+
+
पुस्तक समीक्षा :

कोकाकोलाको दोस्रो अवतार ‘होहाहोला’

डा. अशोक थापा डा. अशोक थापा
२०७८ चैत २६ गते ७:१७

लेखकहरूले सधैं चुनौतीको सामना गरिरहन्छन् । त्यो चुनौती इमान्दारिताको हो । त्यो आधिकारिकता हो र निष्‍ठा हो । यात्रावृत्तान्तमा लेखकको स्ववर्णन भेटिने हुनाले लेखकीय इमान्दारिता झन् पेचिलो बन्ने गर्छ यस विधामा । धेरै लेखकहरू इमान्दार भएर लेखेको दावी त गर्छन् तर पाठकको गहनपठन गर्दा त्यस्तो नभेटिएका कैयन् दृष्‍टान्त पनि छन् । यद्यपि यस प्रकृतिको खिन्नता कुष्णमुरारी ढुङ्गेलको ‘होहाहोला’ कृतिमा भने भेटिँदैन । यो खासमा यात्रावर्णनको फोटोविन्यासकै तहमा वर्णन गरिएको यात्रावृत्तान्त हो ।

समग्रमा यात्रावृत्तान्त इमान्दारपूर्वक लेख्नै पर्ने विधा हो । यात्रावृत्तान्तको सही नमुना दिन सफल रहेको छ पुस्तक । यस पुस्तकको थालनीको ढोका अमेरिकाबाट युरोप भ्रमण योजना बनेसँगै उघ्रन्छ ।

एउटा महादेशबाट अर्कोमा घुम्ने योजना कसरी बन्यो भन्ने कुरा यस पुस्तकको आरम्भमै उठान गरिएको छ । लेखकमा ‘मालती मङ्गले’ नाटक लिएर अमेरिका जाने रहर रहेको तर त्यसलाई अचम्मसँग तुहाइयो सन्दर्भ पनि यस पुस्तकमा पढ्न पाइन्छ ।

लेखक काठमाडौं हुँदाखेरी नै अमेरिका जाने सपनाको चर्चाबाट पुस्तकको श्रीगणेश भएको छ । नेपाल हुँदै अमेरिका पुग्ने सपना र अमेरिका पुग्नका लागि गरिएका विविध सन्दर्भलाई यस पुस्तकमा चर्चा गरिएको छ । यस पुस्तकको पहिलो परिच्छेदमा अमेरिकाबाट युरोप जाने योजना कसरी बन्यो भन्ने फिहरिस्त छ । यात्रारम्भको प्रस्तावनाबाट ‘होहाहोला’ कृतिको लेखकीय उद्‌घाटन भएको छ ।

‘होहाहोला’ को आरम्भमै युरोप जाँदाको ट्रान्जिक पोइन्टको वर्णन गरिएको छ । युरोप कसरी जाने ? अमिरिकी एयरपोर्ट नै कसरी पुग्ने ? आदि सन्दर्भलाई यहाँ चर्चा गरिएको छ । अमेरिकाबाट युरोप कसरी हिँड्ने भन्ने सन्दर्भबाट पुस्तकको दैलो उघारिएको छ । जहाज परिवर्तन गरेर युरोप जाने सन्दर्भलाई थप प्रस्ट्याइएबाट पुस्तकको घटनावर्णन अगाडि बढेको छ ।

यात्राकै क्रममा बेलायत वा स्पेन कहाँबाट यात्रारम्भ गर्ने दोधारकै बीचमा यात्रा सुरु गरिएको छ । समूहमा ४ जनामा ३ जनाको जोड बेलायतबाट यात्रा आरम्भ गर्ने निधो भएपछि अन्ततः बेलायतबाटै यात्रा आरम्भ गरिएको छ ।

यात्रा सुरु गरेपछि आफन्तसँग भेट नहुने कुरै भएन त्यसैले बेलायतमा रहेका इष्‍टमित्रहरूसँग भेटघाट गर्दै यात्राको थालनी गरिएको छ । यस सन्दर्भमा बेलायतको शास्‍त्रीय वास्तुकलाको वर्णय पनि पुस्तकमा गरिएको छ । त्यसपछि लन्डनबाट पेरिस हिँड्ने सन्दर्भको चर्चा पनि यसमा गरिएको छ ।

