
काठमाडौं । थुनामुक्त भएपछि र्यापर आशिष रानामगर ‘लाउरे’ले बुधबार दमकमा पहिलोपटक कन्सर्ट गरेका छन् । कन्सर्टमा उनले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिए ।
लागूऔषध प्रकरणमा प्रहरी थुनामा रहेका लाउरे अदालतको आदेशपछि फागुन १० गते धरौटीमा रिहा भएका थिए ।
‘अब जीवनलाई पहिलेभन्दा थप सक्रियताका साथ अघि बढाउँछु,’ अनलाइनखबरसँग उनले भने, ‘बाँकी रहेका कामसहित नयाँ योजनालाई अघि बढाउनेछु ।’
आफ्ना २४ वटा गीत ‘पेन्डिङ’मा रहेकाले तीमध्ये उत्कृष्ट छानेर म्युजिक भिडियो निर्माण गर्ने योजना रहेको उनले सुनाए । ‘सिर्जना र कलाका कामहरु भ्याउनेसम्मका सबै गर्नेछु,’ उनले भने, ‘अहिले कन्सर्टको लाइनअप नै छ । सिजन पनि कन्सर्टकै भएकाले म तत्काल यतै व्यस्त हुनेछु ।’
तत्काललाई र्याप गायन र म्युजिक भिडियोमा अघि बढ्ने योजना रहेको उनले सुनाए । र्याप गायनबारे प्रस्ताव गरिएको एक फिल्मको कथावस्तु मन नपरेकाले आफूले नखेल्ने निधो गरेको पनि लाउरेले जानकारी दिए ।
लाउरे टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को निर्णायक पनि हुन् । रोडिजको चौथो सिजन भर्खरै सकिएको छ । आफूहरु पाँचौं सिजनको तयारीमा जुट्ने उनले बताए ।
प्रतिक्रिया 4