्दमा हास्य कलाकारहरुले समेत कमेडी प्रस्तुत गरे ।
यो गीतको लोकप्रियतापछि डिजराजको सांगीतिक ग्राफ उकालो लाग्यो । यसपछि उनले ‘सुनैको दरबार’, ‘चौका परेपछि,’ ‘फूलबुट्टे सारीमा’ लगायतका गीत श्रोता-दर्शकमाझ ल्याए । यी गीत पनि लोकप्रिय भए । तर आजसम्म पनि उनलाई ‘तिमी आउने बाटोमा’का गायक भनेरै श्रोता-दर्शकले चिन्छन् ।
यस विषयमा डिजराज भन्छन्, ‘सायद यो जत्तिको क्याची शब्द र संगीत अरु गीतमा श्रोताले नपाएर पनि हुनसक्छ । तर गीत भनेको हिमालय श्रृंखला जस्तै हो, कुनै हिमाल अग्लो हुन्छ, कुनै होचो । गीत पनि कुनै धेरै चल्छ, कुनै ठीकै मात्रै । यस्तै भएको हुन सक्छ ।’ तर पनि आफूले पछिल्ला गीतमा पनि उत्तिकै मेहनत गरेको उनी बताउँछन् ।
डिजराजको संगीत बाहेक अर्को पेशा छैन । कोरोना महामारीका बेला अन्य व्यक्तिलाई जस्तै उनलाई पनि गाह्रो भयो । पहिले शिक्षण पेशा पनि अँगालेका उनले सांगीतिक कार्यक्रममा भ्याइनभ्याइ हुन थालेपछि त्यसलाई छाडेका थिए ।
‘कोरोनाका बेला विश्व नै ठप्प भएको बेला हामीलाई गाह्रो त भयो नै । तर अब बिस्तारै ठीक हुँदैछ, संगीत बाहेक अरु सोचेको पनि छैन । मेला महोत्सवहरु हुन थालेका छन्, मेरो पनि व्यस्तता बढेको छ,’ उनी भन्छन् ।
कन्सर्टका लागि भनेरै उनले पछिल्लो पटक ‘झिल्केले म्वाइँ खाला’ बोलको लोक शैलीको डान्सिङ गीत श्रोता-दर्शकमाझ ल्याएका छन् । गीतमा उनको आफ्नै संगीत छ भने सानु तिवारीले शब्द कोरेका छन् । यस्तै एनबी चाम्लिङको एरेन्ज रहेको छ भने गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन् । यसपछि उनी स्टेजलाई नै लक्षित गर्दै ‘लागेन बोतलको पानी’ बोलको गीत ल्याउने तयारीमा छन् ।
पछिल्लो समय म्युजिक भिडियो पनि अनिवार्य नै बनेको छ । ‘गीत सुन्ने मात्रै होइन, हेर्ने पनि बनेको छ । तर पनि गीत आफैंमा राम्रो भएसम्म भिडियोले मात्रै केही गर्दैन,’ म्युजिक भिडियोको आवश्यकताबारे डिजराजले भने ।
यद्यपि म्युजिक भिडियो खर्चालु बन्दै गएकोमा भने उनले चिन्ता व्यक्त गरे । ‘अहिले सामान्य व्यक्तिले भिडियो बनाउनै गाह्रो छ । विदेशमा बस्नेहरु र राम्रै पैसा कमाउनेहरुको पहुँचमा मात्रै म्युजिक भिडियो छ,’ उनी भन्छन् ।
केही गीतकारहरुले आफैं लगानी गर्ने भएकाले आफूलाई केही सहज भएको उनी बताउँछन् । साथै, मोडल बन्न चाहनेहरुको लगानीमा पनि काम गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।
पछिल्लो समय गीतको लोकप्रियता युट्युब भ्युजबाट मापन हुने गर्दछ । डिजराजका केही गीतबाहेक अन्य गीतले भने अपेक्षित भ्युज पाएको देखिंदैन । तर उनलाई गीतको भ्युजले त्यति अर्थ राख्दैन । ‘भ्युज एउटा मापक अवश्य हो । तर मलाई फरक पार्दैन, गीत नचले पनि आम मानिसको मुखमा झुण्डिन सक्छ । गीत नै मीठो हुनुपर्छ ।’
उनको गीत ‘तिमी आउने बाटोमा’लाई बच्चादेखि वृद्धसम्मले रुचाए । ‘सायद शब्द नै सबैले बुझ्ने खालको भएर हुन सक्छ यो गीतको । शब्दमा गहिराइ पनि छ अनि बुझ्न सजिलो पनि । लय पनि राम्रो भएकाले सबैले रुचाउनुभएको होला,’ उनी प्रष्ट्याउँछन् ।
आजभोलिका गीतमा शब्दलाई अलि कम महत्व दिने गरिएकोमा उनलाई चित्त दुखेको छ । गीत साहित्यसँग पनि सम्बन्धित हुने भएकाले यसको ओज पनि राख्नुपर्ने उनी बताउँछन् । ‘हुन त नयाँ पुस्ताका कलाकारले पनि सुगम संगीत र गजलमा राम्रो गरिरहनु भएको छ । स्टेजमा चल्ने खालका हल्काफुल्का शब्द भएका गीत मात्रै होइन, दिग्गज गीतकारले लेखेका गहन गीत गजल पनि सँगसँगै आउनुपर्छ,’ उनी भन्छन्, ‘यसले नेपाली संगीतको स्तर अरु बढाउँछ जस्तो लाग्छ ।’
यद्यपि पछिल्ला वर्ष विवाह, पार्टी र समारोहमा नेपाली गीत-संगीत नै घन्किरहेको सुन्दा उनलाई खुसी लाग्छ । ‘पछिल्ला दिनमा भारतीय गीतको प्रभाव घटेको पक्कै हो,’ डिजराज भन्छन् ।
आफ्नो सांगीतिक करिअरबाट डिजराज खुसी छन् । सन्तुष्ट भएकाले नै आजसम्म यही क्षेत्रमा क्रियाशील रहेको उनी सुनाउँछन् । ‘जीवनमा आरोह-अवरोह नआएका होइनन्, मेरो सपना नै संगीत भएकाले अरु सबै बाटो छाडेर यसमै लागेको छु । म सहकारीको सञ्चालक समितिको निर्देशक पनि थिएँ, संगीतका कारण समय दिन नसकेपछि त्यो जागिरबाट ६-७ महिनामै बिदा लिएँ,’ संगीतप्रतिको लगावबारे उनी भन्छन् ।
कोरोना महामारी ओरालो लागेसँगै गीत-संगीतको क्षेत्रमा बिस्तारै आएको बहारले उनलाई पनि छोएको छ । संगीतमै लागेर स्तरीय जीवन बाँच्न सकिनेमा उनी ढुक्क देखिन्छन् ।
संगीत व्यवसायप्रति आशावादी हुँदै डिजराज भन्छन्, ‘हिजोआज पत्रकारहरुले संगीतमा लागेर बाँच्न त सकिन्छ ? भनेर सोध्न चाहिं छाडे है ।’
तस्वीरहरु : डिजराज पौडेलको फेसबुकबाट
प्रतिक्रिया 4