+
+

नेपाली समाजमा बिरालोको सौख : ३० हजारदेखि एक लाख बढी मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १३:४५

काठमाडौं । अगस्ट १ मा अभिनेत्री मनिषा कोइरालाले आफ्नो फेसबुक पेज मार्फत आफ्नो बिरालो ‘ओरियो कोइराला’ तीन रातदेखि हराइरहेको भन्दै दुःख व्यक्त गरिन् । साथै, बिरालो भेटाउनेले आफूलाई जानकारी दिन बिरालोको तस्वीरसहित फेसबुक पोस्ट गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘हाम्रो परिवारका सदस्य श्री ओरियो कोइराला तीन रातदेखि बेपत्ता छ । हामीलाई विश्वास छ कि ऊ आफ्नो साथी खोज्न गएको हुन सक्छ र छिट्टै फर्किने छ । उक्त बिरालो देख्नुहुने जो कोहीले हामीलाई खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

पछि उनले बिरालो पाइन् । खुसी हुँदै अर्को प्रतिक्रिया पनि जनाइन् । उनको यो स्टाटसले बिरालोप्रति मानिसको कतिसम्म प्रेम हुन्छ भन्ने तथ्य देखाउँछ । साथै, आफ्नो व्यक्तित्व देखाउनको लागि ठूला सेलिब्रेटीहरु समेत कति सौखिन छन् ? भन्ने कुरा देखाउँछ । मनीषा कोइराला मात्रै होइन, नेपालभित्र र बाहिरका पनि धेरै सेलिब्रिटीहरु बिरालोलाई प्रेम गर्ने स्वभावका छन् ।

सामान्यतया कुकुरपालनमा धेरैको सौख हुन्छ । यो सामान्य कुरा हो । तर बिरालोका सौखिनहरु पनि धेरै छन् भन्ने कुरा असामान्य लाग्न सक्छ । कुकुरलाई जसरी आफ्नो परिवारको सदस्य जस्तै व्यवहार गरेर पाल्ने गरिन्छ, कुकुरले पनि आफ्नो मालिकको लागि ज्यान दिन सक्छ । त्यसरी नै बिरालो पालनका पनि आफ्नो छुट्टै कारण हुन्छन् । काठमाडौंलगायत मुलुकका सहरी भेगमा बिरालो पाल्ने चलन धेरै रहेको यसका जानकार बताउँछन् ।

काठमाडौंमा पर्सियन बिरालो बेच्ने दीपेन श्रेष्ठ पछिल्लो समय पर्सियन बिरालोको बजार बढ्दो मात्रामा रहेको अनलाइनखबरलाई बताए । घरमा एक्लोपना कम गर्नदेखि डिप्रेसनबाट बच्न पनि बिरालो पाल्ने चलन बढिरहेको जानकार बताउँछन् ।

विश्वभर धेरै प्रजातिका बिरालाहरु पाइन्छन् । त्यसमा नेपालको रैथाने प्रजातिको बिरालो पनि पाइन्छ । तर यसरी सौखमा बिरालो पाल्नेहरुले भने रैथाने प्रजाति नभई विदेशी प्रजाति बढी पाल्ने गरेका छन् । अहिले विश्वमा पाइनेमध्ये धेरै प्रजातिका बिरालो लोप भइसकेका छन् । प्रायः जस्तो बिरालोहरु लोप भइसकेका छन् । अध्ययनअनुसार विश्वमा ४१ देखि ७३ प्रजातिका बिरालो छन् भन्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । यीमध्ये  इरानमा उत्पत्ति भएको पर्सियन जातको बिरालो धेरैले मन पराउने गरेको श्रेष्ठ बताउँछन् ।

पर्सियन जातको बिरालो नेपालमा पाइने सबैभन्दा महंगो बिरालो पनि हो । यो जातको बिरालो इरानको स्थानीय प्रजाति हो । यो प्रजातिको बिरालोका बच्चाहरु हेर्दै सुन्दर फूल जस्ता देखिन्छ । पर्सियन बिरालो देख्दै आकर्षक, लामो कपाल, प्रमुख गाला र ठूल्ठूला आँखा भएका हुन्छन् ।

नेपाली बजारमा पर्सियन बिरालोको मूल्य ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म पर्ने श्रेष्ठ बताउँछन् । जबकि यही बजारमा स्थानीय कुखुराको मूल्य ३ हजार ५०० देखि चार हजार रुपैयाँसम्म पर्ने गर्छ । पर्सियन र स्थानीय जातको बिरालोमा उमेर लगायतका अन्तर पाइन्छ । यो विशेषगरी काठमाडौंका धनाढ्य सौखिनहरुले पाल्ने गर्छन् । तर देखासिकी गर्ने कतिपय मध्यमवर्गीय परिवारले पनि बिरालो पाल्ने गरेको श्रेष्ठ बताउँछन् ।

यस्ता बिरालाहरु सामान्यतया १५ वर्षसम्म बाँच्ने गर्छन् । यो सामान्यतया डिप्रेसनको सिकार भएका मान्छेलाई बिरालो पाल्दा फाइदा हुने विश्वासका कारण पनि बिरालो पाल्ने चलन बढी भएको व्यवसायीहरु बताउँछन् । यसरी बिरालो पाल्दा यसलाई राम्रोसँग दैनिक कपाल कोरिदिनुपर्ने हुन्छ । साथै, यसको स्याहारसुसारमा पनि ध्यान दिन नसक्दा यसले विभिन्न समस्या निम्तिने जोखिम हुने भएकाले यसलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्ता बिरालाहरु बिरामी हुँदा काठमाडौं लगायत विभिन्न ठाउँमा रहेका भेटेरिनरीहरुमा उपचार गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?