पेरिस हिँड्ने क्रममा पानीमुनिको रेल चढ्दाको रोमाञ्चक सन्दर्भ पुस्तकमा आएको छ । पेरिसको सेरोफेरोबाट यात्राले गति समातेको छ । पेरिसबाट स्विट्जरल्यान्ड र त्यहाँको सुन्दरताको वर्णनले यस पुस्तकमा राम्रो स्थान पाएको छ ।

चार जनाको युरोप यात्राको सूक्ष्म वर्णन पनि पुस्तकमा देखिएको छ । यात्राका क्रममा देशीविदेशी विभिन्न हितैषीहरूको भेटघाट भएको सन्दर्भ पनि पुस्तकमा आएको छ । यात्रावृत्तान्त भए पनि यात्रा सुरु हुँदा कुनै आख्यानको सुरुवाती र अन्त्य हुँदा एउटा प्रणयमूलक आख्यानको भावुक अन्त्यजस्तो भएर वृत्तान्त समाप्‍त भएको छ । यो लेखकको चामात्कारिक विषयसंयोजनकको नमुना बन्न पुगेको छ र प्रस्तुत पुस्तकको सबैभन्दा सबल पक्ष पनि यो बन्न पुगेको छ ।

लेखकले यात्राका क्रममा अधिकांश ठाउँमा विकसित देशमा देखेका कुरा र तत्क्षणमा आफ्नो देश नेपाललाई हृदयदेखि नै सम्झिएको सन्दर्भलाई यस पुस्तकमा उठान गरिएको छ । हाम्रो मस्तिष्कमा युरोपप्रतिको बिम्ब आदर्श प्रकृतिको रहे पनि त्यहाँ पनि असुरक्षा छ । अभाव छ । एक तहको गरिबी मौजात छ । डकैती र पाकेटमारहरूको बिगबिगी त्यहाँ पनि छ भन्ने सन्दर्भ यात्रावृत्तान्तमा आएको छ । मोनालिसाको तस्वीर पेरिसबाट इटाली चोरेरै पुर्‍याइएको थियो भन्ने कुराले पनि हिजोदेखि नै युरोपमा चोरीको अस्तित्व रहेको पुस्टि हुन्छ ।

यात्रावृत्तान्तमा हास्यव्यङ्ग्यका विविध तरेलीहरू पनि छन् । पुस्तकमा यति हासउठ्दा प्रसङ्गहरू छन् कि अपान वायुले पेट ढाडिँदाको प्रसङ्ग, दिसापिसाबले चेप्दा सहेर बस्नु पर्दाको पीडा जुन जट्ट हेर्दा लाजलाग्दा तर त्यसको इमान्दार वर्णनले पुस्तक झन् पठनीय बनेको छ । अति औपचारिक कुरादेखि सरमलाग्दा अनौपचारिक कुराहरू पनि पुस्तकमा अटेका छन् ।

रेस्टुरेन्टमा कुनै कुरा नखाए शौचालय प्रयोग गर्न नपाइने, केही क्षण आरम गर्न पिठिउँ टेकाएको पनि पैसा (बट फि) तिर्नुपर्ने जस्ता रसिक कुरा पनि यहाँ आएका छन् । सांस्कृतिक महत्त्वका विशेष स्थानको अधिक चर्चा प्रस्तुत पुस्तकको विशेषता नै बनेको छ ।

युरोपेलीहरूले आफ्नो सांस्कृतिको धरोहरलाई कति जतनले बचाएका छन् त्यसको सापेक्षतामा नेपाल र विशेष गरी काठमाडौंको सुन्दर गहनाजस्तो सम्पदालाई हामीले बुझ्न सकिरहेका छैनौं भन्ने लेखकको मनमा खिन्नताको अनुभूति पनि भएको छ ।

