+
+

आयातले धानेको भान्सा : भात, तरकारी र अचारसमेत विदेशी

नेपालले कृषिजन्य उत्पादनकै आयात वर्षमा एक खर्ब भन्दा बढीको गर्दै आएको छ । चामल, तरकारी, दाल, गेडागुडीजस्ता दैनिक भान्सामा चाहिने वस्तु गत साउनदेखि फागुन मशान्तसम्म ९५ अर्ब १५ करोड ७३ लाखको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ वैशाख १ गते २०:२६

१ वैशाख, काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकार आयातमा कडाइ गर्ने निष्कर्षमा पुगेको छ । तर सरकारले चालु आर्थिक वर्षमा आयात गरेको वस्तुको सूची र त्यसको मूल्य हेर्ने हो भने कृषिप्रधान देशका वासिन्दा हामीलाई गिज्याउने खालको छ ।

नेपालले गत साउनदेखि फागुन मसान्तसम्म अचार मात्र पाँच करोड ७७ लाख ६ हजार रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्यांक छ । जसमध्ये एक लाख ७५ हजार ६८४ किलो अचार किनेर भारततर्फ दुई करोड ५९ लाख ४९ हजार र ९५ हजार ४६४ किलो अचार किने चीनतर्फ दुई करोड ८८ लाख नौ हजार रुपैयाँ बाहिरिएको छ । यीबाहेक जापान, कोरिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट पनि अचार आयात भएका छन् ।

अचार त एउटा उदाहरण मात्र हो, नेपालले कृषिजन्य उत्पादनकै आयात वर्षमा एक खर्ब भन्दा बढीको गर्दै आएको छ । झण्डै ६२ प्रतिशत मानिस कृषि पेशामा आवद्ध रहेको नेपालले चामल, तरकारी, दाल, गेडागुडीजस्ता दैनिक भान्सामा चाहिने वस्तु नै अत्यधिक आयात गर्दै आएको छ ।

हरियो तरकारी र फलफूलको आयात गत वर्ष भन्दा यस वर्ष दोब्बर भएको छ । २०७७ को साउनदेखि फागुनसम्म ४२ अर्ब २ करोड ५८ लाख रुपैयाँको तरकारी र फलफूल आयात भएकामा २०७८ को यसै अवधिमा ९५ अर्ब १५ करोड ७३ लाखको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षमा नेपालमा धेरै आयात हुनेको सूचीमा कृषिजन्य वस्तु सातौं स्थानमा रहेकामा यस वर्ष चौथो स्थानमा उक्लिएको छ ।

धान-चामल

गत साउनदेखि फागुनसम्मको आठ महिनामा नेपालले ३६ अर्ब ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँको धान र चामल आयात गरेको छ ।

गत वर्षको यसै अवधिमा ३५ अर्ब १५ करोड ३४ लाख ८१ हजार रुपैयाँको धान चामल आयात भएको थियो । नेपालमा भारत, अमेरिका, भियातनाम, जापान, थाइल्याण्डबाट समेत धान चामल आयात भएको भन्सारले जनाएको छ ।

यसवर्ष नेपालमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्याङ्क छ । गत वर्ष नेपालमा ५६ लाख २१ हजार मेटि्रक टन धान उत्पादन भएको थियो । तर, यो उत्पादनले नेपाललाई नपुगेपछि विदेशबाट आयात हुँदै आएको छ ।

मकै

अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७७/०७८ को आर्थिक सर्वेक्षण अनुसार नेपालमा २९ लाख २६ हजार मेटि्रक टन मकै उत्पादन हुन्छ । नेपालमा मकैको माग र खपत कति हो भन्ने सरकारसंग यकीन तथ्यांक छैन ।

भन्सार विभागको विवरण अनुसार नेपालले मकै अर्जेन्टिना, ब्राजिल, भारत लगायतका मुलुकबाट मकै आयात गर्दै आएको छ । गत साउनदेखि फागुनसम्मको आठ महिनामा १४ अर्ब २९ करोड रुपैयाँको मकै आयात गरेको छ ।

