+
+

दरबार हेरचाह अड्डाले भत्कायो महानगरपालिकाले झण्डा राख्न बनाएको संरचना

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ चैत २५ गते १६:१५

२५ चैत, काठमाडौं । हनुमानढोका दरबार हेरचाह अड्डाले वसन्तपुर डबलीमा बनेको मापदण्ड विपरीतको संरचना भत्काएको छ ।

फागुन पहिलो साता महानगरपालिकाको भौतिक पूर्वाधार विभागले रातारात बनाएको संरचनाको तीव्र विरोध भएपछि शुक्रबारदेखि सो संरचना भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागको फागुन ३० गतेको निर्णयानुसार सो संरचना भत्काइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका १२ ठाउँमा नेपालको झण्डा राख्ने निर्णय गरेको थियो । जसको लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । निर्णयानुसार रत्नपार्क, स्वयम्भू लगायत क्षेत्रमा झण्डा राखिसकेको छ । सोही निर्णयअनुसार आठवटा झण्डा वसन्तपुर डबली मासेर महानगरपालिकाले कंक्रिटबाट झण्डा गाड्ने आधार तयार पारेको थियो । कंक्रिट संरचनाले विश्व सम्पदा क्षेत्रको सुन्दरतामा आँच पुर्‍याएको र यो मापदण्ड विपरीत पनि रहेकाले यो संरचना भत्काउन लागिएको हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

सम्पदा क्षेत्रमा नयाँ संरचना बनाउँदा महानगरपालिकाले पुरातत्व विभागसँग समेत समन्वय नगरेपछि यसअघि नै विभागले महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । फागुन ६ गते विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले महानगरपालिका कार्यालयलाई पत्र लेख्दै सम्पदा क्षेत्रमा नयाँ संरचना बनाएर विश्वसम्पदा क्षेत्रको संवेदनशीलता नबुझेको भन्दै विभागको विशेष ध्यानाकर्षण भएको जनाएका थिए । पटकपटक काठमाडौंका विश्वसम्पदा खतराको सूचीमा राख्न प्रस्ताव भइरहेकोतिर सचेत गराउँदै विभागले सो संरचनाको निर्माण रोकेर विभागसँग समन्वय गर्न आग्रह गरेका थिए ।

डबलीमा थप संरचना बनेपछि स्थानीय तथा सम्पदा बचाउ अभियन्ताले पनि महानगरपालिकाको यस्तो कदमको विरोध गरेका थिए । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ दरबार हेरचाह अड्डा र काठमाडौं महानगरपालिकाको अनुगमन समितिले सो संरचना हटाउन सुरु गरेको जानकारी दिए ।

उनले त्यो संरचना भत्काएपछि डबलीलाई पहिले जस्तो थियो त्यस्तै अवस्थामा राखिने जानकारी दिए । श्रेष्ठ विश्व सम्पदा क्षेत्रमा मापदण्ड विपरीत कुनै पनि संरचना थप्ने कार्यलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउँछन् । नेपालको झण्डा राख्ने सवालमा आफूहरुको विरोध नभएपनि यसले सम्पदाको संवेदनशीलतामा पार्ने असरबारे भने सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

रातारात नयाँ संरचनाले शंका

स्वयम्भू र रत्नपार्कमा नेपालको झण्डा राखिसकेको महानगरपालिकाले शंखपार्क र तीनकुनेमा पनि झण्डा राख्ने तयारी गरेको छ । अन्यत्र झण्डा राख्ने विषय त्यति चर्चामा नआएपनि वसन्तपुरमा झण्डा राख्ने महानगरको निर्णय भने विवादमा पर्‍यो । झनै महानगरपालिकाले रातारात सामान ओसारेर संरचना निर्माण गरेपछि स्थानीय र सम्पदा अभियन्ताहरुले महानगरपालिकाको नियतमाथि शंका गर्न थाले ।

हरियो जालीले छेकेर मध्यरातमा डबली मास्नेगरी संरचना बनाइएको स्थानीयको आरोप थियो । चैत १ गते नेपालको झण्डा राख्न बनाइएको संरचना उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा पुगेको समूहले भत्काइदिएको थियो । विभागले उक्त संरचना भत्काउन महानगरपालिकालाई पत्र लेखेको भोलिपल्ट उपमेयर खड्गीको संयोजकत्वमा पुरातत्व विभाग मातहत हनुमानढोका दरबार हेरचाह अड्डा सहितको टोलीले झण्डा राख्न गाडिएको पोल अड्याउने नट काटिदिएको थियो । मेयरको निर्णयबाट बनेको संरचना कर्मचारीले भत्काउनु शोभनीय नहुने भएपछि उपमेयरसहितको टोली गएर त्यतिबेला नट काटेको थियो ।

नेपालको झण्डा राख्नुमा आफूहरुको आपत्ति नभएपनि डबली मास्ने, मापदण्ड विपरीत कंक्रिटको थप संरचना बनाउँदा विश्वसम्पदा क्षेत्रको अस्तित्व संकटमा पर्ने जोखिम बढेको श्रेष्ठ बताउँछन् । झण्डा नै राख्ने हो भने स्थानीयसँग समन्वय गरेर सम्पदा क्षेत्रमा प्रवेश गर्ने द्वारमा राख्न सकिने उनको सुझाव छ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?