+
+
वर्ष २०७८ मा फुटबल :

अल्मुताइरी छाएको वर्ष

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत २८ गते १३:४२

२८ चैत, काठमाडौं । वर्ष २०७८ मा नेपाली फुटबलको सबैभन्दा ठुलो उपलब्धी साफ च्याम्पियनसिपमा फाइनल पुग्नु रह्यो । नेपाल अहिलेसम्म साफमा फाइनल पुगेको थिएन भन्ने तथ्य यसै वर्ष तोडियो । तर फाइनलमा भारतसँग पराजित हुँदा ऐतिहासिक उपाधि जित्ने नेपालको धोको भने पूरा हुन सकेन ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदान भित्र होस् या मैदान बाहिर पूरै छाए । अझ सामाजिक सञ्जालमा उनको सक्रिएता हेर्नलायक थियो । उनी विवादमा पनि परे । राजीनामा दिन्छु भन्ने देखि नेपाल फर्कन्न भनेरसमेत घुर्काए । अन्तत: उनी दुई वर्षको सम्झौता थप गर्दै नेपाल आए ।

अल्मुताइरीकै भाषामा भन्दा नेपालले तीन लक्ष्य प्राप्त गर्‍यो । साफको उपविजेता, एसियन कप छनोटको दोस्रो चरण पार गर्दै तेस्रो चरणमा पुग्नु र नयाँ नेपाली टिम तयार पार्नु ।

नेपालले भारतसँग मात्रै यस वर्ष ४ खेल खेल्यो । तर जित निकाल्न सकेन । जसमा नेपाल तीन खेलमा पराजित भयो भने एक खेलमा मात्र भारतलाई बराबरीमा रोक्न सफल भयो ।

यस्तै नेपालले एसियन पावर हाउसहरु इराक, अष्ट्रेलिया अनी जोर्डन र  थाइल्याण्ड जस्ता टिमहरुसँग पनि खेल्यो । यी पावर हाउससँगको खेल अनुभव बटुल्ने अवसरको रुपमा मात्र रह्यो ।

इराक र थाइल्याण्डजस्ता बलिया टिमसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो पटक अफ्रिकन राष्ट्र मरिसससँग पनि मैत्रीपूर्ण खेल खेल्यो ।

नेपालले यस वर्ष कूल १४ खेल खेल्दा ५ खेल जित्यो । ७ खेलमा पराजित हुँदा २ खेलमा भने बराबरी गर्‍यो । भारतबाहेक नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।नेपालले अन्तर्राष्ट्रिय स्तरमा साफदेखि विश्वकप छनोटसम्मको खेल खेल्यो ।

घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लब अपराजित रहँदै लिग च्याम्पियन बन्यो । तर पहिलो पटक महादेशीय प्रतियोगिता एएफसी कपमा डेब्यु गरेको मछिन्द्र पहिलो खेलमै पराजित हुँदा समूह चरण पुग्न असफल रह्यो ।

उमेर समूहको महिला फुटबलमा नेपाल फेरि असफल रह्यो । नेपाल, भारत र बंगलादेश सम्मिलित साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल खेलेको चारवटै खेलमा पराजित भयो ।

तेस्रो संस्करणसम्म आइपुग्दा नेपालको नतिजा कमजोर हुँ गएको छ भने उपाधि जित्ने चाहनामा मात्र सिमित बनेको छ ।

शहीद स्मारक बी डिभिजन लिग पनि आयोजना भयो । चर्च ब्वाइज युनाइटेड बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भयो । सी डिभिजन छनोट हुँदै सी डिभिजन जितेको चर्च ब्वाइजले शीर्ष डिभिजनमा उडान भरेको छ ।

यस्तै खुमलटार युथ क्लब दोस्रो स्थानमा रहेर ए डिभिजनमा बढुवा भयो ।

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डको उपाधि विभागीय टोली एपीएफले जित्यो । एपीएफले मनाङ मर्स्याङ्दीलाई हराएर पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

यस्तै सर्वाधिक २१ लाख नगद पुरस्कार भएको खप्तड गोल्डकपको उपाधि भने मनाङ मर्स्याङ्दीले जित्यो ।

झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी फुटबल क्लबले निरन्तर कब्जा जमायो ।

साफ च्याम्पियनसिपमा ऐतिहासिक उपलब्धि

यसअघि नेपाल एकपटक पनि साफको फाइनल पुग्न सकेको थिएन । तर यस पटक भने नेपालले फाइनल पुग्नै नयाँ इतिहास बनायो । त्यसको खाका बुन्ने काम प्रशिक्षक अलबुद्ला अलमुताइरीले गरे ।