नेपालमा चालु आर्थिक वर्षमा भारतबाट साढे १२ अर्बको मकै आयात भएको छ । भारतबाहेक अर्जेन्टिना, ब्राजिल, चीन, इन्डोनेसिया, मलेसिया, अमेरिका, दक्षिण अफि्रकाबाट पनि मकै आयात भएको छ । गत वर्षको यसै अवधिमा ११ अर्ब १२३ करोड रुपैयाँको आयात भएको थियो ।

आलु

चालु आर्थिक वर्षको आठ महिनामा नेपालले भारतबाट १४ करोड ६३ लाख किलो र बंगलादेशबाट २४ करोड ७८ लाख किलो आलु आयात गरेको छ । त्यसबाहेकका अरु देशबाट पनि नेपालमा आलु आयात हुने भन्सार विभागको तथ्यांक छ ।

गत साउनदेखि फागुनसम्म नेपालले आलु आयातका लागि ६ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपालले ६ अर्ब ५३ करोडको आलु आयात गरेको थियो ।

पहिले निर्यात गर्थ्यो  नेपाल

आर्थिक वर्ष २०६४/०६५ मा नेपालले भारत लगायतका मुलुकमा गहुँ, चामल, धान, मकै जस्ता वस्तु निर्यात गथ्र्यो । त्यस वर्ष आलु मात्रै १९ करोड १६ लाख रुपैयाँको निर्यात भएको थियो । गहुँ, जौ र जुनेलो गरी तीन अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यस्तै तीन करोड रुपैयाँको चामल र २८ लाख रुपैयाँको मकै निर्यात भएको थियो । तर डेढ दशकमै नेपाल ती वस्तुहरु अर्बौ रुपैयाँको आयात गर्नुपर्ने स्थितिमा पुगेको छ ।

आलुविज्ञ श्यामप्रसाद ढकाल नेपालमा कृषिजन्य उत्पादनको विकासमा अध्ययन नै हुन नसकेको बताउँछन् । जसका कारण किसानका लागि उत्पादनबाट लाभ मिल्नै नसकेको उनको तर्क छ ।

नेपाली आलु भारतीय उत्पादन भन्दा १० रुपैयाँ महँगो अहिले पनि रहेको उनले बताए । ‘किलोमै १० रुपैयाँ फरक परेपछि व्यापारीले त सस्तो व्यापार नै गर्ने हो’ ढकालले भने ‘सरकारले अनुदान र सहुलियत तथा ठूलो परिमाणमा उत्पादनमा पनि लगानी बढाउनु अपरिहार्य छ ।’

प्याज

गत साउनदेखि फागुनसम्ममा नेपालले ११ करोड ५६ लाख किलो प्याज आयात गरेको छ । जसका लागि मुलुकबाट ४ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ । प्याजको बिउ, सुकेको प्याजको गाना र प्याजको हरियो पातका लागि मुलुकबाट यो रकम बाहिरिएको हो ।

२०७७ साउनदेखि फागुनसम्ममा नेपालले तीन करोड ७३ लाख १० हजार ५३९ किलो प्याज किन्दा एक अर्ब ४५ करोड ३४ लाख रुपैयाँ तिरेको थियो ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रकाअनुसार उच्च हिमाली क्षेत्रबाहेकका नेपालका सबै क्षेत्रमा प्याज उत्पादन हुन्छ । मुुलुक संघीय संरचना गएपछि नेपालमा उत्पादन हुने धेरै कृषिजन्य वस्तुको एकीकृत तथ्यांक राख्न छाडिएको केन्द्रले जनाएको छ । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २ लाख ९१ हजार मेटि्रक टन प्याज उत्पादन भएको थियो ।

लसुन

नेपालले चालु आर्थिक वर्षको आठ महिनामा ७५ लाख २५ हजार २८६ किलो लसुन किन्दा ८९ करोड ३९ लाख रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० लाख ३१ हजार १३८ किलो लसुन किन्दा एक अर्ब १२ करोड ५९ लाख रुपैयाँ बाहिरिएको छ ।

