
३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् ।
माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको स्थानमा सम्बन्धित पार्टीकै हुने भन्ने भएकाले महानगरमा नेपाली कांग्रेसको हुने भन्ने भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘उपमेयर माओवादीले लिने भन्ने कुरा हो ।’
शर्मा आफूहरुले मेयर छाडेर उपमेयर लिए पनि वडा भने धेरै लिने बताउँछन् । २०७४ को चुनामा माओवादीले काठमाडौं महानगरका एक वडा पनि जित्न सकेको थिएन । तर, उनी आफूहरुको अवस्था अहिले सुध्रिएको बताउँछन् ।
‘२०७४ भन्दा हाम्रो पार्टी यसपटक धेरै नै सम्हालिएर आएको अवस्था हो,’ शर्माले भने, ‘२०७४ मा हामी अन्धाधुन्द चुनावमा गएका थियौं । अहिले हामीले महाधिवेशन गरेर वडातहदेखि नै राम्रो संगठन बनाएका छौं । त्यसैले २०७४ को मात्रै नतिजा हेरेर हुँदैन भन्ने हाम्रो भनाइ छ । तालमेल सम्मानजनकरुपमा नै हुनुपर्छ ।’

२०७४ को चुनावमा काठमाडौंको मेयरमा माओवादीका उम्मेद्वारले ७ हजार ९०६ मत ल्याएका थिए । सबै वडामा गरेर वडाध्यक्षले भने १४ हजार ४५४ मत ल्याएका थिए ।
त्यस्तै माओवादी केन्द्र ललितपुर जिल्ला संयोजक शिव कट्टेल पनि आफूहरुको दाबी ललिपुर महानगरको प्रमुखमा नभएको बताउँछन् । ‘महानगरबारे केन्द्रले टुंगो लगाउँछ,’ उनले भने, ‘गठबन्धन भएको अवस्थामा कांग्रेसले ‘लिड’ गर्ने होला । कांग्रेसले मेयर लिएपछि स्वतः हामीले उपमेयर लिने कुरा भइहाल्यो ।’
अघिल्लो चुनावमा माओवादी केन्द्रले ललितपुर महानगरका ४ वडा जितेको थियो । कट्टेल अहिले आफूहरुले २० देखि २२ वडामा दावी गर्ने बताउँछन् । ‘अघिल्लो पटक महानगरमा हामीले ४ वडा वडा जितेका थियौं,’ उनले अनलाइनखबरसँग भने, ‘यसपाली एक्लै लड्दा पनि हामी त्यसलाई दोब्बर गर्छौं भन्ने हाम्रो तयारी छ । महानगरका २९ मध्ये हामी २२ वटामा दावी गर्छौं ।’
प्रतिक्रिया 4