+
+

यी व्यक्तिले किन लगाए ९० पटक कोभिड भ्याक्सिन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १२:१५

बुस्टर डोजसहित धेरैमा ३ पटकसम्म कोभिड खोप लगाउने गरिएको छ, साधारणतया । तर जर्मनीमा एकजना व्यक्तिले भने ९० पटक कोरोना खोप लगाएका छन् ।

उनले आठ दर्जनभन्दा धेरै पटक कोरोना खोप लगाउनुको कारण कोरोनाबाट जिन्दगीभर बाँच्नका लागि भने होइन रहेछ । यसको निकै अनौठो कारण छ ।

वास्तवमा खोप लगाएका कार्डहरू बेचेर पैसा कमाउने धन्दा उनको रहेछ ।

पश्चिमा मुलुकहरूमा कोभिड खोप लगाउनै नचाहने मानिसहरूको संख्या धेरै हुँदा सरकारहरूले सबै नागरिकलाई कोभिड खोप पुर्‍याउने अभियान मै सफल हुन सकेका छैनन् । त्यस्तै कोरोना खोप लगाउन नचाहने व्यक्तिलाई आफू खोप लगाएका वास्तविक व्याच नम्बरसहितका कार्ड बिक्री गर्ने धन्दा ती वृद्धले गर्दा रहेछन् ।

जर्मनीको स्याक्सोनी राज्यस्थित मागडेबर्ग सहरमा बस्ने ६० वर्षका ती व्यक्तिको नाम भने खुलाइएको छैन । पछिल्ला धेरै महिनादेखि लगातार खोप लगाउँदै आएका रहेछन् । अन्ततः हालै त्यहाँको अपराध अनुसन्धान गर्ने प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो ।

इलिनबर्गस्थित खोप केन्द्रमा उनी पक्राउ परेका हुन् । अघिल्लो दिन पनि खोप लगाएका उनी दोस्रो दिनसमेत खोप लगाउन आएपछि शङ्का लागेर उनलाई नियन्त्रण लिई सोधपुछ गर्दा उनको कर्तुतको पर्दाफास भएको हो ।

ती वृद्धविरुद्ध अनधिकृत रुपमा खोप कार्ड जारी गरेको तथा सरकारी कागजात कीर्ते गरेकोलगायतका अभियोगमा अनुसन्धान भैरहेको छ । प्रहरीले उनीसँगबाट धेरैवटा खाली खोपकार्ड बरामद गरेको छ ।

विभिन्न ब्राण्डका ९० वटा खोप लगाउँदा ती व्यक्तिको स्वास्थ्यमा कस्तो असर पर्ला भन्ने विषयमा अझै प्रष्ट भैसकेको छैन ।

स्मरण रहोस् भ्याक्सिन कार्ड विषयमा हुने गरेका ठगी तथा कीर्तेहरूका विरुद्धमा जर्मन प्रहरीले पछिल्ला दिनहरूमा व्यापक अनुसन्धान गरिरहेको छ । कोभिड खोप लगाउन नचाहनेहरूले यस्ता किर्ते कार्डहरू खरिद गर्ने गरेका छन् ।

जर्मनीमा कोभिड खोप लगाएको कार्ड नभएसम्म सार्वजनिक स्थानहरू, स्विमिङ पुल, रेष्टुरेन्टलगायतमा प्रवेश गर्न दिइँदैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?