+
+

जब लुंगी लगाएर फुटबल खेल्न निस्किए आमाहरु…

नुनुता राई नुनुता राई
२०७८ चैत २९ गते १२:५०

काठमाडौं । लमजुङको राइनस नगरपालिकाको प्यारजुङ गाउँको सिर्जनशील समूह अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि आमा समूहले फुटबल खेलेको भिडियो स्थानीय प्यारजुङ युवा क्लबले आफ्नो फेसबुक पेजमा राखेपछि उनीहरु चर्चामा छन् ।

भिडियो सार्वजनिक भएपछि धेरैले मन परेको भनेर कमेन्ट लेखेका छन् । भिडियोमा लुंगी लगाएका महिलाहरु फुटबल मैदानमा खेलिरहेको देख्न सकिन्छ । एकै आमा समूहका महिलाहरु हरियो र सेतो जर्सीमा उत्रिएका छन् । यो टोलीले गत वर्ष पनि यसैगरी फुटबल खेलेको थियो ।

प्यारजुङ फुटबल क्लबका अध्यक्ष विक्रम गुरुङ गत वर्ष आमा समूह आफैंले खेल्ने प्रस्ताव गरेपछि उद्घाटन खेल खेलाएको र यो वर्ष पनि निरन्तरता दिइएको बताउँछन् । उनी भन्छन्, ‘गत वर्ष उहाँहरुले नै हामी पनि फुटबल खेल्छौं भनेर प्रस्ताव राख्नुभयो । त्यसपछि टिम बनाउन भन्यौं । टिम बनाएर आउनुभएपछि उद्घाटन खेलको रुपमा खेलायौं । त्यसैगरी यो वर्ष पनि निरन्तरता दिएका हौं ।’ आमा समूह आफैं रमाइलोका लागि खेल्न खोजेपछि क्लबले खेलाउँदा आएको सकारात्मक प्रतिक्रियाले खुसी लागेको गुरुङ बताउँछन् ।

आमा समूहले रमाइलोका लागि खेलौं न त भनेर सल्लाह भएर प्रस्ताव गरेको आमा समूहकी सदस्य तीर्थमाया गुरुङ बताउँछिन् । उनले अनलाइनखबरसँग फोनमा कुरा गर्दा हाँस्दै सुनाइन् ‘रमाइलो हुन्छ । खेलौं न त भनेर खेलेको । लुंगी लगाएर पनि राम्रो खेलेछौ भन्दैछन् मान्छेहरुले ।’

उनीहरुले फुटबल खेलेको भिडियोमा आएको सकारात्मक प्रतिक्रिया देखेर उनलाई पनि खुसी लागेको छ । ‘हामी वर्षमा एकपटक खेल्ने हो । घरमा बस्दा पनि लुंगी नै लगाउँछौं । छोटो लगाउने बानी छैन त्यही भएर लुंगीमा नै खेल्यौं,’ उनी भन्छिन् । तीर्थमाया हरियो जर्सी समूहको टिम क्याप्टेन हुन् । खेलमा उनी गोल किपर बनेकी थिइन् ।

फुटबल टोलीमा ३५ देखि ५० वर्ष उमेरसम्मका महिला सहभागी भए । उनीहरुको खेल हेर्न गाउँभरिका मानिस आए । ३० मिनेटको खेलमा दर्शकसँगै खेलाडी महिलाले पनि रमाइलो गरे ।

सेतो जर्सी समूहकी क्याप्टेन हुन्, भूमिमाया गुरुङ । गत वर्ष उनको समूहले जितेको थियो यो वर्ष हार्‍यो । गाउँमा हुने फुटबल प्रतियोगितामा छोराहरुको खेल हेर्न जाँदा आफूहरुलाई पनि खेल्न मन लागेपछि प्रस्ताव राखेको सिर्जनशील आमा समूहकी उपाध्यक्ष समेत रहेकी भूमिमायाले बताइन् ।

त्यसपछि आमा समूहको महिला नै बाँडिएर खेल्ने निर्णय गरेर खेले । गत वर्ष ६० वर्ष उमेरसम्मका महिलाले खेलेका थिए । यो वर्ष स्वास्थ्य अवस्थाका कारण उनीहरु खेल्न सकेनन् ।

उनीहरुको रमाइलो खेल सामाजिक सञ्जालमा भाइरल भएसँगै आफन्तहरुले फोन गर्दै बधाई दिइरहेको सुनाउँछिन् भूमिमाया । ‘फुपू, काकाहरुले फोन गरेर कत्ति रमाइलो गरिरहेका रहेछौ । हामीलाई पनि आउन मन लाग्यो । तिमीहरुले खेलेर गर्‍र्यौं भन्नुहुन्छ,’ उनले भनिन् ।

गाउँमा उनीहरुको फुटबलको चर्चा अझै सेलाएको छैन । उनीहरुबाट प्रभावित भएर अन्य महिला उनीहरु खेलेको देखेर अर्को वडाका महिलाहरु पनि आउने वर्ष खेल्ने योजना बनाउन थालेको भूमिमाया सुनाउँछिन् । ‘हामी रमाइलोको लागि खेलेको हो । रमाइलो पनि भयो । त्यही भएर अर्को वडाका आमा समूह पनि अर्को वर्ष हामी पनि खेल्ने भन्दैछन् ।’

खेल हुने मिति तय भएर जानकारी गराएपछि सामान्य अभ्यास खेल खेल्छन्, आमा समूह । ‘रमाइलोको लागि खेल्ने भएकाले धेरै अभ्यास गर्नुहुँदैन । कहिलेकाहीं अभ्यास गर्नुहुन्छ । नत्र त त्यही दिन नै खेल्नुहुन्छ । तर उहाँहरुको खेल पनि अहिले आकर्षणको विषय बन्दै गइरहेको छ,’ क्लबका अध्यक्ष गुरुङले भने ।

क्लबको आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको फाइनल वैशाख १ गते हुँदैछ । त्यसदिन पनि एकछिन फुटबल खेल्ने भनेर आफूहरुले प्रस्ताव गरेको भूमिमायाले बताइन् । ‘अरु पुरस्कारको लागि खेल्ने हो । हामी छोराहरुले खेलेको देखेर रमाइलोका लागि खेलेका हौं । १ गते पनि खेल्ने तयारीमा छौं ।’

तस्वीर/भिडियो : प्यारजुङ युवा क्लबको फेसबुक पेजबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?