गत वर्ष भन्दा बढी परिमाणमा आयात भएको भए पनि यस वर्ष लसुन आयातमा खर्च भएको रकम भने केही टेको देखिन्छ । नेपालको तराइदेखि हिमालसम्म लसुन उत्पादन गर्न सकिने भए पनि नेपालले भारत र चीनबाट ठूलो परिमाणमा यसको आयात गर्दै आएको छ ।

गोलभेँडा

चालु आर्थिक वर्षको आठ महिनामा नेपालले भारतबाट ४४ करोड २७ लाख रुपैयाँ बराबरको तीन करोड किलो गोलभेडा आयात गरेको छ । गत आवको यही अवधिमा ३२ करोड ५१ लाख २ हजार रुपैयाँ बराबरको दुई करोड ३२ लाख किलो गोलभेँडा नेपाल भित्रिएको थियो ।

गोलभेडा हरेक प्रकारका सिजनमा नेपालमा फल्ने तरकारी हो । तर भारतबाट सस्तो मूल्यमा गोलभेँडा उपलब्ध हुने भएकाले कतिपय अवस्थामा नेपाली किसानले फलाएको गोलभेँडाले मूल्य नपाउने समस्या पनि देखिने गरेको छ ।

खसी र भेडा

नेपालले चालु आवको आठ महिनामा ४३ करोड ८० लाख रुपैयाँ बराबरको खसी र भेडा आयात भएको छ । गत वर्ष यही अवधिमा नेपालले ७ करोड ५२ लाख मूल्य बराबरको आयात भएको थियो ।

माछा

नेपाल माछा उत्पादनमा आत्मनिर्भर हँदै गएको कृषि मन्त्रालयको दाबी छ । २०७७/०७८ को आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा एक लाख ३ हजार मेटि्रक टन माछा उत्पादन हुने अनुमान गरेको छ । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा ५५ लाख ५० हजार रुपैयाँको माछा आयात भएको छ । गत वर्षको यही अवधिमा ३२ लाख रुपैयाँको माछा नेपाल आयात भएको थियो ।

उत्पादन बढाउने सरकारी योजना असफल

नेपालभित्र कृषि, वनजन्य, औद्योगिक तथा घरेलु उत्पादन बढाउने भन्दै सरकारले २०७५ सालमा व्यापार घाटा न्युनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएको थियो । स्वदेशी वस्तुको उत्पादन, प्रयोग र निर्यातमा जोड दिइएको कार्ययोजना विफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि चालेका कदमहरु सफल हुन नसकेको वाणिज्य मन्त्रालयकी सहप्रवक्ता उमिला केसीले बताइन् । निर्यात बढाउन पहिचान गरेको वस्तुको उत्पादन, बजारीकरणमा नेपाल चुकेको उनको भनाइ छ ।

नेपालमा आयात हुने कृषि उपज रोक्न गरिएको प्रयास मूल्य र लगानीका हिसाबले कठिन देखिएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रकी कृषिअर्थविज्ञ अनिशा गिरी बताउँछिन् ।

आलु विकास, प्याज मिसन, मसला बाली विकास जस्ता सरकारी योजना महँगो श्रमशक्ति, सानो परिमाणमा उत्पादन जस्ता कारणले विदेशी उत्पादनसंग प्रतिस्पर्धा नै गर्न नसकेको उनको ठम्याइ छ ।

कृषि वस्तु आयात धेरै देखिनुको कारण फर्जी आयात पनि भएको उनको दावी छ । केही दिन अघि चामल भनेर आयात भएको गाडीमा चिनी रहेको भेटियो, यस्ता फर्जी आयातले आयातको परिमाण भने उच्च देखिएको छ’, गिरीले भनिन् ।

