+
+
यात्रा संस्मरण :

हतारमा हिरोसिमा

नोजोमी सुपर एक्स्प्रेस सिन्खानसेन दौडिरहेछ । पहाडमाथि सुन्दर बस्तीहरु देख्छु । हरियाली छ । सानो बजार छ । पहाडका खोँचहरु छन् । कतै नयाँ शैलीका आधुनिक घरहरु छन् त कतै जापानी शैलीका पुरातन घरहरु ।

गोविन्द गिरी ‘प्रेरणा’ गोविन्द गिरी ‘प्रेरणा’
२०७८ चैत २६ गते १४:१५

यति हतारमा हिरोसिमाको कार्यक्रम तय भयो कि म आफैं अचम्ममा परें । बिहानसम्म अत्तोपत्तो थिएन, आज हिँडिन्छ भन्ने । जाने भन्ने त थियो तर कसरी जाने, टुङ्गो थिएन ।

त्यसो त काठमाडौंमा प्रकाशजी र मैले बनाएको प्लान थियो– टोकियोबाट नागोया पुग्ने । त्यहीं घुमघाम र साहित्यिक कार्यक्रम गर्ने । एक रात त्यहीँ बसेर भोलिपल्ट हिरोसिमा पुग्ने । हिरोसिमाको अवलोकन गरेर एकदिन बिताउने र फर्कने । तर विविध कारणवश नागोयाको कार्यक्रम तय हुन नसकेपछि हिरोसिमाको कार्यक्रम झण्डै धरापमा परिसकेको थियो ।

हिरोसिमा नपुगी जापान–यात्रा कसरी पूरा होला ? तर अब म अपराह्न ४ः२९ मा योकोहामाबाट नोजोमी सिन्खानसेनबाट हिरोसिमातिर गुड्दै थिएँ । गुडेको के भन्नु, रेल सलल लिकमा चिप्लिरहेको थियो, द्रूत गतिमा । आरामदायी सिटमा बसेको थिएँ र झ्यालबाहिरका दृश्य चाख मानेर चाखिरहेको थिएँ ।

प्रकाशजी र भूमिका बहिनी रेलस्टेसनमा पुर्‍याउन आउनुभएको थियो । टिकट लिन मद्दत गर्नुभएको थियो । मैले चढ्ने रेल ४ नम्बरको ट्«कबाट जाने ठाउँसम्म देखाइदिनुभएको थियो, म अलमलमा नपरुँ भनेर । म ओरालो लाग्दै गरेको घामसँगै हिरोसिमातिर लागिरहेको थिएँ । जीवनमा पहिलोपल्ट बुलेट ट्रेनमा यात्राको अनुभव सँगाल्दै थिएँ । यो विशेष दिन थियो, ३१ जुलाई २०१८ ।

बुलेट ट्रेनका लागि जापान प्रख्यात छ । जापानमा सन् १९६४ को अक्टोबर १ देखि बुलेट ट्रेनको सुरmवात भएको हो, प्रथम टोकियो ओलम्पिक्सको समयमा । त्यो थियो, तोकाइडो सिन्खानसेन । त्यतिबेला परम्परागत एक्स्प्रेस रेलले ६ घण्टा ४० मिनेटमा तय गर्ने टोकियो–ओसाकाको दूरी यसले ४ घण्टामा पार गरेको थियो ।

सन् १९६५ मा त यो समय झन् ३ घण्टा १० मिनेटमा झरेको थियो । प्रथम सिन्खानसेन निर्माणको श्रेय चिफ इन्जिनियर हिदेओ सिमालाई जान्छ । त्यसैगरी जापनिज नेसनल रेल्वेजका प्रथम अध्यक्ष सिन्जी सोकोलाई पनि यसको श्रेय दिइन्छ ।

यिनले यो योजना कार्यान्वयनका लागि राजनीतिज्ञहरुको सहयोग लिन सफल भएका थिए । त्यस्तै, दोस्रो विश्वयुद्धमा विमान डिजाइनकर्ताका रूपमा काम गरेका तादानाओ मिकी, तादासी माचुदाइरा तथा हाजिमे कावानावेले तकनिकी विकासमा सहयोग पुर्‍याएका थिए ।