यस पटक साफ च्याम्पियनसिपमा ५ टिम मात्र सहभागी थिए । सहभागी टिमले राउण्ड र विन लिगका आधारमा एक आपसमा खेलेपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेलेका थिए ।

नेपालले वर्ष २०७८ मा खेलेका सबै खेल उनै अल्मुताइरीको प्रशिक्षणमा थियो ।

वर्षको पहिलो खेल इराक विरुद्ध र अन्तिम खेल थाइल्याण्ड विरुद्ध रह्यो । दुवै खेलमा नेपाल पराजित भयो ।

नेपाल र मरिससबीचको खेल, दशरथ रंगशाला काठमाडौं ।

माल्दिभ्सलाई १-० ले पराजित गर्दै सुरु गरेको नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भारतसँग १-० ले पराजित हुँदा नेपालका लागि अन्तिम खेलमा बंगलादेशसँग हार्न नहुने समिकरण बन्यो । यस्तोमा एक गोलले पछि परेर पनि अन्जन विष्टको पेनाल्टी गोलमा १-१ को बराबरी खेल्दै नेपालले शीर्ष दुईमा रहेर भारतसँग फाइनल भेट गरेको थियो ।

तर भारतसँग ३-० ले पराजित हुँदै उपविजेतामै चित्त बुझाउनु पर्‍यो ।

साफ च्याम्पियनसिपमा नेपालले कूल ५ खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो । फाइनलसहित भारतसाग दुई पटक पराजित भयो भने बंगलादेशसँग बराबरी खेल्यो ।

एएफसी यू-२३ एसियन कप छनोटमा नेपालको प्रदर्शन यस पटक पनि सम्झन लायक रहेन । समूह एमा नेपालले खेलेको ३ वटै खेलमा पराजित हुँदै जितिविहन बन्यो ।

महिला उमेर समूहमा खस्कँदो प्रदर्शन

यस वर्ष महिलाको सिनियर टिम र जुनियर टिमले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्‍यो । सिनियर टिमले एएफसी एसिया कप महिला छनोट खेलेको थियो । एसिया कपमा छनोट हुने लक्ष्य बनाए पनि सफल हुन सकेन । फिलिपिन्स विरुद्ध अग्रता लिएर पनि अन्तिम समयमा गोल खाँदा नेपाल चुकेको थियो । नेपाल, फिलिपिन्,स रहङकङ रहेको यस समूहबाट फिलिपिन्स विजेता बनेर भारतमा भएको एसिया कपमा छनोट भयो ।

नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा चोटका कारण अनुपस्थित हुँदा पनि नेपाललाई घाटा लाग्यो । साम्बाले करिब १३ महिनापछि चोटबाट निको भएर राष्ट्रिय महिला लिगमार्फत नै मैदानमा भने पुनरागमन गरेकी छन् ।

उमेर समूहमा नेपालले साफ यू-१९/यू-१८ च्याम्पियनसिप दुई पटक खेल्यो । बंगलादेशमा पुसमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको थियो ।

तर बंगलादेश र भारतलाई हराउन नसकेपछि फाइनलमा नै पुगेन ।

त्यो पुस्ताका केही खेलाडी नभएपछि भारतमा चैतमा भएको साफ यू-१८ को तेस्रो संस्करणमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । तीन टोली मात्र समावेश डबल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा नेपालले खेलेका सबै ४ खेल हार्‍यो ।

भारतसँग निरीह जस्तै बनेको नेपालले बंगलादेश विरुद्ध एक खेलमा अग्रता लिएर पनि कायम राख्न सकेन र पराजित भयो ।

०००००

इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपालले फिफा विश्वकप/एएफसी एसियन कपको संयुक्त छनोटको तयारी गरेको थियो ।

त्यसपछि दोस्रो चरणको छनोट खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० ले हरायो । तर जोर्डन र अष्ट्रेलियासँग भने नेपाल ३-० ले पराजित भयो ।

विश्वकप छनोटमा बाँकी रहेको ३ खेल नेपालले सेन्ट्रल भेन्युमा खेलेको हो । समूहमा पाँच टिम मध्ये चौथो भएको नेपाल नयाँ प्रावधान अनुसार प्लेअफ नखेली सिधै तेस्रो चरणको लागि छनोट भयो ।