नेपाली वस्तु निर्यातमा अवरोध

नेपालको पूर्वी नाका भएर भारततफै चिया, अमि्रसो र अदुवाजस्ता कृषिवस्तु निर्यात हुने गरेको छ । तर यसमा भारतले पटक पटक अवरोध गर्दै आएको छ । गत मंसिरमा पनि चिया, अमि्रसो र अदुवा निर्यातमा भारतले अवरोध गर्‍यो । भारतीय उत्पादनको सुरक्षाका लागि भन्दै विभिन्न अवरोध सिर्जना गरेर २०७६ चैतपछि भारतले दुःख दिइरहेको व्यवसायीहरुले बताएका छन् ।

नेपालबाट निर्यात हुने वस्तुको क्वारेन्टिन जाँच, विषादी परीक्षण जस्ता कार्यहरुमा भारतले असहयोग गरेको एक व्यवसायीले बताए । ‘मेचीबाट निर्यात हुने वस्तुको विषादी र क्वारेन्टिन जाँचका लागि कलकत्ता पुग्नुपर्ने अवस्थासमेत ल्याइयो’ ती व्यवसायी भन्छन्, ‘यस्तो भएपछि कसरी नेपाली कृषि उपज निर्यात हुन सक्छ ?’

भारतबाट जतिसुकै कृषि वस्तु पनि आयात हुन सक्ने तर नेपाली कृषि उपज निर्यात हुन नसक्नुमा सरकारी लाचारी नै रहेको पूर्व कृषि सचिव हरि दाहाल बताउँछन् । भारतसंग नेपालको कृषि प्राथमिकताबारे शिर ठाडो बनाएर राजनीतिक र सरकारी तहमा कुरै हुन नसकेको उनले बताए । त्यसो त नेपालबाट कृषि वस्तुको निर्यात गर्ने भनी पहिचान भएका वस्तुको उत्पादन पनि त्यति राम्रो छैन ।

नेपाल र भारतबीच भएको १९५० सन्धि र विश्व व्यापार संगठनको नीति बमोजिम पनि नेपाल र भारत तथा अन्य मुलुकबीचको व्यापारमा सहअस्तित्व हुनुपर्ने कृषि विज्ञ दाहाल बताउँछन् ।

तर, अहिले नेपाल कृषि वस्तुको आयात थलो मात्र बनेको छ । आफ्नो उत्पादन निर्यात गर्न र अरुको वस्तु आयात रोक्न नेपालले राजीनीतिक, कानुनी र व्यवहारिक कुनै पहल नगरेको उनको भनाइ छ ।

‘अस्थिर नीति र राजनीतिका कारण प्रतिद्धता र जिम्मेवारीपन कसैमा देखिएको छैन,’ दाहाल भन्छन् ‘आयात हुन मिल्छ भने रोक्न पनि मिल्छ तर कसैले आँट गर्दैनन् ।’ १० वर्ष अघिदेखि नेपालको व्यापार घाटा बढ्दै गए पनि कुनै पनि सरकारले चासो नदेखाएको दाहाल बताउँछन् ।

अर्का कृषि विज्ञ मदन राई किसानदेखि नेतासम्म कोही पनि इमान्दार नहुँदा कृषिमा परनिर्भरता बढेको बताउँछन् । कृषिमा आत्मनिर्भरताका लागि राज्यको तल्लो निकायदेखि नै काम गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय राजनीतिको निराशा गाउँगाउँमा फैलिएको भन्दै कृषि विज्ञ राईले त्यसै कारण युवा पलायन भएकाले कृषिको अवस्था बिगि्रएको बताए ।

‘अनुदान भनेर गरिने राज्यको लगानी अभिवादन, जय नेपाल र सलाम भनेर हिडेंकालाई दिएपछि देशलाई आत्मनिर्भर कहाँबाट हुन्छ ?’ राई प्रश्न गर्छन्, ‘न त राज्य उत्पादनमा जोड दिन्छ न त आयात रोक्नमा । राज्य नै यस्तै भए पछि जनता पनि ठेक्कापट्टा र विदेश भौतारिने हो । कृषि उपज आयात भइरहने हो ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?