दुई अपवादबाहेक सिन्खानसेन आफ्नो समयका लागि विख्यात मानिन्छ । सन् १९९७ मा १८ सेकेन्ड र सन् २०१६ मा २४ सेकेन्ड ढिलो भएको थियो । सन् २०१६ मा दैवी प्रकोप ‘कन्ट्रोल’ गर्नै नसकिने कारणले गर्दा यसमा ढिलाइ भएको थियो ।

टापुको देश जापान । हिरोसिमामा अमेरिकाले अणुबम खसाएपछि विक्षिप्त भएको जापान । म त्यही घाइते स्थल जापानको हिरोसिमा जाँदै थिएँ । अचानक मेरो मन–मस्तिष्कमा ६–७ वर्षको हुँदा जन्मथलो टेक्कर सिस्नेरीमा महिलाहरुले गाएको गीत गुन्जियो–

खोला–खोला नहिँड्नुहोला
अम्रिकनले खसाल्ला बम–गोला ।

को थियो होला, यो गीतको रचनाकार । उसले पक्कै हिरोसिमामा अमेरिकाले बम खसालेकै विषयलाई गीत बनाएको हुनुपर्छ ।

नोजोमी सुपर एक्स्प्रेस सिन्खानसेन दौडिरहेछ । पहाडमाथि सुन्दर बस्तीहरु देख्छु । हरियाली छ । सानो बजार छ । पहाडका खोँचहरु छन् । कतै नयाँ शैलीका आधुनिक घरहरु छन् त कतै जापानी शैलीका पुरातन घरहरु । रेल–मार्गलाई सहज बनाउने पुल र सुरुङहरु छिचोल्दै नोजोमी गुडिरहेछ, चिप्लिरहेछ ।

रेल कुनकुन स्टेसनमा रोकिन्छ, त्यसको सूचना देखिन्छ । उद्घोषण हुन्छ । यो रेल नागोया, क्योटो, सिन ओसाका, सिन कोवे, ओकायामा हुँदै हिरोसिमा पुग्नेछ ।

टोकियो–हिरोसिमाको दूरी ८ सय ९४ किलोमिटर अर्थात् ५ सय ५९ माइल छ र नाजोमीले ४ घण्टा १ मिनेटमा पुर्‍याउँछ । प्लेनमा यो दूरी डेढ घण्टा मात्रको भएपनि मानिसहरु रेल–यात्रामै बढी रमाउने रहेछन् । कारण, विमानमा यात्राका लागि विमानस्थलको सुरक्षालगायत विभिन्न झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्छ । रेलमा त ठीक समयमा पुग्यो, चढ्यो । गन्तव्यमा पुगेपछि ओर्लियो, बाटो लाग्यो ।

रेल स्टेसन आएपछि यात्रुहरु कति छिटो ओर्लिएका र चढेका ? केवल ३–४ मिनेटमा ओर्लने–उक्लने काम सकिएर रेल प्रस्थान गरिसक्छ । समय व्यवस्थापनमा यो चुस्त र छरितोपनलाई के उपमा दिनु ?

घाम पश्चिमतिर निरन्तर ओरालो लागेको लाग्यै छ । रेल आफ्नै लयमा गतिमान छ । झ्यालबाहिरका दृश्य चलायमानझैं देखिन्छन् । सानो बेलामा मोटर चढ्दा घर–रुखहरु हिँडेको अनुभूति हुन्थ्यो र रमाइलो मानिन्थ्यो । अहिले त्यसको झझल्को आइरहेछ ।

रेलका कर्मचारीहरु डिब्बामा पस्दा झुकेर मौन अभिवादन गर्ने र अर्काे डिब्बामा जानुअघि फरक्क फर्केर पुनः अभिवादन गरेपछि मात्र जाने । यो विनम्र संस्कारले म अभिभूत भएँ । त्यो एकजनाले होइन, प्रत्येकले र प्रत्येकपटक । सायद यति विनम्र परम्परा संसारमै छैन कि ? मलाईचाहिँ थाहा छैन ।