अन्तिम चरणको छनोटमा पनि नेपाल जोर्डन र कुवेतसँगै इन्डोनेसिया रहेको समुह एमा छ ।

यस्तै नेपालले यस वर्ष कूल ६ वटा मैत्रीपूर्ण खेल खेल्यो । जसमा इराकसँगै थाइल्याण्ड जस्तो बलियो टोली पनि थियो ।

यस्तै भारत र मरिससँग घरेलु मैदानमा दुई-दुई खेल खेल्यो । भारतसाग एक बराबरी र एक हारको नतिजा निकालेको नेपालले मरिससलाई दुवै खेलमा समान १-० ले हरायो ।

यस वर्ष ६ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा नेपालले २ खेल मात्र जित्यो ।

११ खेलाडीको डेब्यु

गत चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्ष भित्र १२ खेलाडीलाई डेब्यु गराइसकेका हुन् । त्यसमा उनले नेपाली टिम सम्हालेको पहिलो खेलमा नेपालले ईराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यू गराए । यस्तै कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले इञ्जुरी टाइममा खेल्दै डेब्यू गरे ।

यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको खेलमा डेब्यू गरे । अलमुताइरीको आगमनपछि दशरथ रंगशालामै ६ खेलाडीले नेपालका लागि डेब्यू गर्ने मौका पाए ।

नयाँ खेलाडीलाई डेब्यू गराउँदै एक्पोजर र अनुभव बटुल्ने माौका दिएका अलमुताइरीले माघमा मरिसस विरुद्ध पहिलो खेलमा  मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगरलाई डेब्युको अवसर दिए । यस्तै मरिसस विरुद्धको दोस्रो खेलमा नविन गुरुङले डेब्यु गरे ।

चैतमा थाइल्याण्ड विरुद्धको खेलमा प्रशान्त अवस्थीले पनि डेब्यु गरे ।

मछिन्द्र अपराजित लिग च्याम्पियनएएफसी कपमा असफल

मछिन्द्र पुटबल क्लबले अपराजित रहँदै यस वर्षको शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्दै नयाँ शक्तिको रुपमा आफूलाई उभ्यायो । यसअघि २०७६ मा स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक लिग जितेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि उचालेको हो । कोरोनाका कारण २०७७ मा लिग हुन सकेन ।

लगातार लिग च्याम्पियन बन्ने क्रमम मछिन्द्रले १३ मध्ये ११ खेल जित्यो भने दुई खेलमा बराबरी खेल्यो । पहिलो खेलमा एनबरटी विरुद्ध र अन्तिम खेलमा एपीएफ विरुद्ध २-१ को जितमा बाहेक मछिन्द्रले कुनै खेलमा गोल खाएन । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले लगातार एक हजार ९५ मिनेट गोल नखाएर कीर्तिमान बनाए ।

उनै विशालसांगै मच्छिन्द्रका विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बने । तीन जनाले मनाङ मर्स्याङ्दी र मछिन्द्रबाट दुई-दुई पटक लिग जितेका हुन् ।

मछिन्द्रले लिग जितेवापत नगद ७५ लाख पनि पायो ।

लिगको सातौं चरणमै शीर्ष स्थानमा रहेर एएफसी कपमा स्थान पक्का गरेको मछिन्द्रले एएफसी कपमा भने राम्रो प्रदर्शन गर्न सकेन ।

समूह चरण पुग्ने लक्ष्य बनाएको मछिन्द्र पहिलो चरणको खेलमा घरेलु मैदानमै श्रीलंकन क्लब ब्लु स्टार स्पोर्टिङ क्लबसँग २-१ ले पराजित हुँदै बाहिरियो । वरीयतामा अघि रहेकोले मछिन्द्रले ३रेलु मैदानमा खेल्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

वर्षको सुरुमावतामा त्रिभुवन आर्मी फुटबल क्लबले मछिन्द्रको सट्टा एएफसी कपको प्रार्भिक चरण खेलेको पहिलो । पहिलो खेलमा श्रीलंकन पुलिसला२ दशरथ र्गशालमा सहजै पराजित गरेको आर्मी दोस्रो चरणमा भने भारतको बेंगलुरुसँग पराजित हुँदै बाहिरिइको थियो ।

अघिल्लो पटक मछिन्द्रले लिग जितेपनि क्लब लाइसेन्स नभएपछि बर्मीले भाग्यमानी बन्दै खेल्ने अवसर पाएको थियो ।

