+
+

महिलाको ‘लक्जरी’ र ब्रान्डेड ह्यान्ड ब्याग किन यति महंगो हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १९:०१

सर्वसाधारण व्यक्तिले पैसा भए घर बनाउने, गाडी किन्ने र कुनै कारोबारमा लगानी गर्ने सपना पालेको हुन्छ । तर हुनेखाने वर्गका विभिन्न सौख हुन्छन् । आफ्नो सौखका लागि उनीहरु करौंडौ पैसा खर्चिन्छन् ।

आफूलाई अरुभन्दा भिन्न देखाउन उनीहरु ब्राण्डमा ध्यान दिन्छन्, चाहे जतिसुकै महंगो किन नहोस् । संसारमा एउटा वर्ग यस्तो छ, जो सानो ह्याण्ड ब्यागका लागि पनि लाखौं–करोडौं रुपैयाँ खर्च गर्न पछि पर्दैन ।

त्यो वर्गले प्रयोग गर्ने ह्यान्ड ब्यागको  मूल्य सुनेर तपाईं छक्क पर्नुहुन्छ । हर्मेज, शनैल, फेन्डी, लुई बिटा, मार्क जैकब्स ब्रान्डका ह्याण्ड ब्याग किन्न करोडौं रुपैयाँ खर्च गर्नुपर्छ ।

अहिले पाकिस्तानमा यस्ता ब्राण्डेड ह्याण्ड ब्याग बोक्ने महिलाका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुनै महिलाको राजनीतिक नेतासँगको सम्बन्धबारे सुइँको पाए उनले प्रयोग गर्दै आएका हरेक चीजको मूल्य पत्ता लगाइन्छ । उनीहरुको रहनसहन तथा लवाइखवाइले सबैको ध्यान खिच्छ । यति मात्रै होइन उनीहरुलाई ब्रान्डेड तथा लक्जरियस वस्तु प्रयोगका लागि जवाफदेही ठहर्‍याइन्छ ।

पाकिस्तानकी फराह खान नामकी महिला अहिले भाइरल भएकी छन् । जसलाई प्रधानमन्त्री इमरान खानकी श्रीमतीको नजिक मानिएको छ । खानको घर बनी गालामा उनको आवतजावत चलिरहन्छ ।

राजनीतिक उथलपुथलका बाबजुद ती महिला दुबई गइरहेको तस्वीर पनि भाइरल भएको थियो । तर सामाजिक सञ्जाल प्रयोगकर्ताको नजर उनले प्रयोग गरेको ह्याण्ड ब्यागमा पर्‍यो ।

छालाबाट बनेको चम्किलो ह्याण्ड ब्यागको मूल्य एक करोड रुपैयाँभन्दा बढी भएको अनुमान गरिएको छ ।

किन यो ह्याण्ड ब्याग यति महंगो छ ?

फेसन डिजाइनर तथा समीक्षक मोहसिन सइदले यस्ता ब्रान्डेड वस्तुको मूल्य नै बढी हुने बताएका छन् । ‘बजारमा ब्रान्डेड र लक्जरियस वस्तुको ब्रान्डिङ, मार्केटिङ र बिक्रीको तरिका हुन्छ । यस्ता ब्रान्डेड वस्तुको मूल्य महंगो हुन्छ,’ सइदले भने ।

हर्मेज, शनैल, फेन्डी, लुई बिटा, मार्क जैकब्स ब्रान्डले एक दशकमा आफूलाई बजारमा स्थापित गरेको भन्दै उनले महंगा सामग्री कारखानामा नभई अर्डरअनुसार हातले नै बनाइने बताए ।

यो ब्रान्ड आइडियाको मूल्य र डिजाइनरको सम्पत्ति भएको उनको भनाइ छ । ‘यस्ता ह्याण्ड ब्याग कसैले पनि मूल्य हेरेर किन्दैन । यसमा प्रयोग हुने कच्चा पदार्थ गुणस्तरीय र सबैले मन पराउने हुनुका साथै त्यसको मर्मत गर्न किनेको मूल्यभन्दा महँगो पर्छ,’ सइद भन्छन् ।

यस्ता ब्याग गोहीको छालाबाट बन्छन् ?

