+
+
नेपाल नम्बर एक दीपेश :

करिअरले बल्ल सार्थकता पायो

‘दुई वर्षअघि पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने जत्तिकै खुसी वरीयतामा शीर्ष स्थानमा पुगेपछि पाएको छु,’ दीपेशले अनलाइनखबरसँग खुसी साटे, ‘विकास दाइलाई हराएपछि सुरु भएको मेरो करिअरले अब सार्थकता पाएको छ ।’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ चैत २७ गते २१:४५

२७ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले २०६६ सालमा आयोजना गरेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा तत्कालीन नम्बर एक विकास श्रेष्ठ क्वार्टरफाइनलमै पराजित भए । विकासले हार्नुभन्दा उनलाई हराउने खेलाडीमा धेरैको नजर थियो ।

उनी थिए, कञ्चनपुरबाट पहिलोपल्ट काठमाडौं आएर राष्ट्रियस्तरको प्रतियोगिता खेलेका दीपेश धामी । राष्ट्रिय च्याम्पियनलाई अन्तिम ८ बाटै घर पठाएका दीपेशको यात्रा सेमिफाइलनलमा रोकियो । तर उनले त्यसबेला नै सोचेका थिए, कुनै दिन शीर्ष खेलाडी बन्नेछु । १३ वर्षपछि दीपेशको त्यो अठोट पूरा भयो ।

नेपाल ब्याडमिन्टन संघले शनिबार जारी गरेको नयाँ वरीयतामा दीपेश शीर्ष स्थानमा पुगेका छन् । रत्नजीत तामाङले ८ वर्षसम्म होल्ड गरेको शीर्ष वरियतामा आफूलाई पाउनु दीपेशका लागि गर्वको क्षण थियो ।

‘दुई वर्षअघि पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने जत्तिकै खुसी वरीयतामा शीर्ष स्थानमा पुगेपछि पाएको छु,’ दीपेशले अनलाइनखबरसँग खुसी साटे, ‘विकास दाइलाई हराएपछि सुरु भएको मेरो करिअरले अब सार्थकता पाएको छ ।’

नेपाली ब्याडमिन्टनमा दीपेश ‘अण्डर डग’का रुपमा थिए, उपाधिमा भने चुकिरहे । ‘जति गर्दा पनि उपाधि जित्न नसक्दा एक प्रकारको निराशा बढेको थियो,’ उनले सुनाए । आफ्नै क्षेत्रमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा विकाससँग फाइनलमा हारेका दीपेशका लागि २०७३ मा पूर्वाञ्चालमा भएको सातौं राष्ट्रियमा रत्नजीत बाधक बने । २०७६ मा दाङमा भएको आठौं राष्ट्रिय खेलकुदमा रत्नजीतलाई नै हराएर पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने ।

ब्याडमिन्टनमा हरेक आधिकारिक प्रतियोगितामा पुरुषतर्फ उपाधि विजेताले १ हजार वरीयता नम्बर पाउँछन् । पहिलो चरणदेखि फाइनलसम्मको फरक–फरक वरीयता अंक निर्धारण गरिएको छ । संघले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा अतिरिक्त ५० अंक पाइन्छ । १३ वर्षको करिअरमा यही अंकहरु जोडिएर दीपेशको २८ हजार ८७० अंक पुगेको छ । दोस्रो स्थानमा झरेका रत्नजीतलाई उनले झण्डै १ हजार अंकले पछि पारेका छन् ।

नेपाल ब्याडमिन्टन एकेडेमी र काठमाडौं जिल्ला ब्याडमिण्टन संघले मंसिरमा आयोजना गरेको कर्पोरेट राष्ट्रिय टिम च्याम्पियनसिप ब्याडमिण्टन खेलेपछि शीर्ष वरीयताका रत्नजीत र विकास श्रेष्ठ स्थानीय प्रतियोगिता खेल्न आफ्नै पहलमा अमेरिका पुगे । उनीहरु अहिलेसम्म फर्किएका छैनन् ।

घरेलु प्रतियोगितामा रत्नजीतको अनुपस्थिति दीपेशका लागि शीर्ष स्थानमा पुग्न अनुकुल बन्यो । ‘ब्याडमिन्टन खेलेपछि एकपल्ट राष्ट्रिय च्याम्पियन बन्ने र शीर्ष वरीयतामा पुग्ने सपना सबैको हुन्छ,’ दीपेशले भने, ‘यो सफलता मेरो करिअरको कोशेढुंगा नै हो ।’

सफलता पाउन जति कठिन छ, त्यसमा टिकिराख्नु त्यति नै चुनौतीपूर्ण छ । यो बुझेका दीपेश अबको चुनौतीका लागि तयार छन् । २५ वर्षीय दीपेशले थपे, ‘जुनसुकै समयमा आफूलाई तयार राख्नुपर्ने हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा राम्रो गर्न शारीरिक र मानसिक रुपमा आफूलाई फिट राख्ने प्रयास गर्नेछु ।’