नेपाल सुपर लिगको सफल आयोजनादेखि विवादसम्म

पहिलो पटक नेपाली फुटबलको इतिहासमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना भयो ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको पहिलो संस्करणको एनएसएलमा विकेश कुथु कप्तान र बालगोपाल महर्जन प्रशिक्षक रहेको काठमाडौं रेजर्स च्याम्पियन भयो ।

पहिलो सिजन ८ टोलीले प्रतिस्पर्धा गरेको एनएसएलमा युरोप सम्मका खेलाडीले खेले ।

एनएसएलबाट खेलाडीको कमाई राम्रो हुँदा केही युवा प्रतिभा पनि जन्मिए । एनएसएलमा राम्रो खेलेकै कारण युवा खेलाडी आयुष घलानले राष्ट्रिय टिममा अवसर पाएका थसिए ।

तर वर्षको अन्त्यतिर दोस्रो संस्करण गर्ने आयोजकले तयारी गरेपनि यस पटक विवादले गर्दा स्थगित भयो । ए डिभिजन क्लबले आफ्नो खेलाडी रिलिज नहुँदै एनएसएलका लागि अक्सनमा समावेश गराएको भन्दै विरोध गरेपछि एनएसएलको भविष्य नै अन्योलमा परेको हो । सिधा हेर्ने हो भने यो लिग भर्सेस एनएसएल जस्तो भयो ।

अल्मुताइरी छाएको वर्ष

वर्ष २०७८ मा नेपाली फुटबलले हासिल गरेको उपलब्धि अनी फुटबलसँग जोडिएका धेरै घटनामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मजाले छाए । यही वर्ष उनले नेपालको प्रशिक्षकमा डेब्यु गरे । नेपाललाई पहिलो पटक साफ च्यम्पियनसिपको फाइनलमा पुर्‍याए । एएफसी कपमा पनि नेपाल तेस्रो चरणमा प्रवेश गर्‍यो । इराक र थाइल्याण्ड जस्ता देशसँग नेपालले मैत्रीपूर्ण खेल खेल्यो ।

नेपाली टिमलाई एकजुट बनाउने काम उनैले गरे । वान टिम वान गोल जय नेपाल भन्ने नारासहित उनले नेपाललाई अघि सारे ।

मैदान भित्र उनले नतिजा दिलाए । तर मैदान बाहिर पनि उनी उत्तिकै सक्रिए रहे । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई जोडेर राजीनामा दिने नाटक पनि गरे । उनले नेपाल छाड्ने धम्की पनि ३ पटक दिए । अन्तत : नेपाल पर्कन राजी भए र ३ वर्षको सम्झौता गर्दै नेपाल आए ।

सामाजिक सञ्जालमा सक्रिए रहने अल्मुताइरी समर्थकहरुसँग पनि मज्जाले संवाद गर्छन् ।

वर्ष २०७८ मा फुटबल

१ एएफसी कप २०२१ प्रारम्भिक छनोट (दोस्रो चरण)

२ नेपाल सुपर लिग (एनएसएल)

३ छैटौं विराट गोल्डकप

४ इराक विरुद्ध मैत्रीपूर्ण खेल

५ विश्वकप छनोट (दोस्रो चरण)

६ सी डिभिजन छनोट

७ नेपाल भर्सेस भारत मैत्रीपूर्ण खेल (पुरुष)

८ नेपाल भर्सेस बंगलादेश मैत्रीपूर्ण खल (महिला)

९ एएफसी महिला एसिया कप छनोट

१० साफ च्याम्पियनसिप

११ एएफसी यू२३ एसिया कप छनोट

१२ उपमेयर कप राष्ट्रिय महिला लिग छनोट

१३ साफ यू१९ महिला च्याम्पियनसिप

१४ सहीद स्मारक ए डिभिजन लिग
१५ साफ यू१८ महिला च्याम्पियनसिप

१६ आहा रारा गोल्डकप

१७ मरिसस विरुद्ध मैत्रीपूर्ण खेल

१८ शहीद स्मारक बी डिभिजन लिग

१९ खप्तड गोल्डकप

२० झापा गोल्डकप

२१ राजर्षी जनक गोल्डकप

२२ जितपुर सिमरा गोल्डकप

२३ दमक गोल्डकप

२४ एएफसी कप २०२२ प्रारम्भिक छनोट (पहिलो चरण)

२५ राष्ट्रिय महिला लिग (पहिलो चरण )

२६ नेपाल फुटबल टिम थाइल्याण्ड भ्रमण

२७ इटहरी गोल्डकप

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?