+
+

दुलाहाको पहिरन : ८ हजारदेखि २ लाखसम्म मूल्य

बकेटको दौरा सुरुवाल प्रचलनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते ११:५७
तस्वीर : विक्रम न्यौपाने/वेडिङ काठमाडौं

काठमाडौं । विवाहको बन्दोबस्ती गरिरहँदा प्रमुखताका साथ राखिने सूची हो, लत्ताकपडा । विवाह जस्तो शुभकार्यमा घरपरिवारका सदस्य र आगन्तुकले समेत एकसरो नयाँ लुगा फेर्ने चलन छ । यसमा दुलहा र दुलहीको पहिरनले अरु महत्व पाउँछ ।

वैवाहिक समारोहमा दुलहा र दुलहीको परिहन विशेष हुने नै भयो । चलनचल्ती अनुसार दुलहीले साडी र दुलहाले दौरा सुरुवाल वा सुट लगाउने चलन व्यापक छ । त्यसो त भूगोल, समुदायअनुसार आ-आफ्नै मौलिक पहिरन लगाउने पनि गरिएको छ । यद्यपि धेरैजसोले विवाहमा दौरा सुरुवाल वा कोट–पाइन्ट लगाउने गरेको पाइन्छ ।

बदलिंदो समयसँगै दुलहाको पहिरनमा परिमार्जन भइरहेको देखिन्छ । चाहे दौरा सुरुवालमा होस् वा सेरवानीमा, नयाँ शैली भित्रिएको छ ।

केही वर्षअघिसम्म कोट पाइन्ट अर्थात् सुट लगाउने चलन व्यापक थियो । तर पछिल्लो समय भने दौरा सुरुवाल बढी रुचाइएको छ । जानकारहरुका अनुसार बजारमा ढाकाको दौरा सुरुवाल, बकेटको दौरा सुरुवाल र सेरवानी बढी चलेको छ ।

काठमाडौंको बागबजारस्थित टिपटप टेलर्सका गणेश केसीका अनुसार अहिले अधिकांश दुलहाले बकेटको दौरा सुरुवाल मन पराउने गरेका छन् । ‘पहिले जस्तो सुट लगाउने चलन खासै छैन,’ उनी भन्छन्, ‘धेरैजसो मेरुन कलर र बकेटको दौरा सुरुवाल खोज्न आउँछन् ।’

विगतमा दौरा सुरुवाल नै अनिवार्य जस्तै थियो । त्यसबेला कोट पाइन्ट भित्रिएको थिएन । तर आधुनिक समाजले कोट पाइन्ट भित्र्यायो । विवाह समारोहमा कोट, पाइन्ट र टाइमा ठाँटिनेहरु बढे । विवाहमा दुलहाले पनि यही पहिरनलाई बढी रुचाए । समयक्रममा फेरि दौरा सुरुवाल नै औपचारिक पहिरनको रुपमा लोकप्रिय हुन थाल्यो, खासगरी विवाहमा । यद्यपि यतिबेला दौरा सुरुवाल विगतमा भन्दा केही परिमार्जित भएर आयो र युवापुस्ताको रुचिअनुसार त्यसको काटछाँट गरियो ।

फिटिङ्स दौरा सुरुवालमा कोट, इस्टकोटदेखि टोपी र जुत्तासम्मको रंग संयोजन मिलाएर लगाउन थालियो । खासगरी ढाकाको दौरा सुरुवाल दुलहाको पहिरन बन्यो । पछिल्लो समय दौरा सुरुवालमा पनि एकरुपता देखिएन । पछिल्लो समय दुलहाले बकेटको दौरा सुरुवाल रुचाउन थालेका छन् ।

त्यसो त विवाहका भिन्नाभिन्नै समारोहमा दुलहाको पहिरन पनि भिन्नाभिन्नै हुने बताइन्छ । टिपटप टेलका केसी भन्छन्, ‘एउटै विवाहमा दुलहाले कहिले कोट पाइन्ट त कहिले सेरवानी लगाउने गरेका छन् । जस्तो ‘इन्गेजमेन्ट’का दिन सेरवानी लगाउने चलन छ भने भोजमा सरिक हुँदा कोट पाइन्ट लगाउने गर्छन् ।

बजारमा दुलहाका लागि अनेकथरी पहिरन उपलब्ध छन् । मूल्यमा पनि विविधता छ । न्यूनतम ८ हजारदेखि २ लाख रुपैयाँसम्मको पहिरन बजारमा पाइन्छन् । कपडा र डिजाइन हेरेर त्यसको मूल्य निर्धारण गरिन्छ ।

बागबजारस्थित मेरो टेलर्सका सदिश श्रेष्ठका अनुसार अहिलेका युवाहरुले इटालियन ब्रान्डका पहिरन खोज्ने गरेका छन् ।

‘दुलाहाले मरुन, रोयल ब्लु र उज्याला रंगका कपडा खोजिरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘अहिले सबैभन्दा बढीले प्रयोग गर्ने भनेकै बकेटको दौरा सुरुवाल हो ।’ बकेटको दौरा सुरुवालको सेटमा खुकुरी, सल, मोतीमाला, टोपी, बेल्ट र चप्पलको संयोजन हुन्छ । यसलाई बकेट सेट भन्ने गरिएको छ ।

त्यसैगरी दुलाहाका आफन्त वा नातेदारले पनि दौरा सुरुवाल लगाउने गरेका छन् । दौरा सुरुवालको सेटको मूल्य ८ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

‘बजारमा सस्तादेखि महँगोसम्मका पहिरन छन् । तर अहिले धेरैले १३ हजारदेखि १५ हजारसम्मको खोज्छन्,’ श्रेष्ठले भने । यसैगरी फूलमालाको दिन दुलाहाले लगाउने सेरवानी १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्ममा पाइन्छ ।

पुतलीसडकमा रहेको द रेमण्ड सप टेलरले सुट मात्रै बिक्री गर्छ । रेडमण्डमा सस्तोदेखि महँगोसम्मका सुटको कपडा पाइन्छन् । रेडमण्डका देवेन्द्र पण्डितका अनुसार ८ हजारदेखि २ लाखसम्मका सुटका कपडा पाइन्छन् ।

‘कपडाको गुणस्तर हरेर सुटको मूल्य निर्धारण गरेका हौं । रेडमण्ड भारतीय ब्रान्ड भएकाले पनि महँगो परेको हो,’ पण्डितले भने । उनका अनुसार अहिले युवापुस्ताले मरुन र गाढा निलो रंगका कपडा बढी खोज्ने गरेका छन् । दुलाहाको पहिरन बेहुलीको पहिरनमा पनि भरपर्ने गरेको उनी बताउँछन् । ‘अधिकांश दुलाहाले दुलहीको लेहेंगासँग सुहाउँदो रंग छनोट गर्छन्,’ उनी भन्छन्, ‘कतिले भने आफ्नो शरीर सुहाउँदो रंग छनोट गर्छन् ।’

टिपटप टेलर्समा दुलाहाको पहिरनको मूल्य

कोट पाइन्ट :  १३ हजारदेखि १५ हजार रुपैयाँसम्म ।

बकेटको दौरा सुरुवाल : १३ सय ५० रुपैयाँदेखि १६ हजार रुपैयाँसम्म ।

दौरा सुरुवाल ३ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म ।

सेरवानी १५ हजारदेखि ३० हजार रुपैयाँसम्म ।

तस्वीर : विक्रम न्यौपाने/वेडिङ काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?