शौचालय जान मनलाग्यो र गएँ । कति सफा र फराकिलो, विमानको भन्दा । छक्क पर्नुको पनि भाँती हुन्छ नि । बिछट्टै छक्क परेँ । त्यसो त अस्ति ल्यान्डमार्क टावर चढ्ने क्रममा कर्मचारीले भर्‍याङका रेलिङहरु अबिराम पुछिरहेको देखेको हुँ । त्यहीताका भएको ओलम्पिकमा मैदानदेखि आफूसम्बद्ध सबै ठाउँ सफा गरेर जापानीहरूले सफाइ र अनुशासनमा विश्वलाई देखाएको ज्वलन्त उदाहरण पनि सम्झिएँ ।

झण्डै पौने ७ बजे ओसाकाबाट रेल पुनः अघि बढ्न लाग्दा पश्चिममा घाम डुब्दै थियो । अन्त्यमा बहुप्रतिक्षित उद्घोषण सुनेँ– ‘अब हामी हिरोसिमा स्टेसन आइपुग्दैछौं । हिरोसिमा ओर्लने यात्रुहरू तयार हुनुहोला ।’

मैले सिटमाथिको क्याबिनबाट ब्याग निकालेँ र ओर्लन तयार भएका अरूसँगै लाइन लागेँ, ढोकाको छेउमा । रेल रोकियो, ढोका खुल्यो, यात्रु धमाधम निस्कन थाले । म पनि निस्किएँ । बाहिर निस्केपछि झलमल्ल रेलस्टेसन मेरो आँखामा पर्‍यो ।

म हिरोसिमा आइपुगेको थिएँ ।

प्रकाशजीले होटल बुक गरिदिनुभएको थियो । भन्नुभएको थियो, ‘रेलस्टेसनबाट मज्जाले हिँडेर पुगिने दूरीमा छ तर अलमल होला, ट्याक्सीमा जानुहोला । महँगो पर्दैन ।’

बिरानो ठाउँमा अलमल्ल पर्नुभन्दा आनन्दले पुग्नु नै बेस भनेर मैले एउटा ट्याक्सीलाई आफू बस्ने होटलको ठेगाना मोबाइलबाट देखाएँ । ट्याक्सीवालले ठेगाना हेरिसकेपछि पुलुक्क मेरो मुखमा हेर्‍यो र ट्याक्सीमा बस्न इसारा गर्‍यो ।

झ्यालबाट यसो यताउति हेर्दै थिएँ, ट्याक्सी त स्टेसनअगाडिको एउटा मूल बाटो क्रस गरेर तुरुन्तै दायाँ लाग्यो र दुईवटा भवनपछिको अर्काे भवनको अगाडि रोकियो । होटल आइपुगिसकेछ । मैले मिटरमा हेरेँ, जति सुरुमा उठेको थियो, त्यत्ति नै मात्र थियो । साँच्चै नजिकै पो रहेछ, ट्याक्सी चढ्नै नपर्ने दूरी ।

मैले ट्याक्सी भाडा दिएँ । उसले भाडा लियो र अभिवादन गरेर बिदा भयो ।

अहो ! यति थोरै दूरीमा पनि बिनाआनाकानी ट्याक्सी–यात्रा एउटा नेपालीले कल्पना गर्नै मुस्किल विषय हो । म अमेरिका बस्न थालेको डेड दशक बढी भयो । त्यसभन्दा अघि बेलायत, जर्मनी पनि बसेको हुँ ।

धेरैपल्ट विदेशको यात्रा गरेको छु र सरदर वर्षमा एकपल्ट नेपाल पुगेकै हुन्छु । तर हरेकपल्ट एयरपोर्ट जान र आउन नियमसङ्गत, कानुनसम्मतढङ्गले चलेको ट्याक्सी चढ्ने सुअवसर मैले पाउन सकेको छैन । यस जुनिमा पाइएला कि नपाइएला, त्यो पनि अनिश्चित देख्छु । विश्वको सर्वाेच्च शिखर सगरमाथाको देश नेपालमा जन्मेको मैले ।

म सम्झन्छु, सन् १९९५ मा साढे १३ महिना जर्मनी बसेर फर्कने क्रममा एउटा ३६ इन्चको टीभी किनेको थिएँ । त्यसलाई मैले मारबोर्ग सहरमा किनेको थिएँ र रेलमा ल्याएँ ।