दक्षिण एसियाली खेलकुदमा पुरुष एकलतर्फ नेपालले अहिलेसम्म पाएको ठूलो सफलता कांस्य पदक हो । सन् २०१५ मा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका दीपेशले १२औं दक्षिण एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालमै भएको १३औं सागमा उनीसहितको नेपाल टिमले कांस्य पदक जितेको थियो ।

शीर्ष वरियता प्राप्त गरेपछि दीपेशको अबको लक्ष्य अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्नु हुनेछ । त्यसका लागि दक्षिण एसियालीस्तरमा आफ्नो प्रदर्शन सुधार गर्नुपर्नेछ । ‘अहिले नै स्वर्ण जित्छु त भन्दिन । किनभने भारत भनेको विश्व व्याडमिन्टनमै अग्रणी मुलुक हो । तर म नेपालको नतिजा सुधारको प्रयास गर्नेछु,’ उनले भने ।

एउटा जितले मोडिएको करिअर

नेपाल टेलिकमका जागिरे हरक धामी फिटनेसका लागि ब्याडमिन्टन खेल्थे । आँगनमै ब्याडमिन्टन कोर्ट थियो । बुबाले खेलेको देखेर दीपेश रहरले ब्याडमिन्टन र्‍याकेटको सम्पर्कमा पुगेका थिए ।

१० कक्षा पढ्दा काठमाडौंमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा यू–१५ च्याम्पियन बनेका दीपेशले सिनियरतर्फ कांस्य जिते । क्वाटरफाइनलमा तत्कालीन राष्ट्रिय च्याम्पियन विकासलाई हराएपछि उनको करिअर व्यवसायिकतातर्फ मोडिएको हो ।

‘काठमाडौं आउँदासम्म ब्याडमिन्टन खेलाडी बन्छु भन्ने थिएन । त्यो प्रतियोगिता राम्रो भएपछि सबैले यसलाई निरन्तरता दिनुपर्छ भन्न थाले,’ दीपेश स्मरण गर्छन् ।

एसएलसी दिएपछि परिवारले नै प्रशिक्षणका लागि भारत पठायो । दुई वर्ष हैदरावादको प्रतिष्ठित एकेडेमीमा सिकेको सीपले दीपेशलाई अहिलेसम्म सहयोग पुगेको छ । भन्छन्, ‘छोटो समय त्यहाँ बसेँ तर, धेरै कुरा सिक्न पाएँ । सन्तुलित र वैज्ञानिक प्रशिक्षणले मलाई अहिलेसम्म प्रेरणा मिलिरहेको छ ।’

भारतमा प्रशिक्षण गरेपछि २०६८ मा सुदूरपश्चिममा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा सिनियरमा एकलतर्फ उपविजेता बने । यतिबेला विकाससँग फाइनलमा पराजित रहे । त्यसयता दीपेशले राष्ट्रियस्तरका वरीयताप्राप्त प्रतियोगिता खेल्दै गए । रत्नजीत तामाङको अगाडि सधैं छायामा परेका उनी लगातारको असफलताले निराशाको क्षणसम्म पुगेको स्मरण गर्छन् ।

‘४/५ वर्ष त मलाई धेरै गाह्रो भयो । जति राम्रो खेल्दा पनि किन जित्न सक्दिन भन्ने लाग्थ्यो,’ चार वर्ष त्रिभुवन आर्मी क्लबबाट करारमा खेलेका दीपेशले भने, ‘हरेक प्रतियोगितामा सेमिफाइनल/फाइनलमा पराजित हुँदा कसलाई पो राम्रो लाग्थ्यो र !’

आठौं राष्ट्रिय खेलकुदअघि उनी अर्को विभागीय टोली एपीएफको जागिरे भए । त्यसपछि हो उनको प्रदर्शनमा उल्लेखनीय सुधार हुन थालेको । ‘सफलताका लागि एउटा लक्ष्यमा केन्द्रित रहनुपर्छ । राष्ट्रिय च्याम्पियन भइसकेपछि दबाव पनि हुने रहेछ । किरण थापा गुरुले पनि राम्रो सहयोग गरिरहनुभएको छ । यो स्तरमा आएपछि अझै राम्रो प्रदर्शन गर्ने हौसला मिलेको छ,’ उनले भने, हरेक प्रतियोगिता सकिएपछि राम्रो र नराम्रो पक्षको समीक्षा गरिरहेको हुन्छु । सबै कुराको सन्तुलनताले मात्रै राम्रो गर्न सकिने हो ।’

एपीएफ क्लबमा खेल्न थालेको एक वर्ष नहुँदै राष्ट्रिय च्याम्पियन बने । ब्याडमिन्टनका राष्ट्रिय प्रशिक्षक किरण थापाले उनलाई प्रशिक्षण दिन्छन् । थापाले नै सन्चालन गरेको कम्प्लिट ब्याडमिन्टन क्लबमा प्रशिक्षण गरिरहेका छन् । ‘स्म्यास, फोरह्याण्ड/ब्याकह्याण्ड र नेटमा उसले पहिलेदेखि नै राम्रो गर्दै आएको छ,’ प्रशिक्षक थापाले भने, ‘रक्षात्मक खेलमा सुधार गर्नुपर्नेछ ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?