राष्ट्रप्रेम, हाम्रो जातिप्रेम र हाम्रो सामाजिक सद्‌भावको प्रशंशास हुनु यस सँगालोको विशेष पक्षहरू हुन् । युरोप भए पनि परेवालाई मैकै खुवाउँदा तिर्नुपर्ने जरिवाना, पाकेटमारहरूको विगबिगीले आतङ्कित हुनुपर्दाको अवस्था, फोटो खिच्न नमिल्ने ठाउँमा अटेरी गरेर फोटो खिचिएको प्रसङ्गले एकातिर यात्रुको लगाव र अर्कोतिर नेपालीपनको दृष्‍टान्तलाई इमान्दार भएर बयान गरिएको छ पुस्तकमा । यो खास इटाली घुम्दाखेरीको प्रसङ्गमा आएको छ ।

पुस्तकको अन्त्य भागमा पारिवारिक झल्को दिने रङ्गीन तस्वीर राखिएको यस पुस्तकमा यात्रावृत्तान्तको निकै मिहीन ढङ्गले वर्णन भएको छ । यात्रावृत्तान्तमा मीठो नेपाली भाषा लेखिएको छ र यात्रावर्णनका क्रममा थुप्रै अङ्ग्रेजी वाक्यहरू पनि प्रयोग गरिएको छ । युरोपेली स्थानीय भाषाका शब्दहरू पनि मनग्य पढ्न पाइन्छ पुस्तकमा । यात्राको क्रममा यात्राको तरिका, तत्‌तत् ठाउँको संस्कृति, शैली र रहनसहनको पनि चर्चा गरिएको छ । इटालिन भाषा र युरोपका विभिन्न स्थानीय भाषाको प्रयोग बढी चाख लाग्दो बनेको छ पुस्तक ।

यात्राका क्रममा गर्नु पर्ने सावधानी र राहधानी हराउँदा परेको वित्याँस् जस्ता सन्दर्भलाई पनि यात्रावृत्तान्तमा चर्चा गरिएको छ । विविध स्थानहरूको सही वर्णन र व्यवहारिक सुझावले एकातिर नियात्रा वा यात्रावृत्तान्तको यो पुस्तक लेखकीय नमुना बन्न पुगेको छ भने यात्राका जटिलतामा पनि धैर्य गरेर कसरी यात्रालाई रोमाञ्चक बनाउन सकिन्छ भन्ने नमुना पनि पुस्तकमा वर्णन गरिएको छ ।

जहाँ गए पनि लेखकले हाम्रो नेपाली धर्म संस्कृतिलाई बिर्सिएका छैनन् । पथप्रदर्शक केन्जोको चर्चा उल्लेख्य रूपमा गरिएको छ । स्विट्जरल्यान्डबाट इटाली यात्रा गर्ने सन्दर्भको प्राकृतिक सुन्दरताको वर्णन अधिक छ पुस्तकमा  । नेपालका पर्यटकीय गन्तव्यसँग युरोपका विविध स्थानहरूको तुलना गरिएको छ पुस्तकमा । जति समय बाहिर बसे पनि लेखकको मनमा नेपाल छ । लेखकको हृदयमा शिलालेख जस्तै बनेर देशप्रेम बसेको सजिलै बुझ्न सकिन्छ ।

एकातिर यात्रासंस्मरणले त्यहाँका भौगोलिक सांस्कृतिक कुराहरूलाई उजागर गरेको छ भने अर्कातिर यात्राका क्रममा के कुरालाई केन्द्रमा राख्ने भन्ने सन्दर्भलाई पनि उठान गरिएको छ । यात्रा धेरैले गर्छन् खुट्टाले जमिनलाई छुन्छन्, नयाँ स्वादका खान खान्छन्, सके भने नयाँ कुरा किन्छन् तर ढुङ्गेलले हृदय संवेद्य भएर मन-मस्तिष्कले यात्राको विवरण यस्तोसँग प्रस्तुत गरिदिन्छन् कि पाठक पनि सँगै यात्रा गरिरहेको अनुभव गर्छन् । कहिल्यै युरोप नघुमेका यात्रुलाई पनि यस पुस्तकले सवर्णन युरोप घुमाइदिन सक्छ । यो लेखको सामर्थ्य पनि हो ।