रेलस्टेसन स्ट्याड आलेनडोर्फबाट म बसेको ठाउँ नजिकै थियो तर त्यत्रो टीभी बोकेर लैजान सम्भव थिएन । एउटा ट्याक्सीलाई डराई–डराई सोधेँ । उसले सहर्ष मान्यो र अति कम पैसा उठेको थियो मिटरमा । त्यसबेला म साँच्चैको अचम्ममा परेको थिएँ । नेपालमा त साँझ पर्‍यो कि रित्तो ट्याक्सीलाई खाली छैन भन्ने सुनेको, ओहो ! त्यति नजिक त हुँदैन, यति लाग्छ भनेर मिटरमा उठ्नेभन्दा बीसौं–तीसौं गुना बढी मागेको सुन्ने बानी परेको मलाई हुनसम्मको अचम्म भएको थियो ।

होटलमा चेक–इन गरेर विद्युतीय चाबी लिएँ र आफ्नो कोठामा लगेर ब्याग बिसाएँ । गर्मी थियो, चिसो खोलेँ । हातमुख धोएर फ्रेस भएँ अनि साँझको खाना बाहिरै खान र हिरोसिमाको रात्रिकाल अवलोकन गर्न होटलबाट बाहिरिएँ ।

रेलस्टेसनको छेउछाउ सडकका दुवैतर्फजसो रेस्टुराँहरू थिए । गल्लीभित्रसम्म गएँ, सानासाना रेस्टुराँहरु ग्राहकको सेवा गरिरहेका थिए, ग्राहकको प्रतीक्षा गरिरहेका थिए । एकाध रेस्टुराँको ढोकामा टाँसिएका मेनुहरु हेरेँ । गल्लीहरु सुनसान हुँदै थिए ।

मलाई यी गल्ली चहार्दा सन् २००० र २००३ मा लन्डनको पिकाडेली सर्कसवरिपरिका गल्ली चहारेको याद आयो । त्यहाँ भएका रेस्टुराँमा गुन्डाहरुले लुट्ने, पिट्नेजस्ता घटना हुन्छन् भन्ने सुनेकाले डराई–डराई ती गल्लीहरु हेर्न जान्थेँ ।

कतै यता पनि त्यस्तो त हुँदैन भन्ने सोचेर म चनाखो भई अघिपछि र दायाँबायाँ पनि हेर्दै थिएँ । अलिक चक्कर काटेपछि मैले केही खानेकुरा र पेय कोठामै लिएर जाने अनि आरामसाथ सोसल मिडियामा रमाउने निधो गरेँ ।

होटलको कोठामा पुगेपछि शिव खराल तथा यम कँडेलसँग सम्पर्क भयो । उहाँहरुले मलाई हिरोसिमाको बम खसेको ठाउँ घुमाउन भोलि बिहान ९ बजेतिर आउने बताउनुभयो । अनि म ढुक्कले आराम गर्दै खान–पिउन थालेँ ।

कोठाको टेबुलमा राखिएको सूचनामय फ्लायरमा त्यस होटलका ग्राहकलाई तातो पानीले सामूहिक स्नान गराउने सुविधा रहेछ । त्यो सुविधा रातको ११ बजेसम्म मात्र रहेछ । हतार–हतार खाएर म नुहाउने तयारीमा लागेँ ।

त्यहाँ लकरहरु राखिएका रहेछन्, जहाँ मानिसहरु पूरै निर्वस्त्र भएर जाने र नुहाइसकेपछि आएर लुगा लगाउने गरिरहेका थिए । म पनि लजाई–लजाई निर्वस्त्र भएँ र तातो पानीमा डुब्नुअघि अरूले झैं नुहाएँ । अनि तातो पानीमा डुबें ।

सुरूमा त पानीको तातो खप्न गाह्रो–गाह्रो भयो । तर पछि सहज भयो र आँखा चिम्लिएँ । मेरा अङ्ग–अङ्गलाई तातोपानीले स्पर्श गरेर बेग्लै आनन्द दिइरहेको थियो ।

यस्तो अनुभव मेरो जीवनमा पहिलो थियो ।

(लेखकको हालै सार्वजनिक यात्रा संस्मरण ‘टुप्लुक्क टोकियो’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?