+
+

‘तरलताका कारण नै अर्थतन्त्रमा समस्या आएको हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १९:१९

२४ चैत, काठमाडौं । निजी क्षेत्रका सरोकारवालाले बजारमा तरलताको अभाव नै आर्थिक समस्या भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानी योग्य पूँजीको अभाव र राष्ट्र बैंकले पुनर्कर्जाको व्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए । उपाध्यक्ष श्रेष्ठले पुनर्कर्जाको व्याजदर ७ प्रतिशत हुँदा उद्योगी व्यवसायीको लागत खर्च बढ्ने गरेको बताए ।

महासंघले लागत खर्च कम गर्न, उत्पादकत्व बढाउन सरकारलाई पटक–पटक आग्रह गरेपनि त्यो सुनुवाइ हुन नसकेको उनको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले व्याजदर बढेर १३ प्रतिशत पुगेको छ, निक्षेपमा व्याज बढी दिँदैमा निक्षेप पनि बढेको छैन ।’

निजी क्षेत्रले सरकारलाई ३५ प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्था आएको भन्दै श्रेष्ठले आगामी बजेटमा करको दर कम हुनुपर्ने बताए । पछिल्लो समय बैंकमा देखिएको तरलताको समस्यालाई हल गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘बैंकहरुसँग पर्याप्त जनतालाई ऋण दिन सक्ने अवस्था छैन । अहिलेको समस्या यही हो ।’

हालै राष्ट्र बैंकले आयातमा गरेको कडाइका बारेमा श्रेष्ठले भने, ‘कडाइ गर्दैमा र १ सय १० प्रतिशत धितो राखेर आयत गर्दैमा आयातको दर भने कम हुँदैन ।’

राष्ट्र बैंकले हचुवाको भरमा आयत रोकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘राज्यले जनतालाई अपिल गर्नुपर्यो । सरकारले ठूलो सार्वजनिक गाडीको व्यवस्था गर्नुपर्यो । महंगो सामान प्रयोग नगर भन्नुपर्यो । यसरी सामानको आयत नै बन्द गर्ने निर्णयले के इफेक्ट गर्छ भनेर सरकारले सोच्नुपर्छ ।’

उनले सरकारले कुन–कुन वस्तु निर्यात गर्ने, कुन आयत गर्ने भनेर निर्कोल गर्नुपर्ने बताए । व्यवसायीले चाहिने भन्दा बढी सामान मगाएको छ भने त्यसलाई रोक्नुपर्ने भन्दै उनले अत्यावश्यक वस्तु के के हुन् भनेर आपूर्ति मन्त्रालयले छुट्याउनुपर्ने बताए । यस्तै उपाध्यक्ष श्रेष्ठले बैंकहरुमा निक्षेप नबढ्नु अहिलेको सबैभन्दा ठूलो समस्या भएको पनि बताए ।

बागमती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्ययले बैंकको व्याजदरका कारण उद्योगी व्यवसायी समस्यामा परेको बताए । उनले भने, ‘अबको व्याज १३ प्लस हुने भन्ने कुरा छ । ब्याजदर बढ्दै जाँदा उद्योग, व्यवसायी उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं, केही महिनामा कतिको नाम पत्रिकामा छापिने हो थाहा छैन ।’

सरकारले विलासिता वस्तुको आयातमा कडाइका कारण केही प्रभाव परेको बताउँदै उनले यसको रिजल्ट आउन केही समय लाग्ने बताए । कार्यक्रममा मिनरल वाटर एसोसिएसनका संस्थापक धर्मनन्द श्रेष्ठले पानीलाई निर्यातको रुपमा समावेश गर्न सरकारलाई पटक–पटक झकझक्याएपनि सुनुवाइ नभएको बताए ।

बागमती प्रदेश घरेलु महासंघकी वरिष्ठ उपाध्यक्ष एवं महिला उद्यमी सरिता भट्टराई श्रेष्ठले महिलाहरुलाई बैंकिङ कर्जा पाउन अत्यन्तै समस्या हुने गरेको बताइन् । उनले भनिन्, ‘बैंकहरुले कर्जाका लागि सहजीकरण गर्छु भनेपनि महिलाहरुका लागि कर्जा पाउन महिनौ धाउनपर्ने स्थिति हुन्छ । १०, १५ लाख भनेपनि १ लाख पाउन पनि मुस्किल छ । श्रीमानको नागरिकता, लालपूर्जा र धरौटि माग्ने गरेको स्थिति छ ।’

यस्तै उद्यमी भट्टराईले देशमा उद्यमशिलताको खाँचो रहेको बताइन् । उनले महिलाहरु पछिल्लो समय व्यवसायमा लाग्न चाहेको भन्दै कर्जाका लागि सरकारले सुक्ष्म ढंगले अध्ययन गरेर अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?