+
+

चितवनमा ५ पालिका प्रमुख दोहोरिने होडमा, दुई जनाले देखाएनन् चाह

सुवास पण्डित सुवास पण्डित
२०७८ चैत २९ गते १७:२८
ठाकुर ढकाल र रेनु दाहाल ।

२९, चैत, चितवन । पहिलोपटक स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीले एक कार्यकाल पूरा गर्ने चरणमा छन् । ३० वैशाख २०७९ मा घोषित चुनावका लागि दलहरुमा उम्मेदवारी छनोटका लागि गृहकार्य भइरहेको छ ।

हाल पालिकाको नेतृत्वमा रहेकाहरु पनि ‘पाँच बर्ष सिक्दैमा वित्यो भन्दै होस् वा नगरवासीले फेरि एकपटक दोहोर्‍याउन भनेको छन्’ भनेर होस्, दोहोरिन चाहन्छन् ।

चितवनका ७ मध्ये पाँच पालिकाका प्रमुख दोहोरिन चाहेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, माडी नगरप्रमुख ठाकुर ढकाल, कालिका नगरप्रमुख गोपी श्रेष्ठ, खैरहनी नगरप्रमुख लालमणी चौधरी पुनः मेयर दोर्‍होयाउने सुरमा छन् ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना प्रमुख गीता गुरूङ पनि फेरि एकपटक अध्यक्ष बन्ने भनेर तयारीमा जुटेकी छिन् ।

कांग्रेस र माओवादीको गठवन्धनबाट २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख बनेकी रेनु दाहाल यसपटक गठवन्धन नभए एक्लै चुनाव लड्ने तयारीमा छिन् ।

कांग्रेसले भरतपुरमा २०७४ मा सहयोग गरेकोले यसपटक कुनै पनि हालतमा माओवादीलाई मेयरमा सहयोग गर्न नसकिने अडान कांग्रेस चितवनको नेतृत्वले लिएको छ । कांग्रेसले सहयोग नगरे पनि महानगरको प्रमुखमा प्रतिस्पर्धा गर्ने सोच रेनुको छ । माओवादी कार्यकर्ताले नगरप्रमुखमा पुनः रेनु भनेर प्रचार सुरु गरिसकेका छन् ।

माडी नगरपालिका प्रमुख ठाकुर ढकालले एक कार्यकाल पुनः दोहोरिने इच्छा राखेका छन् । माओवादीबाट निर्वाचित मेयर ढकालले पार्टीले आकांक्षीहरूबारे सोधे आफूले पनि इच्छा जनाउने बताए । भन्छन्, ‘आफूले अगाडि बढाएका कामलाई टुंगोमा लगाउ भन्ने चाहाना छ, पाँच बर्ष पर्याप्त भएन ।’ यद्यपि को उम्मेदवार बन्ने भन्ने पार्टीले गर्ने निर्णय अन्तिम हुने उनले बताए ।

नेकपा एमालेबाट निर्वाचित बनेका कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ ‘गोपी’ र खैरहनीका मेयर लालमणी चौधरी पनि दोहोरिन चाहेका छन् । दुबैले नगर कमिटीमा नाम दर्ता गराएका छन् । खैरहनीकी उपप्रमुख सुनिता थपलियाबाहेक सबै पालिकाका उपप्रमुखले प्रमुखमा इच्छा देखाएका छन् ।

जसले देखाएनन् मेयरमा चाह

एमालेबाट निर्वाचित पूर्वी चितवनको दुई नगरपालिका राप्ती नगरप्रमुख प्रभा बराल र रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पुनः नगरप्रमुख बन्ने चाह देखाएनन् ।

एमाले राप्ती र रत्ननगर नगर कमिटीले आकांक्षीहरूको नामवाली दर्ता गराउन भनेको भएको थियो । तर बराल र बन दुबैले दावी पेश गरेका छैनन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी बरालले यसपटक पुरूषले नेतृत्व गरेको नगरपालिका हेर्न चाहेको बताइन् ।

सबैलाई अवसरको समान बाँडफाँट होस् र नेतृत्वमा पुग्न चाहना राख्नेहरूलाई नरोक्ने सोच आएको उनले बताइन् । ‘तलका साथीहरुको भावना, नेतृत्वमा पुग्ने चाहना र मनोविज्ञानलाई बुझेर फेरि मेयर बन्ने चाहना राखिन्’ नगरप्रमुख बरालले भनिन्, ‘अब माथिल्लो तहमा बसेर काम गर्ने इच्छा छ ।’

२०५४ सालमा स्थापना भएको स्थानीय निकायको निर्वाचनमा विजयी भएर रत्ननगर नगरपालिकाको पहिलो नगरप्रमुख बनेका नारायण वन २०७४ सालमा भएको अधिकार सम्पन्न स्थानीय तह निर्वाचनमा पनि जितेर दोस्रोपटक नगरप्रमुख बने । २०५४ मा खासै अधिकार थिएन, २०७४ मा भने सरकारकै अभ्यास गरेको अनुभव उनीसँग छ ।

रत्ननगर नगरपालिकाका प्रमुख बनले पनि पुन नगर प्रमुखमा नउठ्ने जनाएका छन् ।

‘आकांक्षी उम्मेदवारहरुको लामो भिडमा बसेर उम्मेदवारी दर्ता गराउन चाहिन, अब पुग्यो होला,’ २०५४ सालमै नगरको नेतृत्व गरेका वन भन्छन्, ‘पार्टीले तपाई फेरि उठनपर्छ हैं भनेको भए मैले दरखास्त हाल्थे होला, त्यस्तो केही पनि आएन ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?