हर्मेज ब्रान्डको बर्कन ह्यान्ड ब्याग गोहीको छालाबाट बन्ने मोहसिन बताउँछन् । साथै अष्ट्रिचको छालाबाट पनि यस्तो ब्याग बनाइन्छ ।

‘यी जनावर बाख्रा जस्ता होइनन्, दुर्लभ जनावरलाई पाल्नुपर्छ । तिनीहरुको छालालाई निकै मेहनतपछि प्रयोग गर्न लायक बनाइन्छ । गोहीको छालाबाट बनेको ब्याग रंगीन हुन्छ । यो मलमल होइन कि बजार गएर रंग लगाउन सकियोस् । लागतका कारण यसको मूल्य लाखौं पर्छ,’ सइद भन्छन् ।

किन सामान्य व्यक्तिको पहुँचमा छैन ?

हर्मेज जस्ता ब्रान्डको सामग्री सिधै किन्न सकिंदैन । यसका सामग्री बजारमा पाइँदैन । यो ब्रान्डका ब्याग किन्नका लागि कम्पनीलाई खबर गर्नुपर्छ ।

कम्पनीका प्रतिनिधिले ग्राहकसँग डिल गरेपछि ब्याग पाउने नपाउने टुङ्गो लाग्छ । प्रतिनिधिले ल्याएका ब्याग मन परे किन्न सकिन्छ । तर नयाँ ग्राहकले भने यो ब्रान्डका लागि महिनौं कुर्नुपर्ने हुन सक्छ ।

अमेरिकी शो होस्ट ओपरा विनफ्रेलाई ह्याण्ड ब्याग देखाउन इन्कार गरिएको थियो । सन् २०१३ मा स्वीट्जरल्याण्डको ज्युरिख सहरको एक ब्याग पसलले उनका लागि उक्त ब्याग महंगो भएको भन्दै देखाउन इन्कार गरेको थियो । जुन ब्यागको मूल्य ३८ हजार अमेरिकी डलर अर्थात् ४६ लाख नेपाली रुपैयाँ थियो ।

ओपरा ब्याग छुन चाहन्थिन्, हेर्न चाहन्थिन्, तर उनीमाथि भेदभाव गरिएको थियो । पछि यो कुरा मिडियामा आएपछि ब्रान्डका मालिकले उनीसँग माफी मागेका थिए ।

संसारको महंगो ब्याग

डायमण्ड हिमालय बर्कन नामको ब्याग संसारमा सबैभन्दा महंगो ब्रान्ड हो । यसको मूल्य ३ लाख अमेरिकी डलर तय गरिएको थियो । तर २०१७ मा दुर्लभ भएपछि मूल्य बढाएर चार लाख डलर कायम गरिएको थियो । यसरी हेर्दा डायमण्ड हिमालय बर्कनको ब्यागको नेपाली मूल्य ४८ करोड ४० लाख रुपैयाँ पर्छ ।

गोहीको विशेष प्रकारको छालाबाट बन्ने उक्त ब्याग सेतो र सुरमई रंगमा रंग्याइन्छ । सेतो रंगले सेताम्मे हिमालमा रहेका चट्टान जस्तो महसुस गराउँछ । यसमा १८ क्यारेट ह्वाइट गोल्डका साथै हीरासमेत प्रयोग गरिएको हुन्छ ।

पाकिस्तानमा ब्रान्डेड वस्तु प्रयोग गर्ने वर्ग

फेसन डिजाइनर मोहसिन सइदका अनुसार पाकिस्तानमा एक वर्ग पुस्तौंदेखि सम्पन्नशाली छ । जसले लाखौंका ब्याग र गरगहना प्रयोग गर्छन् । यद्यपि यो संख्या निकै कम छ । त्यो वर्गका मानिस सामान्य पहिरनमा सामान्य तरिकाले ब्रान्डेड ब्याग बोकेर हिंड्ने गरेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?