नेपालीमा यात्रा संस्मरणको बाढी नै आएको छ यतिखेर । यतिखेर लगालत यात्रावृत्तान्त धेरै पुस्तक पढ्न पाइन्छन् । पछिल्लो पटक प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’ जस्तै यो पुस्तक ‘होहाहोला’ इमान्दारिताको मसीले लेखिएको प्रतीत हुन्छ ।

पन्ध्र वटा शीर्षकमा समावेश गरिएको यस यात्रासंस्मरणमा युरोपको एक फन्को मारेर पुनः अमेरिका फिर्दाको वित्तान्त रहेको छ । पढ्दा यस्तो लाग्छ यात्राको महत्त्व प्रचुर छ । यसै भन्न सकिन्न; कोलम्बसले यात्रा नगरेको भए अमेरिका पत्ता लाग्थ्यो-लाग्थेन ? यसो भनुँ न ‘पछि पत्ता लाग्थ्यो होला ।” यात्राको कत्रो भूमिका रहन्छ भन्ने दृष्‍टान्त यो जत्तिको बलियो अर्को हुँदैन होला सायद । यात्रसंस्मरणले नयाँ कुराको अन्वेषण गर्ने गर्छ । सम्भाव्य ठाउँहरूको यात्राबाट असम्भाव्य परिकल्पना र नयाँ क्षितिज उघार्ने काम यात्राले नै गर्ने हो । यदि तपाइँ नयाँ कुरा अनुभूत गर्न चाहनु हुन्छ भने नयाँ-नयाँ ठाउँमा घुम्न जानुपर्छ । यस्तै जीवन्त यात्राबाट सिर्जना भएको कृति हो कृष्णमुरारी ढुङ्गेलको ‘होहाहोला’ ।

फिनिक्स बुक्सले छापेको यो पुस्तकको शीर्षक अनौठो छ । झट्ट हेर्दा शीर्षकको सार्थकता भेट्टाउन मुस्किल पर्नेखालको छ । पुस्तक पूरै नपढीकन शीर्षकले भन्न खोजेको कुरो थाहा लाग्दैन । कुनै पाठकलाई एकघण्टाभित्र यसको शीर्षकको अर्थ खोज भनेर पुरस्कारकै व्यवस्था गरे पनि पत्ता नलाग्ने खालको पुस्तकको शीर्षकीकरण गरिएको छ ।

“मोहनदाइले चाहिँ होइन आज कोकाकोला खाऊँ न चिसो इटालियन भन्नुभयो । हाम्रा गाइड रोबर्टोले फ्लोरेन्समा ‘क’ को उचारण ‘ह’ हुन्छ भनेर हँसाएको थियो । कोकाकोला माग्दा ‘होहाहोला’ भनेर माग्नुपर्‍यो । विशेष गरी फ्लोरेन्सको स्थानीय भाषामा मात्र कोकाकोलालाई ‘होहाहोला’ भन्दा रहेछन् ।’ 

ढुङ्गेलले पुस्तकको आमुखमा व्याख्या गरे अनुसार पुस्तकको न्वारन गर्न लेखकलाई हम्मेहम्मे परेकाले यस्तो अनौठो शीर्षक राख्नु परेको वाध्यात्मक कुरा पनि उल्लेख गरेका छन् । अचानक हेर्दा यो यात्रावृत्तान्तको शीर्षक थोरै उटपट्याङ पनि लाग्नसक्छ तर पाठभित्र पसेपछि प्रतीकात्मक रूपमा यो शीर्षक सार्थक भएको सजिलै बुझिन्छ । खासमा यो पुस्तक युरोपको वर्णन हो र कोकाकोलाको दोस्रो अवतार पनि ।

पुस्तकः होहाहोला

विधाः यात्रावृत्तान्त

प्रकाशकः फिनिक्स बुक्स

मूल्यः ३०० ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?